१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

६८ करोड बाँकी राख्दै उद्योग बन्द

रौतहट - करोडौं रुपैयाँ भुक्तानी बाँकी राख्दै उखु उद्योग बन्द भएपछि किसानमा फेरि निराश बनेका छन्। विगतका वर्षको आठ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भयो।

गत पुस महिनामा सञ्चालनमा आएको उद्योगले १३ लाख ७७ हजार एक सय चार क्विन्टल उखु क्रसिङ गरेको छ। गत वर्षको रकम निकै बाँकी रहेका बेला पनि उद्योगले अपेक्षाकृत राम्रो उखु पाएको थियो। उद्योगले उखु पाउन थालेपछि किसानको भुक्तानीमा उद्योगले चासो दिएको थिएन। समयमा भुक्तानी नदिँदा गत वर्षकै आठ करोड बाँकी रहेको छ।

उद्योगले एक लाख १३ हजार क्विन्टलभन्दा बढी चिनी उत्पादन गरेको छ। उद्योग बन्द हुनासाथ चिनीको भाउ बढ्ने सम्भावना रहेको छ। चालू क्रसिङ सिजनमा नेपालका अधिकांश चिनी उद्योगले राम्रो मुनाफा कमाउने देखिएको विश्लेषक बताउँछन्।

विगतका वर्षको आठ करोड र चालू क्रसिङ सिजनको ६० करोड रुपैयाँ भुक्तानी दिनुपर्ने रकम बाँकी राख्दै गत हप्ता गरुडास्थित श्रीराम सुगर मिल्स बन्द

उद्योगले राम्रो मुनाफा कमाउने भए पनि किसानलाई भने निकै दुख दिएको आरोप किसानहरु लगाउँछन्। ६ बिघामा लगाइएको सबै उखु बेचेर एक रुपैयाँ पनि भुक्तानी नपाउँदा दैनिक घरव्यवहार चलाउन निकै कठिन भएको गढीमाई नगरपालिकाको समनपुरका किसान कामेश्वर सहनीले बताए। उद्योगले भुक्तानी नदिँदा घरको सामान केही उधारोमा केही ब्याजमा पैसा उठाएर ल्याइरहेको उनी बताउँछन्।

गम्हरियाका उखु किसान रामदेव राउतले छोरीको बिहे नै ऋण काढेर गरेको बताए। उद्योग सञ्चालन हुँदा उद्योगले उखु किनेको ४५ दिनमा भुक्तानी दिने प्रतिबद्धता गरेकाले उखु बेचेको उनको भनाइ छ। ‘तर उद्योगले समयमा भुक्तानी नदिँदा दैनिक व्यवहार धान्न मुस्किल भएको छ,’ राउतले भने। उद्योगसित चार लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनले बताए। उद्योगले समयमा भुक्तानी नदिँदा राउतजस्ता किसानले निकै समस्या परेको उखु उत्पादक संघका अध्यक्ष अशोकप्रसाद यादवको दाबी रहेको छ।

उखुको करिब ६८ करोड बाँकी राखेकामा निरन्तरको दबाबले गत शुक्रबार दुई करोड रुपैया बैंकमा पठाएको उद्योगले जनाएको अध्यक्ष यादवको दाबी छ। उद्योगीले चिनीको मूल्य बढेपछि बिक्री गरेर दिने दाउमा रहेको आरोप अध्यक्ष यादवको छ।

उद्योगले किसानलाई तिर्नुपर्ने रकमबारे जानकारी लिन उद्योग प्रशासनमा बारम्बार सम्पर्क गर्दा पनि हुन सकेन। किसानले उद्योगलाई दिनुपर्ने उखु पु-याइसकेको र उद्योगी किसानको कुरा नसुन्ने पुरानै रोगले ग्रसित बनेको यादवको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०७६ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App