१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नाका चलाउन राजमार्ग दुरुस्त बनाइँदै

निरन्तर बाढीको चपेटामा पर्दै आएको राजमार्गको कोठे क्षेत्रमा कटान नियन्त्रण गरिँदै। तस्बिर: ध्रुव/नागरिक

सिन्धुपाल्चोक - उत्तरी व्यापारिक नाका तातोपानी भएर चीन जोड्ने अरनिको राजमार्ग मर्मत सम्भारमार्फत दुरुस्त बनाइँदै छ। बिनासकारी भूकम्पपछि चार वर्षदेखि बन्द नाका छिट्टै सञ्चालनमा ल्याउने तयारी थालिएपछि अत्यावश्यक पूर्वाधारका रुपमा राजमार्ग सुधार तथा मर्मत सम्भारलाई द्रुततर बनाइएको हो।

एक सय १४ किलोमिटर लामो राजमार्गको सबैभन्दा बढी क्षतिग्रस्त बन्देउ–लिपिङ खण्ड मर्मतको काम तीव्र रुपमा अघि बढिरहेको छ। झन्डै ४४ किलोमिटर दूरीको यो खण्डमा चीन र नेपाल सरकारले दुईतिरबाट काम गरिरहेका छन्। बन्देउदेखि बसेरी क्षेत्रसम्म ३५ किमि दूरीमा सडक विभागमार्फत डिभिजन सडक कार्यालय चरिकोट र त्यहाँबाट लिपिङसम्म नौ किमि खण्डमा चीन सरकारले राजमार्ग सुधारको काम गरिरहेका हुन् ।

‘नाका सञ्चालनलाई ध्यानमा राखेर राजमार्ग सुधार र मर्मत कार्यलाई तीव्र बनाउँदै लगेका छौं,’ प्रमुख डिभिजन इन्जिनियर धर्मेन्द्र झाले भने। नाका सञ्चालनमा आउनुअघि नै राजमार्ग दुरुस्त बनाउने लक्ष्यसहित काम भइरहेको उनले बताए। २०७२ वैशाख १२ गतेको भूकम्प र २०७३ असारमा निम्तिएको भोटेकोसी बाढीले लिपिङ–तातोपानी क्षेत्रको सडक क्षतिग्रस्त बनाएको थियो भने त्यसयता निरन्तर बर्खे बाढी, पहिरोले बन्देउसम्मको सडक खण्डहरमा परिणत गराएको थियो।

नाका बन्द हुँदा ओझेलमा परेको राजमार्ग मर्मत, सम्भार नहुँदा झन्–झन् जिर्ण बन्दै गएको थियो। आफ्नो क्षेत्रमा चीनले सडक मर्मत लगभग सकेको छ भने डिभिजन सडकले पनि राजमार्ग सुधारलाई अन्तिमतिर पु¥याएको छ। ‘जेठभित्रै राजमार्गलाई दुरुस्त बनाउने प्रयासमा छौं,’ प्रमुख इन्जिनियर झाले भने।

उनका अनुसार बन्देउदेखि माथितिर ३५ किमि क्षेत्रमा ३६ करोड रुपैयाँको ठेक्कामा पाँचवटा प्याकेजमा राजमार्ग सुधार र मर्मतको काम भइरहेको छ। पहिरो र बाढी कटान नियन्त्रण गर्न जाली गारो लगाउने, कल्भर्ट र नाला बनाउने, एकोहोरो सडकलाई दुई पंक्तिमा विस्तार गर्ने, कालोपत्रे उप्किएका स्थानमा पुनः कालोपत्रे गर्ने काम तीव्र रुपले अघि बढिरहेको छ। ‘१२ किमि क्षेत्रमा कालोपत्रे भइरहेको छ,’ झाले भने।

बाढी, पहिरोको चपेटामा परेका राजमार्गका कोठे, जुरे, महभीर, बाह्रविसे, खुर्सानीबारी र बसेरी क्षेत्रमा कटान नियन्त्रण गर्न मेसिनरी र जाली गारो लगाईँ एकपंक्ति बनेका सडकलाई दुईपंक्ति बनाइँदै छ। त्यस्तै जुरे पहिरो नियन्त्रणका लागि नयाँ प्रविधिमा आधारित काम भइरहेको छ। २०७१ मा साउन १७ गते भिमकाय पहिरो निम्तिएको जुरेमा त्यसयता बर्खामा निरन्तर लेदोमाटो बगेर राजमार्ग अवरुद्ध हुँदै आएको छ।

पहिरो नियन्त्रण र सडक सुधारमा यहाँ मात्र झन्डै सात करोड रुपैयाँको काम ठेक्कामार्फत भइरहेको छ। ‘यहाँ पहिरो र कटान रोक्न सडक दायाँ–बायाँ जाली गारो लगाउने काम भइरहेको छ,’ प्रमुख इन्जिनियर झाले भने, ‘बर्खामा पहिरोबाट झर्ने लेदो माटो बग्ने छुट्टै बाटो बनाउँदै छौं।’ डिभिजन सडकका अनुसार पक्की पुल बनाउन समय लाग्ने भएकाले तत्कालका लागि बाह्रविसेको साधी खोल्सामा बेलिब्रिज हाल्ने तयारी भइरहेको छ। यसका लागि आवश्यक सामग्री आइरहेका छन्।

गत वर्षको बर्खाले साधी खोल्सा पुल बगाएको थियो। यही पुलको स्पान (खम्बा)मा बेलिब्रिज राख्न लागिएको हो। एक–डेढ साताभित्रै बेलिब्रिज तयार हुने कार्यालयले जनाएको छ। ‘यहाँ पक्की पुल बनाउन ठेक्का आह्वान गरिसकेका छौं,’ प्रमुख डिभिजन इन्जिनियर झाले भने। जेठ महिनाभित्रदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने सरकारको तयारी छ। सुधार र मर्मतको काम अन्तिम चरणमा पुग्दा बिनाअवरोध राजमार्ग चीन जोड्ने घाँटी लिपिङसम्म सडकले जोडिइसकेको छ।

प्रकाशित: २२ वैशाख २०७६ ०१:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App