पशुपति–विकासमा दरबारको चिन्ता

बिहिबार, २६ बैशाख २०७६, १६ : ५८ नागरिक

डा. गोविन्द टण्डन
संस्कृतिविद्  

पशुपतिनाथको उद्भवको सम्बन्धमा विभिन्न पुराण तथा वंशावलीहरुमा उल्लेख पाइन्छ।

शिवदेव द्वितीयको पशुपति प्राङ्गणमा रहेको वि.सं.७९० को शिलालेखअनुसार आफ्नो पूर्वजबारे उल्लेख गर्दै जाँदा पाँचाैँ शताब्दिका मानदेव प्रथम भन्दा ३९ पुस्ता अगाडि सुपुष्पदेवको उल्लेख गरिएको छ। यसरी हेर्दा इ.पू. पाँचौँ शताब्दिमा पशुपतिनाथको मूल मन्दिर बनेको देखिन्छ। कुनै निश्चित अभिलेख फेला नपरेको अवस्थामा एक राजाको समयावधि २५ वर्ष मानिने भएकाले ईशापूर्व पाँचौँ शताब्दीमा पशुपतिनाथको मूल मन्दिर बनेको देखिन्छ। र, यसलाई सुपुष्पदेवले बनाएको मानिन्छ।

शिलालेख हेर्दा लिच्छविकालदेखि नै पशुपतिलाई राष्ट्रिय महत्त्वकोे रुपमा हेरेको देखिन्छ। अहिले मात्रै हैन, राणाकालमा पनि पशुपतिलाई विशेष महत्त्व दिइएको थियो।

पशुपति क्षेत्र विकास कोषको स्थापना हुनुभन्दा अगाडि पशुपतिको मन्दिर रेखदेखको चासो सिधै दरबारसँग जोडिन्थ्यो। नीतिगत निर्णय गर्नु प-यो भने दरबारलाई जानकारी गराउनु पथ्र्यो, सोध्नु पथ्र्यो। वि.सं. २००७ सालअघि श्री ३ महाराज नै पशुपति क्षेत्रको प्रमुख भएर काम गर्ने गर्थे। २००७ सालपछि भने पशुपति क्षेत्रको प्रमुख राजा हुने प्रावधान रह्यो। मन्दिरमा कुनै काम गर्नुप-यो भने राजालाई जानकारी गराइन्थ्यो। राजालाई जानकारी गराएपछि अञ्चलाधीश कार्यालयमार्फत् वा दरबारका प्रमुख सचिवमार्फत् आदेश हुन्थ्यो। दरबारको निर्णयअनुसार पशुपतिको विभिन्न काम गरिन्थ्यो।

२०४३ सालसम्म राजाको निर्देशन बमोजिम काम गरिन्थ्यो। वि.सं. २०४३ सालपछि पशुपति क्षेत्र विकास कोषको जन्म भयो।

तिरुपतिबाट राजा प्रभावित
पशुपति क्षेत्र विकास कोषको जन्म हुनुमा पनि राजा वीरेन्द्रको ठूलो हात छ। राजा वीरेन्द्र भारतका विभिन्न मठ मन्दिरको भ्रमण गरेर फर्किए। तीर्थयात्राको क्रममा त्यहाँका मठ मन्दिरबाट राजा प्रभावित भएछन्। विशेषगरी तिरुपति बालाजीको मन्दिरबाट प्रभावित भएछन्। त्यहाँको व्यवस्थापन राम्रो लागेछ। तीर्थयात्राबाट फर्किएपछि राजाले नेपालमा पनि केही गर्ने सोच बताएछन्। राजाको ध्यान पशुपतिमा गएछ। तत्कालीन जाँचबुझ समितिमार्फत् पशुपति क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने जाँच केन्द्रमार्फत् आवश्यश्यक ऐनको मस्यौदा तयारीका लागि एक समिति बन्यो। त्यसपछि अध्यादेशमार्फत् पशुपति क्षेत्र विकास कोषको जन्म भयो। कोषको स्थापना भएपछि पशुपति क्षेत्र विकास कोष ऐन २०४४ आयो। यो कोषको स्थापना र ऐनका लागि राजाले सक्रिय भूमिका खेलेका थिए। २०५० सालमा केही संशोधन भयो। अहिले सोही ऐन लागू छ।

