१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हिमालले छेक्यो आमाको बाटो

चिनियाँसँगको बिहेपछि नेपाली चेलीको कोखबाट जन्मिएका बालबालिका। नेपाल गएका यी बालबालिकाका आमाहरू फर्किएका छैनन्। बालबालिका आमा फर्किने बाटो हेर्दै बसेका छन्। तस्बिर: चेतनाथ/नागरिक

बेइजिङ -  यी हाँसे पनि सुख छैन, यिनले बिर्से नि आमा भनी।’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गौरी’ शोक काव्यमा लेखेका उल्लिखित हरफ चीनमा हुर्किरहेका बालबालिकाकासँग ठ्याक्कै मेल खान्छ। अबोध बालबालिका हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्– यिनले आमालाई बिर्सिए। कहिलेकाहीं उनीहरु रोए फेरि अभिभावकले सम्झने छन्– यिनले आमालाई सम्झिए।

आफ्नी आमाको बाटो विशाल हिमालले छेकेको छ भन्ने ती अबोध बालबालिकालाई थाहा छैन। आमाले छाडेर गएको डेढ वर्षभन्दा बढी भइसकेकाले उनीहरुको स्मृतिमा मातृ छाया धुमिल बन्दै गएको हुन सक्छ। चितवन (नेपाल) कि मेरिना गुरुङ (परवर्तित नाम) सात वर्ष पहिले चीनको भित्री मंगोलिया प्रान्तका लिउसँग बिहे गरेर यहाँ आएकी थिइन्। उनले पति लिउबाट माया र परिवारबाट राम्रै सम्मान पनि पाएकी थिइन्।

उनको कोखबाट जन्मिएका छोरा अहिले साढे पाँच वर्षका भएका छन्। बिहे गरेर चीन आएपछि पनि मेरिना बीचमा दुईपटक नेपाल गइन्। नेपालबाट अरु चेलीलाई चीनमा बिहे गरेर आउन प्रेरित गरिन्। डेढ वर्षअघि उनी नेपाल गएकी चीन फर्किनन्। ‘म त चीन फर्किने भनेर नेपाल गएकी थिएँ तर परिबन्दले गर्दा फर्कन सकिनँ’, मेरिनाले नागरिकसँग भनिन्, ‘साथीसँगै नेपाल गएकी थिएँ। साथीले बिहे गरेर सँगै चीन फर्कने भनेकी थिइन्। उनको बिहे दर्ता नै भएन। त्यही झमेलामा लाग्दालाग्दै मेरो भिसा सकियो।’

मेरिनासँगै जन्मघर नेपाल फर्केकी थिइन् नुवाकोटकी रिदम विक (परिवर्तित नाम) पनि। रिदम पनि चिनियाँ युवकसँग बिहे गरेर यहाँ आएकी थिइन्। उनकी छोरी अहिले चीनमा छिन्। उनी साढे चार वर्षकी भइन्। यसबीचमा रिदमको चिनियाँ पतिसँग केही असमझदारी उत्पन्न भयो। उनीसँग अर्का चिनियाँ युवक सम्पर्कमा आए। रिदम पतिसँगको सम्बन्ध तोेडेर अर्का चिनियाँ युवकसँग बिहे गर्न नेपाल फर्कने विचारले चिनियाँ साथीलाईसमेत साथमा लिएर मेरिनासँग नेपाल गएकी थिइन्। उनले नेपाल गएर नयाँ चिनियाँ युवकसँग बिहे दर्ता गरेर चीन फर्कने सोचाइ बनाएकी थिइन्। तर उनले पहिलो पतिसँग नेपालमा गरेको बिहे दर्ता कायमै थियो।

कानुनी रुपमा उनले पहिलो चिनियाँ पतिसँग सम्बन्ध विच्छेद गरेकै थिइनन्। फलतः उनको नयाँ चिनियाँ साथीसँग बिहे दर्ता हुन सकेन। चिनियाँ नयाँ साथी (युवक) सँग बिहे दर्ता नगरीकन उनी चीन फर्कन सक्ने अवस्था थिएन। किनभने चीन फर्किएपछि उनलाई बसोबासका लागि कानुनी झन्झट थियो। उनी पतिसँग झगडा गरेर नेपाल गएकी थिइन्। चिनियाँ नयाँ युवकसँग बिहे दर्ता गर्न दलालको चक्करमा पर्दापर्दै उनको भिसा अवधि सकियो। रिदमसँगै मेरिनाको पनि भिसा अवधि सकियो। मेरिना र रिदम दुवै चीन फर्किन पाएनन्। मेरिनाका छोरा र रिदमकी छोरी आमाको पर्खाइमा छन्।

‘मेरी आमाचाहिँ आउँदिनन् आन्टी ?’ मेरिनाका छोराले आफूसँग भेट हुँदा सोधेकोे कल्पना लामा बताउँछिन्। नेपाली चेली कल्पना पनि चिनियाँसँग बिहे गरेर यहाँ आएकी हुन्। चीनमा कल्पनाको घर र मेरिनाको घर एउटै क्षेत्रमा पर्छ। भेट हुँदा मेरिनाका छोराले मनै कटक्क हुने गरी आफ्नी आमाको बारेमा सोध्छन्। आफूसँग जबाफ नभएपछि मेरिनाको घरको बाटो भएर हिँड्न छाडेको कल्पना बताउँछिन्। उनी भन्छिन्, ‘त्यो बालकको अनुहार हेर्दा कस्तो माया लागेर आउँछ। मेरिना नेपालमा कसरी बसेकी होलिन कुन्नि।’

