१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

र्मिचाडागीवासीको रतुवा खोलाले निद खोस्छ

रतुवामाई- झापा र मोरङको सीमा छुट्याउने रतुवा खोलाको पश्चिमतर्फको मुख्य भँगालो पार गरेपछि रतुवामाई नगरपालिका वडा नं. ३ मा एउटा बस्ती आउँछ।  करिव ८० घर परिवारको बसोबास रहेको वस्ती, र्मिचाडागी नामले चिनिन्छ।

मधेशको आदिवासी जनजाति गनगाई, ताजपुरिया र दलित समूदायको बसोबास भएको वस्तीको दक्षिणतर्फ भारत, पश्चिमपट्टी रतुवा खोलाको मुख्य भंगालो र पूर्वपट्टी पनि रतुवा खोलाकै अर्को भंगालो पर्छ। उत्तरतर्फ भने केही दुरीमा वस्ती छ। जसले गर्दा  वस्ती बर्खाको बेला पानीले घेरिन्छ र टापुको रुप धारणा गर्दछ।

यो वस्ती सरकार भन्दा निकै टाढा छ। पछिल्लो पटक नगरपालिकाले बल्ल बल्ल विजुलीको पोल गाडि दिएपछि केही राहत महसुस गरेका छन्। यस अघि मोरङ क्षेत्र नं. १ मा पर्ने यस वस्तीका जनताले दिवंगत काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई जिताउन योगदान दिए। काँग्रेसकै अर्का नेता आमोद उपाध्यायलाई पनि जिताउन योगदान दिए। संविधानसभाको दोस्रो निर्वाचनमा एमाले नेता ऋषिकेस पोखरेललाई जिताउन योगदान दिए। अहिले क्षेत्र नं. २ मा पर्ने वस्तीका बासीन्दाले काँग्रेस नेता मिनेन्द्र रिजाललाई जिताउन योगदान दिए। यी नेताले आफ्ना मतदातालाई के के गरे त? वस्तीका बासीन्दाको एउटै माग छ, ‘हाम्रो वस्तीमा पश्चिमतर्फ एउटा झुलङ्गे पुल भए पुग्छ, अरु केही चाहिदैन।’

यो वस्तीका बासीन्दा बर्खाको बेला विरामी पर्दा उपचार गर्न लाने ठाउँ विराटनगर नै हो। बर्खाको बेला विराटनगर पुर्‍याउन इन्डिया पुर्‍याएर फेरि नेपाल प्रवेश गरि लानुपर्ने पीडा सुरेश गनगाईंले बताए। उनका अनुसार बर्खाका बेला बिरामीलाई उपचार गर्न लान भारतको किसनगञ्ज जिल्लाको फुलबारी पुर्‍याएर पैकटोल हुँदै फेरि नेपाल डोरियाबाट झुर्किया हुँदै विराटनगर लाने गरिन्छ।

उपचार गर्न लान ढिलाई हुँदा एक वर्षअघि यो वस्तीका मदनलाल सिंह र राधाकुमारी सिंहको मृत्यु भएको घटना स्थानीयलाई ताजै छ। ‘कसैलाई आपतविपत्त पर्दा उपचारमा धेरै नै समस्या छ,’ स्थानीय शंकरप्रसाद सिंहले भने।

शिक्षाको पाटोलाई हेर्दा यहाँ कक्षा ३ सम्म पढाई हुने आधारभूत विद्यालय छ। तीन कक्षा भन्दा माथि पढ्नका लागि भने अन्यत्र जानुपर्छ। वस्तीबाट रतुवा खोलाको पश्चिम तर्फको मुख्य भंगालो पार गरेर महादेवमा रहेको सरकारी स्कुलमा जान चार किलोमिटर र झुर्कियाको सरकारी स्कुल पुग्न सात किलोमिटर दुरीमा छ। झापा गौरीगञ्ज पनि सात किलोमिटर नै दुरीमा पर्छ। त्यसैले गर्दा यहाँका अधिकतर स्कुले बालबालिका झापाको गौरीगञ्ज नै पढ्ने गरेका छन्।

शंकरप्रसाद सिंहले आफ्ना तीन जना छोराछोरीलाई गौरीगञ्जमै कोठा भाडा लिएर पढाउने गरेका छन्। यूनिभर्सल एकेडेमीमा उनका जेठा छोरा सुमन कक्षा ६ मा पढ्छन भने अर्की छोरा कक्षा ४ र छोरा तीनमा पढ्छन्। विरेनकुमार सिंहकी दुईवटै छोरी निसा र मनिषा गौरीगञ्जमै पढ्छन्। वस्तीका कुमार सिंहका एक छोरी र दुई छोरा पनि गौरीगञ्जमै कोठा भाडा लिएर पढ्छन्।

जेठदेखि कात्र्तिकसम्म रतुवा खोलाको पश्चिमतर्फको मुख्य भंगालो वारपार गर्न सकिदैन्। २०४० सालभन्दा पहिले रतुवा खोला वस्तीभन्दा पूर्व तर्फबाट बग्थ्यो। तर, २०४० देखि पछि भने पश्चिमतिरबाट बग्न थालेको हो। ‘वस्तीका बासीन्दामध्ये एक परिवारको सरदर १०–१२ विघा जग्गा रतुवा खोलाले कटान गरेर स्वाह बनायो,’ सुरेश गनगाई भन्छन, ‘अहिले त हाम्रो एउटा परिवारका सरदर आठ–दस कट्ठामात्र जग्गा छ।’

यहाँका वस्तीका बासीन्दाको जीवनयापन  कृषीमा नै निर्भर छ। यहाँका बासीन्दाले तरकारी खेतीबाट प्रतिपरिवार कम्तीमा तीन लाख आम्दानी गर्छन्। तरकारी खेतीबाहेक धान, मकै, गहुँ, जुटलगायतका खेती गर्छन्। राजनीतिक दलले यहाँका बासीन्दालाई भोट बैकको रुपमा प्रयोग गरेपनि सोचे अनुसारको विकास हुन सकेको छैन्। नगरपालिकाले केही समयअघि मात्र वस्तीका बासीन्दाका लागि विजुली सहयोग गरेको मेयर रविन राईंले बताए। तर, यहाँका बासीन्दाका समस्या थुपैै्र छन्। यहाँका बासीन्दाको झिनो आवाज रतुवा खोलाको गर्जनसँगै हराई रहेको छ। जसले गर्दा स्थानीय, प्रदेश र संघीय सरकारले वस्तीका बासीन्दाका निम्ति विशेष योजना ल्याउनुपर्छ।

प्रकाशित: २५ वैशाख २०७६ ०६:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App