कथा

कन्चटमा चक्कु

बिहिबार, २६ बैशाख २०७६, १५ : २१ अभय श्रेष्ठ


‘आन्दोलनकारी स्वयंले यसको कन्चटमा चक्कु घोपे’, इन्सपेक्टर सुजन सिलवालले चिया सुरुप्प पार्दै भन्यो, ‘यसकारण यसको होस ठेगानमा छैन।’

‘हैन, कन्चटमा चक्कु घोपिँदा पनि कोही बाँच्छ र भन्याँ?’

‘बाँच्यो र त यसको दिमाग सड्कियो’, प्रश्न उठाउनेतिर आँखा तर्दै इन्सपेक्टरले भन्यो।

उसको टाउकोमा बाक्लो ब्यान्डेज बाँधिएको थियो। आँखा तलको भाग नीलो भएर डम्म सुन्निएका थिए। दारी झुस्स हल्किरहेको थियो। तर, उसका आँखा अझै सफा र कञ्चन थिए। सिकारी कुकुरझैँ तिनले अहिल्यै अपराधी समात्लान् झैँ लाग्थ्यो।

‘तपाईं यसलाई चिन्नुहुन्छ ?’ इन्सपेक्टरले साहुनीलाई सोध्यो।
‘हजुर, किन नचिन्नु ? असल मान्छे हुनुुहुन्थ्यो। ककसलाई भनेर टोलका गरिब बच्चाहरूलाई निःशुल्क पढ्ने व्यवस्था गर्दिनुहुन्थ्यो। अहिले यस्तो हुनुभो’, साहुनीले भनी।

‘तिमी उहाँलाई चिन्छौ?’ साहुनीलाई देखाएर इन्सपेक्टरले उसलाई सोध्यो।
‘चिन्छु।’
‘को हो त?’
‘गङ्गा।’
‘को गङ्गा?’
‘गङ्गा। मेरी बुढी गङ्गा।’
‘मैले उहाँको कुरा गरेको। साहुनी, तपाईंको नाम गङ्गा हो?’
‘होइन, उहाँको मिसेजको नाम हो।’
‘तपाईंको नाम के हो?’
‘सपना।’
‘सपना के?’
‘श्रेष्ठ।’

चिया खाइसकेपछि अघिपछिजस्तै सामान्य स्वरमा उसले भन्यो, ‘मिठो छ।’
‘स्वर त कति प्रस्ट छ! के भो दाइ, मलाई चिन्नुभएन?’
‘चिनेँ।’
‘को त भन्नुस्?’
‘गङ्गा।’
‘म गङ्गा होइन, सपना हो, सपना। चिन्नु भएन?’
‘चिनेँ। गङ्गा होइन?’

चियाको पैसा उसकी श्रीमतीले तिरी। तीनै जना उठे। उसले सपनाको हात समाएर तान्यो। भाइले जबर्जस्ती छुटायो।
भाइलाई थाहा थियो, उसको दाजु एउटी केटीसँग नजिकिएको थियो। भाइले त्यसको कोठामा पु-यायो।

‘दाइ, उहाँलाई चिन्नुभो?’
‘चिनेँ।’
‘को भन्नुस् त?’
‘गङ्गा।’
‘को गङ्गा?’
‘गङ्गा। भाउजू नि!’
‘गङ्गा होइन, सीता हो क्या सीता।’
‘गङ्गालाई तिमी सम्झन्छौ? मतलब चिन्छौ?’ इन्सपेक्टरले सोध्यो।
‘अँ।’
‘तिम्लाई अस्पतालमा कुर्ने को हो भन त!’
‘सीता।’
‘सीता तिम्रो को हो?’
‘को हो? को हो! श्रीमती हो?’
‘तिम्री श्रीमती गङ्गा पो त। गङ्गा कस्ती थिइन्, सम्झन्छौ?’
‘सम्झन्छु।’

‘कस्ती थिइन् त?’
‘पेट बोकेकी ठिइन्। भुँडी यत्रो थियो।’
‘अनि उहाँ को हो त?’
‘सीता।’
‘सीता होइन, उहाँ नै गङ्गा हो।’
‘गङ्गा हो? त्यसो भए यो भुँडी कसको हो?’
सबै जनाले गङ्गा र उसलाई एकान्तमा छाडिदिए। उसले गङ्गाको हात समायो। माथि उठाउन लगायो।
‘तिम्रो अर्को हात खोइ?’