चीनमा दूधे बच्चा छोडेर नेपाल फर्कनेमा परी (परिवर्तित नाम) थापा पनि हुन्। काठमाडौं गोलढुंगाकी परी पनि सन् २०१३ मा चिनियाँ युवकसँग बिहे गरेर यहाँ आएकी थिइन्। चार वर्षको छोरा छोडेर डेढ वर्ष जन्मघर नेपाल गएकी उनी पनि चीन फर्किइनन्।

चीनको उत्तर–पूर्वमा पर्ने हैलुङचाङ प्रान्तका चिनियाँसँग बिहे गरेर केही नेपाली चेली यहाँ आएका छन्। आठ÷नौ वर्षअघिदेखि नेपाली चेली उक्त प्रान्तका चिनियाँसँग बिहे गरेर यहाँ आउन थालेका हुन्। चीनमा पुरुषको तुलनामा महिलाको संख्या थोरै छ। त्यसमाथि बिहे गर्न केटापक्षबाट ठूलो धनराशि खर्च हुने गर्छ। बिहे गर्दा केटापक्षबाट केटी पक्षलाई धेरै पैसा दिनुपर्ने भएकाले चिनियाँ समाजमा बिहे जटिल आर्थिक र सामाजिक समस्या बन्न थालेको छ। आर्थिक अवस्था कमजोर भएका चिनियाँ केटाले चिनियाँ केटीको साटो भियतनामी केटी बिहे गर्ने चलन छ। पछिल्लो समय केही चिनियाँ युवक ‘बेहुली’ खोज्न बंगलादेश, पाकिस्तान र नेपालसम्म पनि पुग्न थालेका छन्।

विगतमा एक लाख चिनियाँ युआन अर्थात् साढे १६ लाख रुपैयाँ खर्च गरेर चिनियाँ युवकले नेपाली चेली बिहे गरेर ल्याउँथे। दलाललाई पैसा खुवाएर नेपाली चेलीलाई चीनबाट हङकङ जान पाइन्छ र धेरै पैसा कमाउने अवसर मिल्छ भन्ने प्रलोभन देखाएर विभिन्न चोर बाटोबाट बिहे दर्ता गरी चीन ल्याइन्थ्यो। चिनियाँसँग बिहे गरेर आएका केही नेपाली चेली घरायसी हिंसा, भाषिक समस्या, सांस्कृतिक बेमेलका कारण दुःखमा पर्न थाले। धेरैको राम्रै भए पनि केहीले समस्या परेको भनी उद्धार गरिदिन नेपाली दूतावासलाई अनुरोध गरे।

यस्तो अनुरोध भएपछि चार वर्षअघि आधा दर्जन हाराहारीमा त्यस्ता नेपाली चेलीलाई चिनियाँ प्रशासनको सहयोगमा नेपाली दूतावासले उद्धार गरेर नेपाल पठायो। उनीहरुले आफूलाई चिनियाँ युवकसँग बिहे गराएर चीन पठाउने दलाल र म्यारिज ब्युरोविरुद्ध प्रहरीमा उजुरी दिए। त्यसपछि नेपाल प्रशासनले चिनियाँसँग नेपाली चेलीको बिहे दर्ता रोकेको छ।
अहिले चीनको हैलुङच्याङ, चिलिन, भित्री मंगोलिया, हपेई, सान्तोङलगाय प्रान्तमा दुई दर्जनभन्दा बढी नेपाली चेली चिनियाँसँग बिहे गरेर बसेका छन्। तीमध्ये धेरैजसोका सन्तान पनि छन्।

केही समय समयमा नेपाल गएर चीन फर्केका छन् भने केही उतै बसेका छन््। काखे छोराछोरीलाई चीनमै छोडेर नेपाल गएर नफर्केका कतिपयले नेपालमै पुनः बिहे गरेका छन्। बिहे गरेर नयाँ घरजम गरे पनि उनीहरुको छाती चीनमा रहेका छोराछोरीलाई सम्झेर रसाउने गर्छ। सामाजिक मर्यादाका कारणले उनीहरुले चीनमा पनि आफ्ना छोराछोरी छन् भन्न सक्दैनन्। छोराछोरीलाई सम्झेर उनीहरु एकान्तमा भक्कानिन्छन् भने यता चीनमा नाबालकहरु आमाको बाटो हेरेर बसेका छन्।

लिउ नेपाल गएकी पत्नी मेरिनालाई घर फर्काउन आफूले धेरै प्रयास गरेको बताउँछन्। उनले मेरिनालाई फर्कन भनेर धेरै पैसा पनि पठाए। मेरिनाले आउँछु, आउँछु भन्दै पटकपटक पैसा माग्दै गइन्। पैसा मात्र मागेर आफूलाई अलमल्याएको उनले धेरै पछि मात्र थाहा पाए। त्यसपछि उनले काठमाडौंस्थित चिनियाँ दूताबासमा पनि सम्पर्क गरे। तर, लिउसँग मेरिनालाई चीन फर्काउन बाध्य बनाउने कुनै कानुनी बाटो थिएन। लिउ भन्छन्, ‘मेरिना फर्कने कुरामा म अझै आशावादी छु। छोरासँगै म पनि उनको बाटो हेरेर बसेको छु।’

प्रकाशित: २५ वैशाख २०७६ ०१:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App