सोमबार दरबारमा भेट
२०४३ सालमा तत्कालीन राजा वीरेन्द्र पशुपति क्षेत्र विकास कोषको प्रमुख संरक्षक र रानी ऐश्वर्य अध्यक्ष थिए। सो समयमा कोषका पदाधिकारीलाई करिब एक महिनाको अन्तरालमा भेटेर पशुपतिको गतिविधि बारेमा छलफल हुन्थ्यो।
२०५० सालसम्म पशुपति क्षेत्र विकास कोषमा सञ्चालक परिषद् र कार्यकारिणी समिति गरी दुई तह थिए । तत्कालीन समयमा (०४४–०४९) म कार्यकारिणी समितिको कोषाध्यक्ष थिएँ। प्रत्येक सोमबार दरबारमा पशुपतिका दुवै तहका पदाधिकारी सदस्य सचिव र कोषाध्यक्षको सहभागितामा बैठक बस्थ्यो। बैठकमा रानीको अध्यक्षता र रानीको स्वकीय सचिवको सहभागिता हुन्थ्यो। एक हप्ताभरि भएका प्रगति विवरणको छलफल हुन्थ्यो। बैठकमा एक हप्ताभरि भएका कामको प्रगति बारेमा छलफल हुन्थ्यो त्यसपछि भावि योजना तथा कामको बारेमा छलफल हुन्थ्यो। बैठकमा पशुपतिमा के काम ग-यो भने राम्रो हुन्छ भन्ने चिन्तन हुन्थ्यो। परिवेश र वातावरणबारे विश्लेषण हुन्थ्यो।

पशुपति क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल हुन्थ्यो। राजा–रानी काठमाडौँबाहिर गएको समयबाहेक प्रत्येक सोमबार दरबारमा पशुपति मन्दिरका बारेमा छलफल हुन्थ्यो।

राजासँग गुरुयोजनाको तयारीका विषयमा छलफल हुँदा जनतालाई दुःख नहुने किसिमले पशुपतिको विकास गर्नु पर्छ भन्ने धारणा थियो। पशुपति क्षेत्र विकास कोषको जन्म भएदेखि नै पशुपति क्षेत्रको गुरु योजना बन्दै गयो। म पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको सदस्य सचिव (०४९–०५०)हुँदा पनि गुरुयोजनाका धेरै काम भए। आज पशुपति क्षेत्रको जग्गा खाली गर्ने लगायतका तेस्रो चरणसम्मका गुरुयोजना पूरा भइसकेका छन्। जुन काम पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको सदस्य–सचिव (वि.सं. २०७०–०७४) हुँदा गुरु योजनाका प्रारम्भिक कार्यहरु अगाडि बढाइएको थियो। एक किसिमले भन्ने हो भने पशुपति क्षेत्र विकास कोष जन्मँदा अध्यादेश त आयो साथै केही समयपछि ऐन पनि आयो। तैपनि कसरी अगाडि बढ्ने भन्ने विषय साँच्चै भन्ने हो भने अस्पष्ट थियो। त्यसलाई प्रस्ट पार्दै अगाडि बढ्ने कार्य कम कठिन र चुनौतीपूर्ण थिए। तेस्रो चरणसम्मको गुरु योजना सम्पन्न भएर आउँदा दिनमा चौथो चरण अर्थात् भूउपयोग सहितको संरचनागत गुरु योजना अबको आवश्यकता थियो। त्यसलाई अगाडि बढाउन तेस्रो पटकको मेरो सदस्य सचिवत्वको कार्यकाल केही न केही रुपले सहयोगी भएको म सम्झन्छु। खाली भएको जग्गामा कस्तो संरचना बनाउने लगायतका कुरा बाँकी छन्। विशेषगरी वि.सं. २०४४ सालमा पशुपति क्षेत्र विकास कोषको स्थापना भएपछि त्यही समयबाट बागमतीको प्रदूषणका बारेमा सोच्न थालियो। ढल व्यवस्थापनको बारेमा पनि बहस हुन थाले। बल्ल अहिले बागमती सभ्यता हो भन्ने पहिचान भएको छ। त्यतिखेर बागमतीलाई सभ्यताको रुपमा हेर्ने जमात अत्यन्तै कम थियो। बागमतीलाई नदीको रुपमा मात्रै हेरिन्थ्यो। अहिले विभिन्न योजना छ। बगमतीको पानी शुद्ध देख्न पाइन्छ कि भन्ने आशा पलाएको छ। बागमतीको आजको पानीलाई हेरेर नेपालका अन्य क्षेत्रका नदीनाला प्रदूषित हुनबाट कसरी रोक्न सकिन्छ भन्ने बेलैमा सचेत हुन आवश्यक छ।

