१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

रिस र हृदयाघातको सम्बन्ध

डा. कपिलदेव उपाध्याय
मनोचिकित्सक

छिटो रिसाउने र धेरै बेरसम्म रिसाई राख्ने मानिसहरुलाई हृदयाघात हुने सम्भावना, छिटो नरिसाउनेहरु भन्दा तीन गुना बढी खतरा हुन्छ। आखिर किन त्यस्तो हुन्छ त?

रिसाएको बेलामा शरीरमा स्ट्रेस हर्मोनहरु निस्कन्छन् जुन हानिकारक हुन्छन। रिसाएको बेलामा हृदयलाई अक्सिजन अझ बढी चाहिन्छ रे र रगतमा हुने प्लेटलेटहरु रगतको नलीमा जम्ने खतरा हुन्छ रे।

के तपार्इंलाई धेरै रिस उठ्छ? उठ्दैन भने त धेरै राम्रो। धेरै नरिसाउने व्यक्तिहरुको व्यक्तिगतजीवन, पारिवारिक जीवन र व्यावसायिकजीवन राम्रो र सहज भएको हुनुपर्छ।

के तिमीलाई अरुले “धेरै रिसाउने मान्छे” भन्छन्, आफ्नै छोराछोरी पनि नजिक पर्न र आफ्नो कुराहरु भन्न डराउँछन् या भनौं अफिसमा वा आफ्नो व्यवसायमा मिलेर काम गर्न सकिँदैन? हुनसक्छ रिसाउने सबैलाई आफ्नै रिसले बाधा पु-याइरहेको छ।

रिस धेरै शक्तिशाली नकारात्मकभावना (नेगेटिभ इमोसन) हो। यसलाई (डेस्ट्रुक्टिभ इमोसन) पनि भनिन्छ किनकि यसले धेरै कुरा बिगारिरहेको हुन्छ। आजकल विज्ञानले सबै कुरा इनर्जी हो भन्छ र रिस पनि ज्यादै शक्तिशाली इनर्जी हो। सेक्स इनर्जी सबभन्दा बलियो मानिन्छ। रिस पनि सेक्स इनर्जीकै हाराहारीमा आउँछ। तर रिस त नेगेटिभ इनर्जी हो, यसले त बिगार्ने र भत्काउने काम मात्र गर्छ।

धेरै रिसाएको बेलामा मुटुको धड्कन बढ्ने, ब्लड प्रेसर बढ्ने, स्वासप्रश्वास छिटो छिटो हुने र हृदयाघातसमेत हुन सक्ने भएकोले रिस कन्ट्रोल गर्ने तरिकाहरु जान्नुपर्छ। रिसाएको बेलामा आँखा र अनुहार कस्तो देखिन्छ होला भनिराख्नु नपर्ला।

रिस कन्ट्रोल गर्न चाहनुहुन्छ भने निम्नतरिकाहरु अपनाउनुस्

  •  रिस उठेको बेलामा मन मनै “मलाई रिस उठेको छ” भन्ने याद गर्नुस्, एकै छिनमा रिस घट्दै जानेछ। रिसाएको बेलामा कहाँ याद हुन्छ र भन्नुहोला, प्राक्टिस गर्ने हो भने सकिन्छ।
  • रिस उठेको छ भन्ने याद गर्दै ५ देखि १० पटक सम्म लामो लामो सास लिने र छोड्ने गर्नुस्, रिस कम हुँदै जानेछ।
  • एक गिलास पानी बिस्तारै बिस्तारै पिउनुस्।
  • रिस उठ्दा सबभन्दा बढी नोक्सान आफैँलाई हुन्छ भन्ने सम्झनुस्।
  • २० देखि उल्टा गन्दै १ सम्मआउनुस् अर्थात् २०, १९, १८, १७........१ सम्मआउने।

सकभर एक घण्टासम्म फोन, इमेल वा एसएमएस केही नपठाउनू। इमेल वा एसएमएस लेखी हाले पनि पठाउने काम नगर्नू र १ घण्टापछि फेरि एकपटक त्यसलाई पढ्ने गरौं, त्यतिबेला सम्म हामी सबैको विचार बदलिसकेको हुनेछ।

रिसाएको बेलामा शरीरमा एडरेनलिन र कर्टिसोल नामक रासायनिक तत्त्वहरु बढी निस्कने र तिनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउने हुँदा रिसको व्यवस्थापन गर्नु जान्नु जरुरी छ।

रिसाएको बेलामा जे बोलिन्छ जे गरिन्छ र जे निर्णय लिइन्छ ती सही हुँदैनन्। प्रायः मानिसहरु रिसाएको बेलामा आफूले गरेको निर्णयमा पछि पश्चाताप गर्छन्, तर रिसले गर्ने नोक्सान गरिसकेको हुन्छ। रिस बढी भएका मानिसहरुमा यति बढी अहं वा मै हुँ भन्ने भावना हुन्छ कि, उनीहरु आफ्नो गल्ती सच्याउने र गल्ती गरेँ भन्ने मान्न पनि तयार हुँदैनन्।

याद गरौं रिस आफू भित्रै बसिराखेको दुश्मन हो। यदि कसैलाई रिस उठेको बेलामा यसको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो। रिसको साथसाथै कसैप्रति घृणाको भाव पनि हुन सक्छ। अरु व्यक्तिलाई दोष दिँदैमा केही उपलब्धि हुने हैन। बितेका घटनालाई लिएर, त्यसकै निहुँमा रिसाउने, झगडा गर्ने ग-यो भने भने, सबभन्दा बढी दुःख र पीडा जो रिसाउँछ त्यसैलाई हुने हो।

प्रकाशित: २५ वैशाख २०७६ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App