१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

७ महिनादेखि कुवेतको अस्पतालमा छट्पटाउँदै एक नेपाली

सडक दुर्घटनामा होस गुमेपछि कुवेतको जहारा अस्पतालमा उपचार गराइरहेका गंगाबहादुर गुर्मछाने मगर। तस्बिर सौजन्य: केदार आले मगर

खोटाङ – कुबेतमा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका एक नेपाली ७ महिनादेखि अस्पतालको बेडमा छट्पटाइरहेका छन्। ड्युटी जानेक्रममा भएको सडक दुर्घटनामा गम्भीर घाईते भएका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगाबहादुर गुर्मछाने मगरलाई गत भदौदेखि कुवेतको जहारा अस्पतालमा राखिएको छ।

रोजगारीका सिलसिलामा कम्बाइन ग्रुपमा काम गर्न पुगेको तीन महिना नबित्दै मगर सडक दुर्घटनामा परेका थिए। २०७५ साल असार ३ गते कुवेत पुगेका मगर गत भदौ ३१ गते भएको सडक दुर्घटनामा गम्भीर घाईते भएको कुबेतमा रहेका आफन्त केदार आले मगरले बताए।

होस गुमेको र उठ्बस गर्न नसक्ने अवस्थाका मगरको दिशापिसाव ओछ्यानमै भइरहेको छ। दुर्घटनाको गहिरो असर मष्तिष्कमा परेकाले दिमाग सामान्य अवस्थामा आउन समय लाग्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाई उद्धृत गर्दै मगरले बताए। होस गुमेका कारण घाईतेले हालसम्म आफन्तलाई समेत चिन्न सकेका छैनन्। उनी आफु ‘कहाँ छु’ भन्ने पनि थाहा नपाउने अवस्थामा छन्।

अस्पतालको बेडमा बेहोसमा मनपरी बोल्ने गरेका छन्। ‘स्वास्थ्यमा केही सुधार आएको छ, तर दिमाग ठिक छैन। के–के बोल्छ थाहा पाइन्दैन, कहाँ छु भन्ने पनि थाहा पाउँदैन,’ मगरले भने, ‘डाक्टर र नर्सले दिमागमा असर परेकाले सुधार हुन निकै समय लाग्छ भनेको छ।’

उपचार खर्च जुटाउन विभिन्न देशमा अभियान
आर्थिक अवस्था नाजुक भएका गंगाबहादुर गुर्मछाने मगरलाई स्वदेश फर्काएर थप उपचार गर्ने व्यवस्थाका लागि कुवेत, मलेसिया, कतार, दुवई, साउदी लगायतका देशमा सहयोग रकम संकलन अभियान चलाइएको छ। नेपाली दुतावास र कम्पनीको पहलमा मगरलाई नेपाल फिर्ता ल्याउने तयारी भइरहे पनि थप उपचारमा आर्थिक समस्या हुने भएकाले विभिन्न देशमा ‘गंगाबहादुर गुर्मछाने मगर उपचार सहयोग संकलन’ अभियान थालिएको हो।

घाइते मगरलाई नेपाल फर्काइए पनि उनले कानूनीरुपमा पाउनुपर्ने रकम प्राप्त हुन समय लाग्ने भएकाले उपचारलाई निरन्तरता दिनका लागि सहयोगको याचना गरिएको केदार आले मगरले बताए। ‘गंगाबहादुरलाई नेपाल फर्काउनका लागि कागजी प्रकृया अघि बढाइसकिएको दुतावासले जानकारी दिएको छ,’ मगरले भने, ‘नेपाल फर्काएर मात्र भएन, उपचारलाई निरन्तरता दिनुप-यो। घरको आर्थिक अवस्था नाजुक भएकाले सहयोगका लागि देश बिदेशमा रहेका नेपालीलाई आग्रह गरेका छौँ।’

मगरको उपचारका लागि उनकी श्रीमती दिलकुमारी मगरको नाममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेड गाईघाट शाखामा खोलिएको खाता २०९००९३७६१० सहयोग रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ। यस्तै, कुवेतमा केदार आले मगर, हादिरा पुमा छा अनिल, दिपेन दाहाल, जगत मगर र अर्जुन मगर, कतारमा चुडामनी दाहाल र राम मगर, मलेसियामा चन्द्र गुर्मछान मगर र पुकल श्रेष्ठ, दुबईमा राजेन डिसी, चन्द्र बुर्जा मगर र बम मगर तथा साउदीमा कबिराज मगर, नविन खपाङ्गी र मनोज खपांगीमार्फत सहयोग संकलन गर्ने व्यवस्था गरिएको मगरले बताए।

प्रकाशित: २५ वैशाख २०७६ ०६:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App