१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

डिपिआर बनाउन १ करोड

पोखरा - गण्डकी प्रदेशको बहु चर्चित योजनाका रूपमा रहेको हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन जग्गाको निक्र्याेल गरिएको छ। प्रदेश सरकारले मुस्ताङ जिल्लामा हाई अल्टिच्युड तालिम केन्द्र बनाउने नीति तथा कार्यक्रममै पारित गर्दै अभियान पूरा गर्ने निष्कर्ष निकालेको छ।

‘मन्त्रिपरिषद् बैठकले मुस्ताङको वारगुँ गाउँपालिकामा हाई अल्टिच्युड खेल तालिम केन्द्र निर्माण गर्ने पारित गरेको छ,’ प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले भनिन्, ‘जग्गाको निक्र्याेल गरिएको छ। ठाउँको टुंगो लागेपछि विस्तृत परियोजना प्रतिवेदन तयार पार्नेछौं।’ हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निर्णय गरेको हो।

मुस्ताङको वारगुँ गाउँपालिकामा रहेको जग्गा नापी नभएको उनको भनाइ थियो। जग्गाको भोगाधिकारका लागि पत्रचार गरिएको बताउँदै भोगाधिकारको प्राप्त भएपछि डिपिआर बनाउने मन्त्री पुनले सुनाइन्। ‘संघीय सरकारलाई भोगाधिकारको लागि पत्राचार गरिसकेका छौं,’ उनले भनिन्, ‘पत्रको उत्तर जति छिटो आयो त्यति नै छिटो काम अगाडि बढाउँछौ।’ प्रदेश सरकारले निक्र्याेल गरेको जग्गा समुद्री सतहदेखि ३ हजार ४ सय मिटरको उचाइको हाराहारीमा पर्छ। प्रदेश सरकारले हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन नीति तथा कार्यक्रममार्फत १ करोड रुपैयाँ विनियोजन गरेको छ। विनियोजित रकम डिपिआर बनाउन खर्च गरिने मन्त्री पुनको भनाइ थियो। हाई अल्टिच्युड खेल तालिम केन्द्रका लागि फुटबल मैदान, स्विमिङ पुल, क्लाइम्बिङलगायतका पूर्वाधार तयार पार्ने योजना प्रदेश सरकारको छ। जग्गाको भोगाधिकारका लागि लाग्नुपर्ने  उनको भनाइ थियो।

वारगुँ गाउँपालिका–२ मुक्तिक्षेत्रमा रहेको खाली जग्गालाई नापी गर्नुपर्ने मन्त्री पुनको भनाइ थियो। ‘जग्गा हाई अल्टिच्युडका लागि पर्याप्त हुन्छ,’ उनले भनिन्, ‘केके बनाउने भन्ने डिपिआर पछि मात्रै थाहा हुन्छ।’ प्रदेश सरकारको योजना महŒवाकांक्षी देखिएको छ। योजनालाई पूरा गर्न स्रोत जुटाउने तर्फ प्रदेश सरकारको ध्यान गएको सामाजिक विकास मन्त्रालयले उल्लेख गरेको छ। ‘सपना ठूलो देखिएको छ। हाम्रो स्रोत छैन,’ मन्त्री पुनले भनिन्, ‘स्रोत जुटाउने हो, जति सकिन्छ त्यति बनाउने हो।’ प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि विभिन्न योजना अघि सारेको छ। एक स्थानीय तह एक खेल मैदान, बहुउद्देश्यीय रंगशाला, क्रिकेट मैदान र गल्फ कोर्स निर्माण गर्न प्रदेश सरकारले विभिन्न स्थलगत अध्ययन समेत गरिसकेको छ। खेलकुद विज्ञ टोली नै खडा गरेर गरिएको अध्ययन प्रतिवेदनसमेत मन्त्रालयमा पेस गरिसकिएको छ। गण्डकी प्रदेश सरकारले पहिलो वर्षमै पाँच योजनालाई पाँच वर्षभित्र पूरा गर्ने अठोट लिएको छ। मुस्ताङ क्षेत्रमा सम्भाव्यता अध्ययन गरिए पनि त्यस ठाँउमा हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउने विषयमा निर्णय हुन सकेको थिएन।

संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आफ्नै निर्वाचन क्षेत्र कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा हाइअल्टिच्युड खेल तालिम केन्द्र बनाउन सम्भावित स्थलगत अध्ययन गरेर फर्किएका थिए। त्यसका लागि १५ लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषद्बाट विनियोजनसमेत भइसकेको छ। विनियोजित रकमबाट चार जना इन्जिनियरले फिल्ड सर्भे गरेका थिए। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले भने ढोरपाटन क्षेत्रमा बनाउन उपयुक्त हुने अभिव्यक्ति दिएको थियो। तर मन्त्री पुनले ढोरपाटन क्षेत्रमा गल्फ कोर्स बनाउन उपयुक्त हुने दाबी गरिन्। ‘ढोरपाटन क्षेत्रमा गल्फ कोर्स बनाउन उपयुक्त देखिन्छ।

यो मेरो व्यक्तिगत विचार हो,’ मन्त्री पुनले थपिन्। संघीय सरकारले मनाङको तिमाङमा एक करोड ४१ लाखको लागतमा फुटबल मैदानसहित पूर्वाधार निर्माण गरेको छ। जसलाई हाई अल्टिच्युड टे«निङ सेन्टरको रूपमा विकास गर्ने योजना छ। मुक्तिनाथसम्म सहज यातायातको पहुँच रहेको मुस्ताङमा हाई अल्टिच्युड खेल तालिम केन्द्र बनाउन सकिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै स्पोर्ट्स टुरिज्मको विकास र विस्तार हुने विश्वास प्रदेश सरकारले लिएको छ।   हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले निर्णय गरेको हो।

प्रकाशित: २४ वैशाख २०७६ ०३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App