१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'संसद् लोकमानको दरबार होइन'

काठमाडौं- चिकित्सा शिक्षाका विकृतिविरुद्ध निरन्तर लडिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीका पक्षमा उभिने दल वा सांसदलाई 'उनीसँगै जान तयार रहन' चेतावनी दिएका छन्।

संसद्मा कार्कीविरुद्ध महाभियोग दर्ता भए पनि प्रमुख दल नेपाली कांग्रेसले पक्षमा निर्णय गर्न खुट्टा कमाएको भन्दै डा. केसीले यस्तो चेतावनी दिएका हुन्। उनले संसद् लोकमानको दरबार नभएको, जनताको भएकाले त्यसले उनलाई हटाएरै छाड्ने विश्वाससमेत व्यक्त गरे।

महाभियोग प्रस्ताव दर्तासँगै त्यसलाई पारित गर्न दबाब दिने उद्देश्यले 'डा. केसी ऐक्यबद्धता गठबन्धन' ले शनिबार राजधानीमा आयोजना गरेको र्‍यालीलाई सम्बोधन गर्दै डा. केसीले कार्कीको पक्षमा लाग्ने सबैको अन्त्य हुने दाबी गरे।

कार्कीलाई अख्तियार प्रमुख बनाउन भारतीय शक्ति लागेको स्पष्ट भइसकेको भन्दै डा. केसीले ब्रिटिसद्वारा भारतलाई बनाएजस्तो नेपाललाई 'कोलनी' राष्ट्र नसम्झन पनि चेतावनी दिए।

'भ्रष्टलाई राखेर तिनीहरुको स्वार्थ पूरा गराउन सकिन्छ भन्ने लाग्छ भने (भारत) लोकमानलाई आफ्नै देशमा लिएर जाओस्,' उनले भने।

देशमा अब 'लोकतन्त्र कि लोकमानतन्त्र' स्थापित हुने भन्दै दोस्रो तन्त्र स्थापित भए लोकतन्त्रको अस्तित्व नरहने बताए। 'संसद् लोकमानको सेवक हो कि जनताको केन्द्र हो?' उनले थपे, 'संसद् लोकमानको दरबार नभई जनताको हो।'

'लोकमानको पक्ष लिने हो भने लोकमानकै दरबारमा जानुपर्छ, जनताको दरबारमा होइन,' उनले भने। केन्द्रीय समितिमा बोल्ने अधिकांश कांग्रेस नेताले अदालतमा विचाराधीन विषय भन्दै लोकमानलाई जोगाउन लागिपरेको भन्दै उनले जनतालाई बेबकुफ नसम्झन चेतावनीसमेत दिए।

'अदालतमा विचाराधीन विषय नियुक्ति योग्यतासम्बन्धी हो, महाभियोग पदमा हुँदा गरेका कुकृत्यका आधारमा हो, यति कुरा पनि थाहा नभए सबै छाडेर हिँड्नुस्,' डा. केसीले कांग्रेस नेतातर्फ इंगित गर्दै भने, 'हैन भने लोकमानलाई महाभियोग लगाएरै हटाउनुपर्छ।'

कांग्रेसले पार्टीका युवा नेता र कार्यकर्ता दबाबमा छिट्टै निर्णय लिने र अन्य पार्टीका पनि सबै सांसदले भोट हालेर लोकमानलाई बिदा गर्ने विश्वास व्यक्त गरे। 'लोकमानलाई बिदा नगरे उनीसँगै जान तयार भए हुन्छ,' उनले भने, 'जुन शक्तिले लोकमानलाई स्थापित गर्न खोजेको छ, त्यही शक्ति सँगै जानुपर्छ।'

उनले पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले नै महाभियोगबारे निर्णय लिन ढिला गरेकोमा आश्चर्य प्रकट गरे। 'कांग्रेसका अधिकांश संासदले लोकमानतन्त्रको अन्त्य चाहेका छन्,' उनले भने, 'केही ठूला भनिने रैथाने सांसद मात्रै लोकमानको बचाउमा लागेका छन्।' उनले ती नेता स्वच्छ नभएकै कारण लाचार भएको समेत आरोप लगाए।

कांग्रेस 'लोकमानको सिपाही बन्ने कि लोकतन्त्रको' भन्ने प्रश्नको जवाफ दिने समय आएको उनले बताए। संसद् जनआस्थाको केन्द्र भएको भन्दै त्यसलाई लोकमानको दरबार बन्न नदिन पनि उनले आग्रह गरे।

अघिल्ला अनशन क्रममा तीन सांसदले कार्कीविरुद्ध सार्वजनिक महŒवको प्रस्ताव दर्ता गरेर हिम्मत गरेको स्मरण गर्दै डा. केसीले अहिले ठूला दलकै नेतृत्वमा प्रस्ताव दर्ता हुनु स्वागतयोग्य भएको बताए।

दलहरुले सुशासनका लागि एक भएर नेतृत्व दिए नेपाल छिट्टै अगाडि बढ्ने विश्वाससमेत डा. केसीले व्यक्त गरे। 'नेपालमा जनता मेहनती, इमानदार र कर्मठ छन्, सही नेतृत्व भए देश सुध्रन समय लाग्दैन,' उनले थपे।

