१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कुरा राख्न नपाएको भन्दै सांसदको विरोध

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना कुरा राख्न नपाएको भन्दै असन्तुष्टि पोखेका छन्। सांसदहरूले बैठकमा आपना कुरा राख्न पाउनुपर्ने माग नदिएको भन्दै बैठकको सुरुमै सांसद रामकुमारी झाँक्रीले संसद्मा हुने छलफलमा नेकपाका सांसदले सरकारकै पक्षमा बोल्ने भए पनि संसदीय दलको बैठकमा भने आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेकी थिइन्।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिन बोलाएको बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्रीले बोल्नुअघि नै सांसद झाँक्रीले संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा समेटिएका कतिपय शब्द तथा तथ्य÷तथ्यांकबारे प्रष्ट हुनपर्ने भन्दै सबैले आ–आफ्नो कुरा राख्न पाउनुपर्ने माग गरेकी थिइन्। उनले पक्षमा उभिन र ह्वीप लगाउन बैठक बोलाउनै पर्देनथ्यो भन्दै एउटा एसएमएस पठाइदिए हुनेमा बोल्न नपाउने भए बैठक किन बोलएको भन्दै आक्रोश पोखेकी थिइन्। ‘मालिकको पटाङ्गिनीमा रैती आएर बस्ने र मालिकले के निर्देशन दिन्छन् त्यही शिरोधार्य मात्रै गरेर हिँड्ने हो?,’ भन्द्यै प्रश्न गरेकी थिइन्। सांसद झाँक्रीले उठाएका विषयमा दलका उपनेता सुवास नेम्बाङले नीति तथा कार्यक्रम पारित भएपछि र प्रधानमन्त्री भियतनाम भ्रमणबाट फर्केपछि सांसदहरूको प्रश्न र गुनासा सुन्ने बताएका थिए।

पक्षमा उभिन र ह्वीप लगाउन बैठक बोलाउनै पर्देनथ्यो। एउटा एसएमएस पठाइदिए हुनेमा बोल्न नपाउने भए बैठक किन बोलएको ?

‘नेकपाका सांसदले संसद्मा सरकारकै पक्षमा बोल्नुपर्ने हुन्छ। त्यसैले संसदीय दलको बैठकमै धेरै कुरा स्पष्ट हुनुपर्छ भनेर सबैले बोल्न पाउनुपर्छ भनेकी मात्रै हँु,’ सांसद झाक्रीले भनिन्। शनिबार संसदीय दलको बैठकमा प्रतिपक्षी दलले दर्ता गराएको संशोधनमध्ये प्रधानमन्त्रीले स्वीकारेका बाहेकका विषयको विपक्षमा मतदान गर्न नेकपाले निर्देशन दिएको थियो। बैठकमा प्रधानमन्त्री एवम् नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने विषय आवश्यकतामा आधारित भएर टिपाउन सांसदलाई निर्देशन दिए। नीति तथा कार्यक्रममा समावेश भएको मेरो सरकार भन्ने प्रसंग अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ थियो। राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गर्नु कुनै आपत्तिजनक नभएको उनले स्पष्ट पारे।

छलफलका क्रममा सांसदहरू जनार्दन शर्मा, खगराज अधिकारीले पनि बोल्नु पाउनुपर्ने माग गरेका थिए। यसअघि दुईपटक बसेको संसदीय दलको बैठकमा पनि सांसदहरूले आफ्ना कुरा राख्न नपाएको भन्दै यसपटक कुरा राख्न पाउनुपर्ने माग गरेका हुन्।

प्रकाशित: २२ वैशाख २०७६ ०१:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App