‘यहीँ छ त !’ गङ्गाले अर्को हात दिई। उसले गङ्गाको साडीको सप्को पन्छायो। गंगाले लाज मानी। सप्कोले छाती छोपी। उसले फेरि हटायो। वक्षतिर औँला तेस्याउँदै सोध्यो, ‘यो के हो?’
गङ्गा अकमक्क परी। शरमले निली भई।
‘यो के हो?’ उसले कडा स्वरमा सोध्यो।
‘छाती हो।’

‘त्यहाँ अर्को पनि थियो त!’
गङ्गा फेरि बोल्न सकिन। गङ्गाको पुटुक्क उठेको पेट देखाउँदै सोध्यो, ‘यो के हो?’
गर्भवती गङ्गा फेरि बोल्न सकिन। आँसु खसाल्न थाली।
‘किन यति ठूलो?’
गङ्गा फेरि मौन। परिस्थिति समाल्दै इन्सपेक्टरले सोध्यो, ‘तिम्री गङ्गा गर्भवती थिइन्, हो कि होइन भन त!’
‘अँ।’
‘हो, त्यो तिम्रै बच्चा गङ्गाको पेटमा हुर्किरहेको छ।’
‘यो गङ्गा होइन, सीता हो।’
‘सम्झ त, गङ्गा नै हो।’
‘त्यसो भए यल्ले कसको भुँडी बोकेकी?’
गङ्गा मुख छोपेर रुन थाली।


इन्सपेक्टरले फेरि उसलाई सीतासँग एकान्तमा छाडिदियो।
‘हजुरले साँच्चीकै मलाई नचिन्नु भा’ हो? म सीता हो। गङ्गा होइन।’
‘गङ्गा होइन? तिमी गङ्गा होइन?’
‘होइन नि ! हजुरलाई के भा’को?’
‘तिम्रो पेट खोइ त?’
‘यहीँ छ त।’

‘त्यस्तो होइन। भुक्क उठेको पेट।’
‘बिहे नभकी केटीको पेट त्यस्तो हुन्छ? नचाहिँदो कुरा। त्यो त गङ्गा भाउजूको पो त!’
‘गङ्गाको? तिमी गङ्गा होइन?’
‘होइन बाबा, होइन।’
‘तिम्रो छाती देखाऊ त!’
‘के भन्नुभको? लाज हुन्न, मान्छेको अगाडि?’
‘तिम्रो छाती किन यति गोलोे?’
‘छिःछिः, गोलै त हुन्छ नि बिहे नभकी केटीको।’
‘बिहे नभकी? हाम्रो बिहे भ’को होइन?’
‘होइन। तपाईंको बिहे गङ्गा भाउजूसित भएको।’
‘अनि तिम्रो छाती किन यति सानो त?’
‘बिहे नभ’की केटीको यस्तै हुन्छ क्या!’
‘तिम्रो छाती किन एउटै मात्र? पहिला त दुईटा थियो।’
‘होइन। दुईटै छ।’
‘खोइ कहाँ छ?’
‘यहीँ छ त!’
‘नचाहिँदो कुरा! देखाउन सक्छ्यौ?’

३.
इन्सपेक्टरले हस्तक्षेप गरेर उसलाई अर्कातिर लग्यो।
‘गङ्गाजी, तपाईंसँग केही बुझ्नु छ। तपाईंको श्रीमान्को नाम के हो?’
‘गङ्गाराम।’
‘गङ्गाराम कि सतिश? यस्तो मान्छेको नाम धेरै हुन्छ।’
‘घरमा र टोलछिमेकमा उहाँलाई सतिश भन्छन्। नागरिकताको नाम चाहिँ गङ्गाराम नै हो।’
‘तपाईंको इन्टरकास्ट म्यारिज हो?’
‘हो, म रानामगर हुँ। उहाँ नेवार।’