आफू चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार र सुशासनका लागि लड्दै आएकोमा सुशासनको जिम्मा पाएको निकायले नै त्यसमा हस्तक्षेप गरेपछि बाध्य भएर आफूले महाभियोग विषय उठाएको डा. केसीले बताए। 'अख्तियारमै महाभ्रष्ट हाबी भएर पंगू बनाएर समानान्तर सत्ता चलाए।'

लोकमान संविधानभन्दा माथि र प्रधानमन्त्रीसमेत उनीअन्तर्गत नै रहेको देखिएको उनले सुनाए। 'अहिले देखावटी रुपमा प्रधानमन्त्री माथि छन् तर उनीभन्दा माथि लोकमान छन्,' उनले भने, 'अब लोकमानको अन्त्य हुनैपर्छ, यो स्थितिमा उनलाई संरक्षण गर्नुहुन्न र उसले गरेका कुकर्मको सजाय पाउनैपर्छ।'

पदीय शक्ति दुरुपयोग गर्दै आएका कार्कीले सर्वोच्च अदालतमाथि नै आक्रमण गर्दासमेत पनि नागरिक समाजसमेत मौन बसेको डा. केसीले आरोप लगाए। 'आठौं र नवौं अनशनमा पनि महाभियोगकै माग गरेँ,' उनले भने, 'तर तिनीहरुले मास्टर लोकमानकै डरमा बोल्न सकेनन्।' चिकित्सा शिक्षा र स्वास्थ्यमा गुणस्तर र पहुँचका लागि आफ्नो लडाइँ जारी रहेको उनले सुनाए।

कार्यक्रममा कांग्रेस सांसद सुरेन्द्र चौधरीले लोकमानलाई कुनै पनि शक्तिले बचाउन नसक्ने बताए। उनले महाभियोग प्रस्ताव दर्तापछिको अवसरलाई एक जुगमा एक दिन आउने समयको संज्ञा दिँदै कांग्रेसले कुनै हालतमा निर्णय गर्न ढिला गर्न नहुने बताए। 

संसारका ठूलाठूला क्रान्तिमार्फत जनताले तानाशाह ढालेको भन्दै चौधरीले नेपाली जनताको इच्छाविपरीत जाने हिम्मत राजनीतिज्ञमा नभएको बताए । 'नेपाली कांग्रेस भाग्ने ठाउँ छैन,' उनले भने, 'संसारका कुनै पनि शक्तिले लोकमानलाई बचाउन सक्दैन।'

गठबन्धनका संयोजक डा. जीवन क्षत्रीले 'लोकमानरुपी सिनो' बोक्न एमाले र माओवादी केन्द्रले छाडे पनि कांग्रेसका केही नेता त्यही बोकेर हिँडिरहेको बताए। 'कांग्रेसका विमलेन्द्र निधिजस्ता केही नेताले त्यो सिनो बोकेर हिँडेका छन् तर गनाइरहेको चाल पाएका छैनन्,' उनले भने, 'अब सोच्नुस्, तपार्इंहरुले बोकेर अब लोकमानलाई बचाउन सक्नुहुन्न।'

आन्दोलनमय माइतीघर

महाभियोग प्रस्ताव तत्काल पारित गर्न दबाब दिन आयोजित कार्यक्रम स्थल माइतीघरमा औपचारिक कार्यक्रमअगावै चहलपहल सुरु भएको थियो। जनआन्दोलनमा महŒवपूर्ण भूमिका खेलेका युवा गायक रुबिन गन्धर्वले लोकतान्त्रिक आन्दोलनको स्मरण गर्दै गीत सुरु गरेपछि धेरैले जनआन्दोलनको झल्को आएको प्रतिक्रिया दिए। नागरिक अगुवा, बुद्धिजीवी, कानुन व्यवसायी र युवाहरुको बाक्लो उपस्थिति रहेको माइतीघरमा गन्धर्वले 'बनको काफल बनकै चरीलाई, तिम्रो शासन दुई दिनको भए'नि हाम्रो शासन जुनीभरीलाई' बोलको प्यारोडी गाएका थिए।

उपस्थित भिडमा कांग्रेसको अनिर्णयप्रति इंंगित गर्दै 'घाम, हँसियाले खोले मुख, अझै चुप भयो रुख' भन्ने नारा लगाइएको थियो। उनीहरुले 'लुटतन्त्र कहिलेसम्म, हामी चुप जहिलेसम्म', 'संासदहरु होसियार क्यान्सर हो भ्रष्टाचार', 'डा. केसीको माग पूरा गर, एक, दुई तीन चार बन्द गर भ्रष्टाचार' लगायत नारासमेत लगाइएको थियो।

माइतीघरबाट बानेश्वरसम्म र्‍याली प्रदर्शनपछि कोणसभा सुरु भएको थियो। कोणसभामा गायक अमृतमान बज्राचार्यले 'बोलबोल सांसद बोलबोल भ्रष्टाचारी जालो खोलखोल' बोलको गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको सुरुमै लोकमानका प्रतिनिधि पात्रले बोकेर हिँडेको लुटतन्त्र लेखिएको घैंटो फुटाएर सिम्बोलिक रुपमा महाभियोगसँगै लोकमानतन्त्रको अन्त्य हुने संाकेतिक प्रस्तुति गरिएको थियो।

प्रकाशित: ७ कार्तिक २०७३ ०१:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App