१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अनमी र स्टाफ नर्सलाई मिडवाइफरीमा रुपान्तरण गरिने

काठमाड - प्रसूति सेवामा कार्यरत अनमी तथा स्टाफ नर्सलाई मिडवाइफरी जनशक्तिमा रुपान्तरण गरिने भएको छ। मिडवाइफरी जनशक्ति अभावले सुरक्षित मातृत्व तथा प्रसूति सेवा सफल हुन नसकेपछि सो नीति लिइएको हो। राजधानीमा आयोजित तेस्रो मिडवाइफरी सम्मेलनलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका परिवार कल्याण महाशाखाका प्रमुख आरपी विच्छा र नर्सिङ महाशाखाकी प्रमुख रोशनी ट्वीट्वीले सो बताएका हुन्।

विश्व स्वास्थ्य संगठनले दिगो विकास लक्ष्य अवधिभित्रै हरेक राष्ट्रले मिडवाइफरी जनशक्तिमार्फत गर्भवती, प्रसूति, नवजात शिशु सेवा, परिवार नियोजन सेवा तथा अन्य सेवा दिनुपर्ने नीति अघि सारेको थियो। त्यो नीतिमा नेपालले प्रतिबद्धता जनाइसकेको छ। मिडवाइफरी जनशक्तिमा रुपान्तरण गर्न एसएलसी गरेका अनमीहरुको लागि तीन वर्षे मिडवाइफरी कोर्ष अध्यापन गराइने र स्टाफ नर्स जनशक्तिलाई स्थिति हेरी एक वर्षको कोर्ष अध्यापन गराउनेछ।

हाल नेपालमा तीन वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा स्नातक तहको मिडवाइफरी अध्यापन सुरु गरिसकेको छ। आगामी भदौभित्र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट पनि मिडवाइफरी जनशक्ति तयार हुँदैछन्। नेपाल सरकारले सुरक्षित मातृशिशु कार्यक्रममा स्थानीय तहमा स्टाफ नर्स तथा अनमीलाई प्रसूति तालिम दिएको थियो। यो जनशक्तिलाई सरकारले दुई महिने सुरक्षित प्रसूति तालिम दिएर सेवामा खटाएको थियो। ‘यो जनशक्तिले तलको फल टिप्न सफल भयो, माथिको टिप्न त्यति सकेन,’ उनले भने।

विश्व स्वास्थ्य संगठनले पनि सुरक्षित मातृशिशु मृत्युदर लक्ष्यअनुसार घटाउन मिडवाइफरी जनशक्तिवाटै सेवा दिनुपर्ने नीति निर्देशन गरेको छ। मिडवाइफरी जनशक्ति सामान्य अवस्थाका गर्भवती तथा प्रसूति र नवजात शिशु, परिवार नियोजन सेवाको लागि सम्पूर्ण क्षमता हासिल गरेको जनशक्ति मानिन्छ। यो जनशक्तिले सुत्केरीलाई आवश्यक मानसिक स्वास्थ्यदेखि शारीरिक स्वास्थ्य सेवा प्रदान गर्नसक्छ। स्नातक तहका मिडवाइफरीलाई पद तथा दरवन्दी कायम गरी परिचालन गर्नुपर्ने नेपाल मिडवाइफरी समाजले अनुरोध गरेको छ।

प्रकाशित: २४ वैशाख २०७६ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App