‘हुम्...कुन पार्टीमा थियोे, तपाईंको बुढा?’
‘पहिला कांग्रेसलाई भोट दिनुभएको थ्यो। पछि माओवादीलाई दिनुभो।’
‘अहिले के वादी हो? राज्यविरुद्ध विप्लव गर्ने विखण्डनवादीलाई म त्यसै काँ छाड्छु!’
‘खोइ, म सरको कुरै बुझ्दिनँ। कुन चाहिँ हो! पहिले त्यो लडाइँ गर्ने पाटीमै हुनुहुन्थ्यो।’
‘अहिले कुन पार्टीको सदस्य छ, था’ छ?’
‘खोइ, लेबी त त्यही पहिले लडाइँ गरेको पाटीलाई तिर्नुहुन्थ्यो।’
‘कुन पार्टी?’
‘उही लडाइँ गरेको पाटी।’

‘होइन, हाम्रो अनुसन्धानले त अर्कै भन्छ। पहिले ऊ माओवादी थियो। पछि अर्कै भयो।’
‘था’ छैन। यो कुन अर्को पार्टी हो?’
‘त्यो तपैँकै बुढालाई सोध्नुस्।’
‘ए होइन, अस्ति मात्र पहिलेको लडाइँ गर्ने पार्टीलाई यस वर्षको लेबी तिर्नुभएको थ्यो।’
‘हाम्रो अनुसन्धानले त अर्कै भन्छ। ऊ अहिले त्यै पहिले लडाइँ गर्ने पार्टीका नेतालाई दागा धरिरहेको थियो। दलित, महिला, पिछडिएका समुदायको अधिकारको नाममा अनेक कृत्य गथ्र्यो। नेवा, ताम्सालिङ, थारू के–के जातिको राज्य चाहिन्छ भन्थ्यो, होइन?’
‘उनीहरूलाई अधिकार दिनुपर्छ भन्नुहुन्थ्यो। महिला, दलित र जनजातिको पक्षमा कान्तिपुरमा उहाँको पाठकपत्र छापिइरहन्थ्यो!’

‘तपाईंको नाम? तपाईं, तपाईं दारी पाल्ने मान्छे!’
‘घनश्याम।’
‘पेसा?’
‘खेती किसानी गर्छु हजुर!’
‘तपाईं घाइतेको साख्खे दाजु हो?’
‘हो हजुर!’
‘तपाईंको भाइ कुन पार्टीमा थियो?’
‘पहिला साथीभाइको सङ्गतमा कांग्रेसलाई भोट हाल्थ्यो। पछि एउटा कार्यक्रममा टीका लगाएर माओवादी भयो।’
‘त्यसपछि ऊ कुन पार्टीमा लाग्यो, थाहा छ?’
‘छैन हजुर। ऊ पहिलेको माओवादीमै थियो।’
‘तर, हाम्रो अनुसन्धानले भन्छ, ऊ राज्यविरुद्ध विप्लव गर्ने अर्कै पार्टीमा गइसकेको थियो, राइट?’
‘खोइ, था’ छैन हजुर।’

‘ऊ कुन विखण्डनवादी पार्टीमा गएको हो, थाहा छ?’
‘होइन हजुर, ऊ अहिलेसम्म पहिले लडाइँ गरेको, के रे त्यै पर्चन्न र बाउरामेको पार्टीकै गाउँ समिति अध्यक्ष छ’, घोप्टे जुँगावाल अद्भैँसेले भन्यो।
‘तपाईं को हो? बीचमा किन प्वाक्क बोल्नुप-या?’
‘म ......।’

‘तपाईं कसरी ग्यारेन्टीका साथ भन्न सक्नुहुन्छ?’
‘म त्यही समितिको सदस्य हुँ हजुर।’
‘सुन्नुस्, यो मान्छे छुपेरुस्तम थियो। पछि यसकै साथीले कुन शङ्का लागेर हो, यसको कन्चटमा चक्कु प्रहार गरे।’
‘हजुर, ऊ त्यस्तो मान्छे कहिल्यै थिएन।’
‘सुन्नुस्, यो मान्छे हाम्रो कार्यालयमा आक्रमण गर्नेवाला थियो जुन दिन यसमाथि हमला भयो। लाठी, भाला, बन्चरो र कटुवा बन्दुक बोकेर आउने समूहको भूमिगत नेता पनि यही थियो। पछि के शङ्का लागेर हो, यसकै साथीले यसको कन्चटमा ताकेर चक्कु घोपिदिए। र, त्यो चक्कु उसको दायाँ आँखामा हान्न खोजिएको थियो, संयोगले कन्चटमा लाग्यो।’