रानीले तीन लाख लिएको आरोप
पछिल्लो समयमा भने पशुपतिमा राजा–रानीको चासोको विषयलाई लिएर त्यतिखेरका पत्रपत्रिकाले नकारात्मक टिप्णी समेत गरेको पाइयो। तत्कालीन केही ट्याब्लोइड पत्रपत्रिकाले त राजा–रानीले पशुपति क्षेत्रबाट आफ्नो स्वार्थसिद्ध गर्न तथा आर्थिक चलखेलका लागि पशुपति क्षेत्र विकास कोषमा हालिमुहाली गरेका छन् भन्ने जस्ता टिप्पणीसमेत आउने गरेको सम्झन्छु तर मैले देख्दा पशुपतिबाट राजा–रानीले फाइदा लिने कुनै लालसा भएको देखिनँ।

कतिपय मिडियाले त रानीले पशुपतिबाट मिटिङ भत्ताबापत तीन लाख लिने गरेकोसमेत टिप्पणी गरे। जबकि पशुपति क्षेत्रमा मिटिङ भत्ता दिने चलनै थिएन। लिएको हैन भन्दा पनि सुन्ने व्यक्तिको कमी थियो। यथार्थ अर्कै थियो। काम गर्ने व्यक्ति हामी नै थियौँ। पशुपतिमा न त मिटिङ भत्ता दिने पैसा थियो न त भत्ता दिने चलन नै थियो। तत्कालीन ट्याब्लोइड पत्रिकाले यस्ता विषयमा सनसनीपूर्ण समाचार प्रकाशित गर्थे। २०४७ सालको सालको राजनीतिक परिवर्तनताका यस्ता विषयलाई समाचारमा मसला बनाइयो। त्यो समयमा म कोषाध्यक्ष थिएँ। रानीलाई पैसा दिएको भए मलाई थाहा हुनु पर्ने हो। मैले चेक काट्नु पथ्र्यो।

बदमासी गरे फन्दामा
पशुपतिको विकास गरेर कसरी सुन्दर बनाउन सकिन्छ भन्ने राजा–रानीको चासो थियो। पशुपति क्षेत्रमा कसरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ भन्ने विषयमा राजा–रानीले चिन्तन गर्थे। पशुपति क्षेत्रप्रति राजा–रानीको असाध्यै श्रद्धा भक्ति थियो। पशुपतिलाई धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा विश्वमा चिनाउन सकियोस् भन्ने धारणा थियो।

