१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

४ लेन सडकको काम सुचारु

महिना दिनपछि काम सुचारु भएको गाईघाटस्थित ४ लेन सडक ग्राभेल गरिँदै । तस्बिरः महेश्वर/नागरिक

उदयपुर– महिना दिनअघि काम रोकिएको उदयपुर सदरमुकाम गाईघाटस्थित ४ लेन सडकको निर्माण कार्य सुचारु भएको छ। निर्धारित समयभित्र काम नसकेपछि थपिएको ६ महिनाको भ्याद गुज्रिसक्दासम्म ६० प्रतिशत हाराहारीमै रोकिएको काम स्थानीयको दबाब, प्रशासन तथा सडक कार्यालयको ताकेतापछि साता दिनयता सुचारु भएको हो।

गाईघाट बजारको मुख्य चोकदेखि नगरपालिकाकै त्रियुगा बस पार्कसम्मको ९ सय ४० मिटर लामो दोहोरो लेनको सडकको काम दुईतर्फी नाला बनाई नसक्दै काम छाडेर हिँडेको निर्माण कम्पनीलाई जिल्ला प्रशासन र गाईघाट–दिक्तेल सडक योजना कार्यालयले बोलाएर सुचारु गर्न निर्देशन दिएका थिए। काम ढिलो तथा धूलो र नालाको खाल्डोले बालबालिका लड्ने तथा सवारी दुर्घटना बढेको भन्दै स्थानीयले डेढ महिनाअघि एक दिन यातायात आवागमन अवरुद्ध पारेका थिए।

स्थानीयको गुनासो र काम सक्ने म्यादसमेत सकिन लागेपछि प्रशासन, सडक र नगपालिकाले निर्माण कम्पनीलाई बोलाएर सचेत गराउँदै काम सुचारु गर्न लगाएका थिए। दबाब आएपछि निर्माण कम्पनीले असारभित्र काम सक्नेगरी सुचारु गरेको गाईघाट–दिक्तेल सडक आयोजना कार्यालयका प्रमुख (डिई) पशुपति ज्ञवालीले बताए। उनका अनुसार ०७५ कात्तिक मसान्तभित्र सक्नेगरी जिम्मा लिएको सूर्य कन्ट्रक्सनले तोकिएको म्यादभित्र काम नसकेपछि ०७६ वैशाख २५ गतेसम्म ६ महिनाको म्याद थपेको थियो।

तर, फागुन दोस्रो साता नै दुवैपट्टि नालामा ढलान सके लगत्तै सम्पर्कविहीन भएको निर्माण प्रतिनिधिलाई खोजेर काम चाँडो गर्न निर्देशन दिएपछि सुचारु भएको ज्ञवालीले बताए। अहिले दुवैतर्फको नालामाथि स्ल्याब लगाउने काम सकिएको छ भने ग्राभेलको काम धमाधम भइरहेको छ। यसै साता ग्राभेलको काम सकिए असारभित्र कालोपत्र सकिने सम्भावना रहेको डिई ज्ञवालीको भनाइ छ।

‘गाईघाट प्रवेशद्वारको रुपमा रहेको बस पार्कदेखि मुख्य चोकसम्मकै सडकको काम यस्तो ढिलाइ हुन्छ भने अन्यत्रको काम कस्तो होला?’ व्यवसायी सिर्जनकृष्ण राईले भने, ‘यस्तो अस्तव्यस्त सडकले बजारकै शोभा बिग्रेपछि बाध्य भएर हामी चक्काजाम गर्नेगरी आन्दोलित हुनु परेको हो।’ उनका अनुसार ६ फिट गहिराइ र ४ फिट चौडाइको नालामा स्ल्याब नलगाई छाड्नाले बजारका धेरै बालबालिका लड्नुका साथै सवारी दुर्घटना बढेपछि बजारवासी रिसाएका हुन्।

प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले निर्माणको जिम्मा लिएर काम नगरी लापरबाही गर्ने ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने चेतावनी दिएपछि काम सुचारु भएको बताए। उनले एक पटक म्याद थपिसके पनि काम नसक्ने अनि आफै बेपत्ता भएको थाहा पाएपछि सडक कार्यालय र नगरपालिकासँग समन्वय गरी बोलाएर कारबाहीको चेतावनी दिइएको बताए। यसो गरेपछि आफैं आएर काम सुचारु गरेको ठेकेदारले असारभित्र काम सक्ने र त्यस अवधिसम्मका लागि म्याद थप्न आग्रह गरेको कार्कीले बताए।

असारभित्र काम सक्ने ग्यारेन्टी गर्दै काम सुचारु गरेकाले म्याद थप्न सकिने आश्वासन सडक कार्यालयले दिएको छ। असारभित्र काम सक्ने प्रतिबद्धतापत्रमा कागज गराएर म्याद थप्न सकिने ज्ञवालीले बताए। ‘काम त जसरी पनि सक्नु नै छ, त्यसैले लगातार गर्नेगरी यही आर्थिक वर्षभित्र सक्छु भनेर प्रतिबद्धतापत्रमा सही गराएर दुई महिनाको म्याद थप्ने भन्ने सहमति भएको छ,’ डिई ज्ञवालीले भने।

निर्माण प्रतिनिधि प्रदीप कार्कीले भने गत वर्ष चुरे राष्ट्रपति कार्यक्रमका कारण असारदेखि नदीजन्य पदार्थको अभाव भएर काममा ढिलाइ भई म्यादभित्र काम नसकिएको दाबी गरे। कात्तिकमै सक्ने गरी काम थालेको हो तर, असार १ गतेदेखि चुरे राष्ट्रपति कार्यक्रम लागू भएको जिल्ला भएकाले गिटी, ढुंगा र बालुवा नपाएपछि म्याद थप्नुपरेको उनको भनाइ छ। वैशाखभित्र ग्राभेल गरिसक्ने गरी काम सुचारु गरेको भन्दै कार्कीले २ महिनाभित्र कालोपत्रे गरिसक्ने गरी असारसम्म म्याद थप्न सडक कार्यालयलाई आग्रह गरेको बताए।

प्रकाशित: २६ वैशाख २०७६ ०४:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App