‘होइन हजुर, साराले देखेका छन्, दङ्गामा ऊ एउटा स्कुले बच्चोलाई बचाउन गएको थियो। घानमा प-यो । प्रहरी भन्छ, आन्दोलनकारीले हाने, आन्दोलनकारी भन्छन् गुण्डाले हाने। कसले हान्यो, उसैलाई बाहेक कसैलाई था’ छैन। आखिर त्यो बालक पनि मारियो। मेरो भाइको पनि यो हालत भो।’

‘मेरो विचारमा घाइते नर्मल नै छ। बाबु, भन त तिम्रो कन्चटमा कसले चक्कु हानेको हो?’
‘इन्सपेक्टर साप, तपाईँ कृपया यस्तो प्रश्न अहिलेलाई सोध्न सक्नुहुन्न। पेसेन्टको दिमागमा गहिरो असर परेको छ’, डाक्टरले भन्यो।
‘सरी डाक्टरसाप, बट हि इज अन्डर अरेस्ट। प्लीज डोन्ट डिस्टर्ब मी। भन त बाबु, कसले  हानेको? म त्यसलाई सजाय दिलाउँछु।’
‘कसले? कसले, कसले!’
‘त्यही त भन्दैछु। सम्झेर भन त कसरी लाग्यो?’ इन्सपेक्टरले कन्चटमा छुरी लागेको अभिनय गर्दै सोध्यो, ‘कसरी लाग्यो?’

‘बाबु, तिम्रो कन्चटमा कसले छुरी घोपेको थियो, सम्झेर भन त!’ घनश्यामले भन्यो।
‘तपाईं उता जानुस्!’ इन्सपेक्टरले घनश्यामलाई हका-यो। घनश्याम मान्छेको भीडमा उभिएर भाइलाई टुलुटुलु हेर्न थाल्यो।
उसले टाउको समायो। थुचुक्क बस्यो। आँखा फुनुक्क घुमायो। केही सम्झेजस्तोे र केही पनि सम्झन नसकेजस्तो जनाउ दियो।
डाक्टरले सोधपुछ गर्न इन्सपेक्टरलाई फेरि मनाही ग-यो।
‘सरी डाक्टरसाप’, इन्सपेक्टरले भन्यो।

.
दिउँसो १२ बजेतिर इन्सपेक्टरसँगै सिभिल ड्रेसमा आएको एउटा हट्टाकट्टा प्रहरी युवक उसका तीखा आँखा देखेर हच्कियो। युवकलाई देखेर ऊभित्र अपूर्व रोस र जोश उम्लियो। जुरुक्क उठेर त्यसको कठालो समाउन पुग्यो। त्यसपछि खल्तीबाट चक्कु झिकेर उसले त्यसको कन्चटमा तेस्र्यायो। त्यस्तो गठिलो शरीरको युवक निर्बल रोगीझैं निलाम्मे भएर थुरथुर काम्न थाल्यो। हतपत इन्सपेक्टरले उसको चक्कु खोस्यो। युवक फुत्त शौचालय छि-यो । त्यतैबाट तल ओल्र्यो।

ऊ इन्सपेक्टरलाई केही भन्न खोजिरहेको थियो। तर, शब्द निस्किरहेको थिएन। इन्सपेक्टरले उसलाई अनौठो आँखाले हे-यो। प्रेसर जाँच्न आएकी नर्सको हातबाट कलम र नोटकपी लिएर उसले केही लेख्न खोज्यो। लेख्न खोज्दा नोटकापीमा जथाभावी कोरियो। उसले बुझिने गरी कुनै शब्द लेख्न सकेन। शब्द ननिस्केको पीडामा ऊ टाउको समाएर बेस्सरी चिच्यायो।
चिच्याउँदा चिच्याउँदै बेहोस भएर ढल्यो।

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...