तत्कालीन रानी ऐश्वर्यले भनेको म अहिले पनि सम्झन्छु, ‘तपाईंहरुले राजा–रानी प्रमुख संरक्षक भएको हुनाले हामीले जे गरे पनि हुन्छ भन्ने नसम्झनुहोस्। सत्य, निष्ठावान भएर काम गर्नुहोस्।’ रानीले कुनै बखत नचाहिने काम गरेर फन्दामा पर्नु भयो भने छुटाउन हामी जाँदैनौँ भनेको सम्झिन्छु म। रानीले इमान्दारीसाथ काम गर्न अनुरोध गर्थिन्।

सुरुमा बजेट अभाव
सुरुमा कोष खडा हुँदा बजेटको अभाव थियो। सोचेअनुरुप विकास गर्न सक्ने अवस्था थिएन। कोष जन्मेको पहिलो वर्ष दश लाखको बजेट थियो। दोस्रो वर्ष ८० लाख भएको थियो। यसरी बजेट बढ्दै गयो। अहिलेको जस्तो करोडौँको बजेट थिएन। ऐन बनेको १७ वर्ष पछि भट्ट–भण्डारीलाई पनि कोषअन्तर्गत नै ल्याइयो। २०६८ सालबाट भट्ट– भण्डारीलाई तलब दिने व्यवस्था गरियो। त्यसपछि पशुपतिमा चढाइएको भेटी कोष मातहत आयो र भट्ट–भण्डारीलाई तलब सुविधा दिएर बचेको पैसा कोषको अलग्गै खातामा राखिन्छ। मैले नै सदस्य सचिवको हैसियतमा भट्ट–भण्डारीलाई कोष मातहतमा ल्याएर तलब दिनुपर्छ भन्ने निर्णय गरेको थिएँ। २०५० मा ऐन संशोधन भएर आयो। यस्तो हुँदा भट्ट–भण्डारीले पहिलेझैँ भेटी आपसमा बाँडेर लिने कायम हुनुपर्छ भन्दै विभिन्न किसिमका आन्दोलन गर्नुका साथै सर्वोच्च अदालतमा समेत फिराद दिन गए। २०६८ सालअघि पशुपति क्षेत्रको विकास गर्न विभिन्न बाधा व्यवधान थिए। २०५० सालसम्म पशुपतिको विकास गर्नका लागि विभिन्न सरकारी निकायलाई गुहार्नु पर्ने अवस्था थियो। आज अधिकांश विकास निर्माणका काम कोषले आफैँ गरेको छ। सरकारले पनि कोषको विकासका लागि केही बजेट छुट्याएको छ। कोष आफैँले पनि विभिन्न पार्किङ, भाडा जस्तो आम्दानीमार्फत् कर्मचारीलाई तलबभत्ता खुवाइरहेको छ। अहिले पशुपति क्षेत्र विकास कोष करिब आत्मनिर्भरजस्तै छ।

चासो उत्तिकै
वर्तमान अवस्थामा पनि नेताले पशुपतिलाई चासो दिएको देखिन्छ, सुनिन्छ। जतिसुकै धर्म निरपेक्ष भने पनि धर्म संस्कृतिलाई छोड्ने कुरै हुँदैन। विश्वले धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई हेर्छ। नेपालमा भित्रिने वाह्य पर्यटक यहाँको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्व अवलोकन गर्न आउँछन्। ठूला घर हेर्न आउँदैनन्।

आस्था, आध्यात्म, सद्भाव तथा समभावबाट नेपालीको ओठमा मुस्कान हुन्छ। अनुहार हँसिलो हुन्छ। त्यसैले पनि पशुपतिजस्तो पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्छ।

