१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा पहिलोपटक अटोमोटिभ इन्जिनियरिङ सम्मेलन

बनेपा - संयुक्त राष्ट्रसंघको आयोजनामा संसारभर मनाइने ‘पाँचौं युएन ग्लोबल रोड सेफ्टी विक’को अवसर पारेर नेपालमै पहिलो पटक वैशाख २७–२८ मा ‘अटोमोटिभ इन्जिनियरिङ’ राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ।

नेपालका अटोमोटिभ, मेकानिकल, इन्डस्ट्रियल तथा एरोनोटिकल इन्जिनियरिङ क्षेत्रमा कार्यरत जनशक्तिहरूको संस्था इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स–नेपाल (आइएइएन) र काठमाडौं विश्वविद्यालय (केयु)ले संयुक्त रूपमा अटोमोटिभ सम्मेलन आयोजना गर्न लागेका हुन्।

‘केयुको सहकार्य तथा अटोमोबाइल क्षेत्रका सबै सरोकारवालाहरूको सहभागितामा मुलुकमै पहिलो पटक अटोमोटिभ इन्जिनियरिङ सम्मेलन गर्न लागेका हौं,’ आइएइका अध्यक्ष पूर्णबहादुर क्षेत्रीले भने। इन्नोभेसन, लिडरसिप, सेफर मोबिलिटी र रोबोटिक्स विषयमा २२ वटा प्रस्तुति र ३२ जना वक्ता रहने सममेलनमा एक सय ५० भन्दा बढीको सहभागिता रहनेछ।

अटोमोबाइल क्षेत्रमा प्रविधिको द्रूततर विकास भएसँगै नेपालमा गाडी बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस)लाई व्यवस्थित गर्नु चुनौती रहेको क्षेत्रीको भनाइ छ। ‘अब गाडी बिक्री गरेर मात्रै नपुग्ने भइसक्यो। उपभोक्तालाई आरामदायी, सुरक्षित यात्रा र इन्धनको किफायती तरिकामा पर्याप्त जानकारी दिनुपर्ने आवश्यकता छ,’ क्षेत्रीले थपे ‘अटोमोबाइलका विज्ञहरूले सम्मेलनमा उपभोक्तालक्षित कार्यपत्र प्रस्तुत गर्नेछन्।’

गाडीहरूको बिक्रीपछिको सेवाका लागि दक्ष मेकानिकको आवश्यकता हुने भएकाले सम्मेलनमा नेपाल अटोमेकानिक्स महासंघलाई समेत सहआयोजक बनाइएको छ। ‘अटो वर्कसप पनि युवाका लागि उद्यमशीलताका नयाँ क्षेत्र बन्न सक्छ भन्ने अभिप्रायले महासंघका पदाधिकारीले अवसरबारे कार्यपत्र प्रस्तुत गर्नुहुनेछ,’ क्षेत्रीले भने।

संसारभर विद्युतीय गाडीको व्यापकता, हाइब्रिड कार, चालकसहित कार निर्माण भइरहेका र संसार मास ट्रान्सपोर्टेसन र का पुलिङको अवधारणामा अघि बढेको सन्दर्भ उल्लेख गर्दै आइएइका उपाध्यक्ष मधुसुदन सिग्देलले भने, ‘विश्वविद्यालय र सिटिइभिटीका अटोमोबाइल पाठ्यक्रमको सान्दर्भिकता र उद्योगमैत्री रहे–नरहेको सम्बन्धमा पर्याप्त बहस भएका छैनन्। त्यसैले पनि विश्वविद्यालयमा भएका नवीनतम खोजका नतिजा, अटोमोबाइल कम्पनीका टेक्नोलोजी परिवर्तनको अवस्था र अटोेमोबाइल क्षेत्रका विज्ञहरूको अनुभव एकापसमा आदानप्रदानका लागि राष्ट्रिय सम्मेलनको आयोजना गरेका हौं।’

सम्मेलन वैशाख २७ र २८ गते धुलिखेलस्थित केयुको केन्द्रीय क्याम्पस सभाहलमा सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय संस्थाहरू द इन्टरनेसनल फेडेरेसन अफ अटोमोटिभ इन्जिनियरिङ सोसाइटिज (फिसिटा) र सोसाइटी अफ अटोमोटिभ इन्जिनियरिङ (एसएई) इन्टरनेसनलका प्रतिनिधिहरूको पनि सहभागिता रहने आइएइका उपाध्यक्ष सुशील तण्डुकारले जानकारी दिए।

केयुले मेकानिकल इन्जिनियरिङअन्तर्गत अटोमोबाइलमा विशिष्टीकृत पठनपाठन सुरु भएलगत्तै अटोमोबाइल कम्पनीले पनि सहकार्यमा विभिन्न कार्यक्रम गर्न थालेको असिस्टेन्ट प्रोफेसर प्रतिष्ठितलाल श्रेष्ठको भनाइ छ। ‘हाम्रा विद्यार्थीले अटोमोबाइल क्षेत्रमा अनेकौं नवीनतम खोज, अनुसन्धान र विकास गरिरहेका हुन्छन्। त्यसलाई इन्डस्ट्रीले व्यावसायिक बनाउँदै लैजानका लागि पनि एकेडेमिया र इन्डस्ट्रीबीच सहकार्य जरुरी छ। त्यसैले अटोमोटिभ इन्जिनियरिङ सम्मेलनमा केयु पनि आयोजक बनेको हो,’ उनले थपे।

सम्मेलनलाई नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ, नेपाल अटोमोबाइल्स स्पोर्ट्स एसोसिएसन (नासा), केयु–एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एएमइएस) र हिट्कोलगायत विभिन्न अटोमोबाइल, लुब्रिकेन्ट र इन्स्योरेन्स कम्पनीहरूको सहयोग रहने आइएइका कोषाध्यक्ष पवित्रविक्रम राणाले जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७६ ०१:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App