१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप जेठ पहिलो साता

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।

प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगितामा हरेक दिन १ खेल हुनेछ। प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टोलीको सहभागिता हुनेछ। १० टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइनेछ। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगिताको कुल बजेट १ करोड ७५ लाख रुपैयाँ रहेको छ  त्यसमा परिषद्ले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ।

प्रतियोगिताको पुरस्कारका लागि मात्र करिब ५० लाख रुपैयाँ खर्च हुनेछ। विजेताले २० लाख पाउनेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ। त्यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यसै गरी खेल हेर्न पुग्ने दर्शकलाई ‘सिंगल ह्यान्डेड’ क्याच लिएमा ५० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमै सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ। सम्झौतापत्रमा राखेपका सदस्यसचिव केशवकुमार विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गरे। सम्झौता यसै प्रतियोगिता आयोजना गर्नका लागि रहेको सदस्यसचिव विष्टले बताए।

नेपालय इन्टरनेसनका  प्रधानले नेपालले एकदिवसीय मान्यता पाए पनि ५० ओभरको खेल हुन नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिताले खेलाडीलाई फाइदा पुग्ने बताए।

प्रकाशित: २३ वैशाख २०७६ ०४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App