१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अवैध क्रसर खुलाउन अख्तियारको पत्र

सुर्खेत - मापदण्ड पूरा नगरी भेरीगंगा नगरपालिका–८ गोचेखोलामा सञ्चालित घुम्ती क्रसर उद्योग स्थानीय प्रशासनले गत चैतको पहिलो साता बन्द गराई केही उपकरण नियन्त्रणमा लियो। बन्द गराइएको सो घुम्ती क्रसर केही समयमा पुनः सञ्चालनमा आयो। यसको कारण थियो– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र।

अख्तियारको सुर्खेतस्थित कार्यालयले आफ्नो भवन निर्माणका लागि बालुवा र गिट्टी आवश्यक परेको भन्दै भेरीगंगा नगरपालिकालाई ‘आवश्यक समन्वय गरिदिन’ पत्र काटेसँगै गोचेखोलाको अवैध घुम्ती क्रसर पुनः सञ्चालनमा आएको हो। ‘अख्तियारको पत्रपछि गोचेखोलामा फेरि क्रसर उद्योग सञ्चालनमा आयो,’ नगरपालिकाका एक कर्मचारीले भने, ‘अख्तियारलाई अटेर गरेर कहाँ काम गर्न सकिन्छ।’ आशिष–हाम्रो जेभीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको भवन तथा एनेक्स भवन निर्माणको ठेक्का पाएको छ। २०७७ जेठ १६ गतेसम्म अख्तियारको भवन सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको हो। अख्तियारले सो अवधिसम्मका लागि आवश्यक पर्ने बालुवा र गिट्टीमा सहजीकरण गरिदिन पत्राचार गरेको बताइएको छ।

निर्माण कम्पनीको पत्रलाई आधार मानी अख्तियारले स्थानीय तहलाई अवैध क्रसरलाई निरन्तरता दिन पत्र काटेको देखिन्छ। ‘भवनका लागि आवश्यक पर्ने निर्माण सामग्रीका लागि गोचेखोलामा सञ्चालनमा आएको घुम्ती क्रसर स्थानीय प्रशासनले बन्द गरेको जानकारी भयो,’ चैत २६ गते अख्तियारले नगरपालिकालाई पठाएको पत्रमा भनिएको छ, ‘२०७७ जेठ १६ गतेसम्म उक्त निर्माण व्यवसायीलाई आठ सय ७२ घनमिटर बालुवा र एक हजार ९० घनमिटर क्रसर गिट्टी आवश्यक पर्ने भएकाले समन्वय गरिदिनुहुन निर्णयानुसार अनुरोध छ।’

अख्तियारले लेखेको पत्र जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, घरेलु तथा साना उद्योग विकास समितिलाई बोधार्थ दिएको छ। उसले सरोकारवाला कार्यालयसँग समन्वय गरेरै नगरपालिकालाई पत्र काटेको बताएको छ। अख्तियारका प्रवक्ता मेघनाथ सापकोटा सो क्रसर उद्योग सञ्चालन मापदण्डबारे आफूहरूलाई जानकारी नभएको बताए। ‘गोचेखोलाको क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्रीको अभाव हुने र यसले हाम्रो भवनको काम समयमै सम्पन्न नहुने देखिएकाले सोहीअनुसार पत्राचार गरेका हौं,’ उनले भने, ‘क्रसर उद्योग सञ्चालन मापदण्डबारे भने जानकारी भएन।’

दोस्रो पटक जिल्ला अनुगमन समितिले सो क्रसर उद्योग बन्द गराएको छ। जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल नेतृत्वको समितिले एक साताअघि गरेको अनुगमनका क्रममा मापदण्डविपरीत खोलामा क्रसर उद्योग सञ्चालन भएको पाइएकाले बन्द गराएको थियो। अख्तियारको ‘डर’का कारण अहिलेसम्म अनुगमन प्रतिवेदन समितिले बनाउन सकेको छैन।

डिभिजन वन कार्यालयका अनुसार गोचेखोला क्षेत्र अति संवेदनशील चुरे क्षेत्रभित्र पर्छ। कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जारी गरेको क्रसर उद्योग स्थापना र सञ्चालनका लागि बनेको कार्यादेशमा चुरे क्षेत्र, खोला, नदी र वन क्षेत्रबाट न्यूनतम पाँच सय मिटर टाढा उद्योग स्थापना तथा सञ्चालन गर्नुपर्ने उल्लेख छ।

प्रकाशित: २२ वैशाख २०७६ ०१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App