हिजो राजारानीको पालामा चिन्तन भए पनि पशुपतिको विकास गर्ने पैसा थिएन तर आज पशुपतिको विकास गर्नका लागि बजेटको अभाव देखिँदैन। अहिले पशुपति क्षेत्रमा गर्नु पर्ने काम धेरै छन्। पहिले धर्मले पनि पर्यटक आउँछन् र! भन्ने जमाना थियो तर अहिले धार्मिक मठमन्दिरमा पर्यटक आउने संख्या बढिरहेकै छ। भारतमै पनि धार्मिक मठमन्दिरमै बढी पर्यटक पुगेको देखिन्छ। त्यसैले सबैले पशुपतिको विकासमा ध्यान दिन जरुरी छ। नेपालमा आज पनि नेताहरुले पशुपतिको विकासमा चासोे दिएकै देखिन्छ। मेरो कार्यकालमा पनि नेताहरुबाट पशुपतिको विकासका लागि राम्रो सद्भाव रहेको देखेँ।

सम्पदा बनाउने सीपको आवश्यक
सधैँ काठले मात्रै मठ मन्दिर बनाउन सम्भव नहोला। रुख काटिरहँदा जंगल मासिन्छ। काठको अभाव हुन्छ। समयानुकूल मन्दिर लगायतका सम्पदा बनाउँदा बहिरबाट हेर्दा नदेखिने गरी प्रविधि प्रयोग गर्न सकिन्छ। हिजोको जस्तो बज्र अहिले पाइँदैन। अहिले संरचना बनाउँदा बज्रका रुपमा चुना र इँटाको धुलो प्रयोग गर्न थालिएको छ। त्यसैले कसरी र के प्रयोग गरेर सम्पदा बनाउँदा हाम्रा सम्पदा बलिया हुन्छन् भन्ने कुरामा पनि पुरातत्वविद् तथा इन्जिनियर लगायतले अध्ययन गर्न जरुरी छ। नेपाल भूकम्पीय जोखिममा भएको देश हो।

पशुपति लगायतका मठ–मन्दिर र समग्र नेपालका सम्पदाको संरक्षण, संवद्र्धन तथा प्रवर्धन जरुरी छ भन्ने नीति बन्नु पर्छ। हाम्रो सम्पदा जोगाउनु पर्छ। सम्पदा जोगाउने किसिमका पठन–पाठन हुन आवश्यक छ। पठन–पाठन नगर्ने तर सम्पदा जोगाउने कुरा मात्रै गर्दा सम्पदा जोगाउन मुस्किल पर्छ। त्यसैले सरकारले नै नेपालका सम्पदा जोगाउनका लागि इन्जिनियर, आर्किटेक्ट, डकर्मी लगायतका प्राविधिक विषयमा पठन–पाठन गराउने व्यवस्था मिलाउनु पर्छ। अध्ययनका लागि तालिम केन्द्र खोल्नु पर्छ। सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ। नत्र नेपालका सम्पदा बनाउने प्राविधिकको अभाव हुँदै जान्छ। आज पनि अभाव छ। एक पुस्ताको ज्ञान हस्तान्तरण गर्ने अर्को पुस्ता उत्पादन गर्नुपर्छ। नयाँ जनशक्ति उत्पादन नहुने हो भने एक पुस्ताको मृत्यु भएपश्चात् त्यो ज्ञान पनि सकिन्छ। इन्जिनियरिङ लगायतका सरकारी क्याम्पसले नेपालका परम्परागत ज्ञान तथा सीपको हस्तान्तरण हुने किसिमका अध्ययन अध्यापन गर्न आवश्यक छ। पशुपति क्षेत्र धार्मिक पर्यटकीय महŒवको क्षेत्रको साथै विश्वका सम्पूर्ण हिन्दूका लागि परम्पावन तीर्थस्थल पनि हो। त्यसैले यहाँ पुरानो सम्पदाको संरक्षण, सम्बद्धन एवं प्रवद्धन् एकातिर गर्नु जरुरी छ भने आएका तीर्थयात्री एवं पर्यटकका लागि सरसुविधाको विकास पनि त्यत्तिकै जरुरी छ।
(डा. टण्डनले उपेन्द्र खड्कासँग गरेको कुराकानिमा आधारित)








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad