१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखराको पर्यटनमा नयाँ गन्तव्य थपिँदै

पोखरा- उत्तरतिर धवलागिरि, माछापुच्छे्र, अन्नपूर्ण हिमशृंखला। तल फेवाताल, चम्केको पोखरा बजार, सराङकोट डाँडा, अनि शान्तिस्तुप। एकैपटक यी सबैतिर नजर डुलाउन चाहनेले अबको केही समयभित्र पोखरा नजिकै नयाँ गन्तव्य भेट्नेछन्, महादेव मूर्तिसहितको पुम्दीकोट टावर।

पोखरा–२५ पुम्दीकोटलाई पर्यटनमय बनाउन गाउँलेले महादेव मूर्ति सहित टावर सञ्चालनमा ल्याउने भएका छन्। टावर ठड्याइसकेका छन् भने १ सय ८ फिट अग्लो महादेव मूर्ति स्थापना गर्न गाउँले जुटेका छन्। तीबाहेक थप पर्यटकीय पूर्वाधार पनि गाउँलेले बनाउनेछन्। पोखराबाट करिब १३ किलोमिटर टाढाको फेवामाथिको पुम्दीकोट गाउँमा पर्यटकीय सम्भावना प्रचूर भए पनि पाहुना उकाल्न नसकेपछि पूर्वाधार थपेर पर्यटकीय गन्तव्य बनाउन गाउँले कस्सिएका हुन्।

'पोखराबाट नजिक हुँदा पनि हाम्रो गाउँ 'कुमारी' बनेर बस्नु परेको छ। पूर्वाधार बनाउन सक्ने हो भने पर्याप्त विदेशी भिœयाउन सकिन्छ,' स्थानीय पर्यटन प्रवर्द्धन समितिका संयोजक चन्द्रकान्त बरालले भने, 'पर्याप्त सम्भावना भएको तर महŒव बु‰न नसकेर हामी पछाडि पर्‍यौं। पुम्दीभुम्दीलाई अब पर्यटकीय गाउँको रुपमा परिचय खुलाई दिनुपर्नेछ।'

बरालका अनुसार शान्तिस्तुपमाथिको पुम्दीकोटको त्यो डाँडाबाट पोखरा बजार र उत्तरतिरको हिमाली शृंखला एकैपटक अवलोकन गर्न सकिन्छ। फेवाताल र सराङकोटमा प्याराग्लाइडिङ उडेको देख्न सकिन्छ। 'सराङकोट ब्रान्डिङ भएर पाहुनाको घुइँचो लागेको हो। नत्र पुम्दीको यो डाँडा कम महŒवपूर्ण छैन। हामीले महŒव बुझाउन नसकेर हो,' उनले भने, 'सराङकोटले पर्यटनबाट धेरै फाइदा लिइसकेको छ। तर हामी पछाडि परेका हौं।'

दुई वर्षभित्र महादेव मूर्ति र स्मृति पार्क बनाउने गाउँलेको योजना छ। पाँच वर्षभित्र ध्यान केन्द्र थपिनेछ। करिब १० रोपनी क्षेत्रमा १ सय ८ फिट अग्लो महादेव मूर्ति ठड्याएर पुम्दीभुम्दीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने लक्ष्य गाउँलेको रहेको बरालले बताए। 'विश्व शान्तिस्तुप आएका पर्यटकलाई केही दुरीको पुम्दीकोटसम्म उकाल्न सक्यौं भने हामीलाई पर्याप्त फाइदा हुन्छ,' उनले भने। पुम्दीको यो डाँडा करिब १५ सय मिटर उचाइमा छ।

बरालका अनुसार पुम्दीकोटमा महादेव मूर्ति सहितको पूर्वाधार स्थापना गर्न २१ करोड रुपैयाँ खर्च गरिँदैछ। सरकार, स्थानीय निकाय, पर्यटन व्यवसायी, स्थानीय अग्रजबाट आर्थिक सहयोग जुटाउने बरालले बताए। 'पोखराबाट नजिक भएर पनि चाल नपाएको यो गाउँ अबको केही वर्षमा पर्यटकीय गन्तव्य बन्नेछ, महादेव मूर्तिले धार्मिक पर्यटक तान्नेछ। अरुका लागि पनि गन्तव्य हुनेछ। पोखरा आएका पर्यटकको बसाइ अवधि एक दिन बढाउनेछ,' उनले भने। स्थानीयका अनुसार पुम्दीकोटबाट पञ्चासे क्षेत्रको पदयात्रामा समेत जान सकिन्छ।

स्थानीय पर्यटन व्यवसायी राजु केसीले पुम्दीकोटलाई नयाँ गन्तव्य बनाउने प्रयासमा जुटेको बताए। शान्तिस्तुप उक्लेका पर्यटकलाई करिब एक किलोमिटर माथि उकाल्न सकियो भने यो क्षेत्रले अबको केही वर्षमा मुहार फेर्ने उनले बताए। 'पर्यटकको बसाइ थप एकदिन बढाउन यो गन्तव्यले सघाउनेछ। किनसक अहिलेसम्म अधिक पर्यटक शान्तिस्तुपलाई मिस गर्दैनन्। त्यस्तै मिस गर्न नहुने गन्तव्यको रुपमा पुम्दीकोटलाई जोड्ने हो,' उनले भने, 'त्यसो भयो भने फेवामाथिको यो गाउँ पर्यटनमय हुनेछ। माल पाएर चाल नपाएको यो गाउँको मुहार फेरिनेछ।'

स्थानीयका अनुसार अहिलेसम्म पर्यटन नफस्टाए पनि पुम्दीकोटको यो गाउँको अधिक जग्गा पर्यटन व्यवसायमा उपयोग हुने गरी व्यवसायीले सुरक्षित गरिसकेका छन्। पोखरा साँघुरिदै जाँदा व्यवसायीले यही डाँडामा होटल तथा रेस्टुरेन्ट खोल्ने योजना बनाएका छन्। पोखरामा ठूला होटल चलाएका व्यवसायीको पहिलो रोजाइमा परेको गाउँ पुम्दीकोट हो। पूरै गाउँको खेतबारी नै पर्यटन व्यवसायीले भविष्यमा होटल बनाउन खरिद गरिसकेको गाउँलेको भनाइ छ।

'पुम्दीको अधिक भीरपाखा पोखराका पर्यटन व्यवसायीले खरिद गरिसकेका छन्,' गण्डकी जग्गा तथा आवास विकास संघका अध्यक्ष अर्जुन पोखरेल भन्छन्, 'भविश्यका लागि व्यवसायीले सुरक्षित गरेका छन्। केही वर्ष अघिसम्म निकै सस्तोमा जग्गा किनबेच भएको पुम्दीकोटमा व्यवसायीले किन्न थालेपछि जग्गाको भाउ अकासिएको छ।' पुम्दीकोटमा केही होटल बनिसकेका छन्। केही बनाउने क्रम सुरु भएको छ। वर्षाैंअघि जग्गा किनेर राखेका व्यवसायीले केही समयपछि होटल बनाउने योजना बनाएका छन्।

'पोखरापछिको सबैभन्दा आकर्षक र नजिकको अग्लो डाँडा भएकाले पनि पुम्दीले सबैको ध्यान खिचेको हो,' पोखरेलले भने, 'अबको केही वर्षपछि पुम्दीको यो डाँडामा होटल थपिनेछन्।' पोखरेलका अनुसार लेकसाइड क्षेत्रमा जग्गा अधिक महँगो भएपछि व्यवसायीले केही सस्तोमा किन्ने क्रममा पुम्दीको डाँडा रोजेका हुन्। 'लेकसाइडमा जग्गा किनेर होटल बनाउन सकिने अवस्था छैन, धेरै महँगो भएको छ। त्यही भएर यता (पुम्दी) किनेका छन्,' उनले भने, 'गाउँले अहिलेसम्म अग्रसर नभए पनि पर्यटकीय पूर्वाधार थपिँदै जाँदा पुम्दीकोट भविश्यमा पक्कै पनि गन्तव्य बन्ने थियो। तर, महादेव मूर्ति स्थापना गरेर टावर सञ्चालन गर्दै गाउँले नै अग्रसर बने। केही वर्षमा पुम्दीको मुहार फेरिनेछ।'

प्रकाशित: ७ कार्तिक २०७३ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App