१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बौद्ध र हिन्दूबीचका भिन्नता

बुद्धले वैदिक धर्मदर्शनको खण्डन गर्नुका साथै वैदिक ब्राह्मणसँग भारी मात्रामा शास्त्रार्थ गरेको तथ्य सही हो। शास्त्रार्थमा सहभागी ती ब्राह्मण बुद्धको शरणमा गई बौद्ध नै बनेका तथ्य पनि सही नै हो।  

बसन्त महर्जन
धर्मदर्शनको इतिहासमा एउटा अत्यन्तै रोचक पक्ष बौद्ध धर्मदर्शनलाई हिन्दू दर्शनसँग सम्बन्धित गरेर प्रस्तुत गर्ने काइदा छ। बौद्ध धर्मलाई हिन्दू धर्म भन्दा पृथक् दृष्टिले हेर्न सकिँदैन भन्ने जिकिर प्रायः हिन्दूवादीको देखिन्छ। यही आधारमा यसलाई हिन्दू  धर्मकै एक शाखा मान्ने गरिएको हो। तर बौद्धहरू यसमा विमति राख्छन्। यसले द्वन्द्व त निम्त्यायो नै साथै गालीगलौजको स्तरसम्म पनि पुग्नु राम्रो होइन। सयौं वर्ष अघि देखिको यो गाँठा फुकाउन आस्था वा भावनाको कुराले मात्रै संभव नभएको जगजाहेर छ। केही वर्षअघि विपश्यनाचार्य सत्यनारायण गोयन्का र शंकराचार्यबीच भारतमा भएको लिखित सम्झौताले पनि खासै काम गरेन। यसलाई धर्मदर्शनको विकासक्रम अर्थात् इतिहासको दृष्टिकोणबाट हेर्दा केही बुझिएला कि भन्ने संभावना भने छ।

गौतम बुद्ध (इ.पू.५६३–४८३) ले मध्यभारतमा आफ्नो मतवादको प्रचार गरिरहेका बेला प्रतिस्पर्धीका रूपमा छ थरी दार्शनिक मतवादको बोलवाला थियो। ती दार्शनिक मतवादको नेतृत्व पूर्णकाश्यप, अजित केशकम्बल, प्रकुधकात्यायन, मोखल गोशाल, संजय बेलठ्ठिपुत्त र निगण्ठ नाथपुत्त (महावीर वर्धमान) ले गरिरहेका थिए र जम्मै अवैदिक थिए। अब प्रश्न उठ्छ, वैदिक मतवाद कहाँ गयो त ? प्रश्न महत्वपूर्ण छ। छ थरी मतवाद नभएर सात थरी थियो कि भन्ने आशंका पनि नहुने होइन। तर त्यस्तो होइन।

मानव सभ्यताको अभ्यन्त प्राचीनकालदेखि वैदिक धर्मदर्शनको बोलवाला भएको र अक्षुण्ण रूपमा रहेको भन्नु इतिहास सम्मत छैन। यो दृष्टिकोण ज्ञान आर्जनको सही तरिका होइन पनि। बुद्धले वैदिक धर्मदर्शनको खण्डन गर्नुका साथै वैदिक ब्राह्मणसँग भारी मात्रामा शास्त्रार्थ गरेको तथ्य सही हो। शास्त्रार्थमा सहभागी ती ब्राह्मण बुद्धको शरणमा गई बौद्ध नै बनेका तथ्य पनि सही नै हो। बुद्धका समकालीन ६ थरी मतवादसँग पनि भारी मात्रामा संघर्ष गर्नु परेको थियो। यो तथ्यमाथि विहंगमदृष्टि दिँदा के दृष्टिगोचर हुन्छ भने, आजभोलि प्रचार गरिएजस्तो वैदिक धर्मदर्शनको व्यापकता त्यति बेला थिएन। त्यति बेलाको ठूलो र शक्तिशाली राज्य मगध राजनीतिक दृष्टिले मात्रै नभएर धर्मदर्शनका दृष्टिले पनि उल्लेखनीय थियो। बौद्धहरूले प्रयोग गर्ने गरेको शब्द ‘महाभिनिष्क्रमण’ पश्चात गौतम सोझै मगधमा किन गएको भन्ने प्रश्नको जवाफ यस प्रसङ्गमा ज्यादै महत्वपूर्ण छ। धर्मदर्शनसम्बन्धी अध्ययन र अभ्यास मात्रै गर्ने भए आफ्नै राज्य कपिलवस्तु पनि पर्याप्त थियो। तर अध्ययन क्षेत्र बनाउन उनी मगधतिर नै सोझिनु र धर्मचक्रप्रवत्र्तनपछि पुनः मगधतिर नै लाग्नुको खास कारण त्यहाँ वैचारिक स्वतन्त्रता र विचार विमर्शका लागि उपयुक्त वातावरणको उपलब्धता पर्याप्त मात्रामा भएर हो कि जस्तो लाग्छ। मगधमा वैदिकहरूको उपस्थिति र प्रभाव कमै रहेको प्रसंग उनीहरुकै साहित्यबाट पनि थाहा हुन्छ। मगधलाई तत्कालीन वैदिकहरूले अपरान्त क्षेत्रका रूपमा लिएको पाइन्छ र मानसम्मान र दानदक्षिणा लाभ नहुने भएकाले त्यतातिर आँखा नलगाउनु भनिएबाट पनि यो कुराको अड्कल गर्न सकिएको हो। तर राजाबाट अपार धनसम्पत्ति पाएका प्रभावशाली ब्राह्मणहरूको उपस्थिति नभएको भने होइन।   

वैदिक सभ्यता भनूँ वा धर्मदर्शन, गौतम बुद्धभन्दा पुरानो जरुर हो। कुनै बेला यसको राप अत्यन्तै तेजिलो पनि थियो होला। तर सबै कुराको आरोह–अवरोह भइरहने कुरामा हेक्का राख्नु पर्दछ। गौतम बुद्धअघि नै वैदिक सभ्यता ओरालो लागिसकेको अवस्था थियो। यो सभ्यतामाथि प्रश्न उठाउने वा चुनौती दिने पहिलो व्यक्ति गौतम बुद्ध थिएनन् पनि। उनीभन्दा केही वर्षले जेठा वर्धमान महावीरले वैदिक धर्मदर्शनलाई प्रहार गरिसकेका थिए। चार्वाक लगायतका भौतिकवादी दर्शनहरूको प्रहार त पुरानै भयो। बाह्य रूपमा चुनौती दिने यी मतवादकाबाहेक वैदिक समाजभित्रै पनि आन्तरिक असन्तुष्टि वा विद्रोहले घर गरिसकेको अवस्था थियो। वैदिक धर्मदर्शनमा निहित यज्ञको अभ्यास सुरुमा सरल थियो होला तर कालान्तरमा बढी खर्चिलो, विकृतिपूर्ण बन्दै गएको पाइन्छ। यसले समाजलाई विषमताको वातावरणमा धकेलेको थियो। परम्परागत वैदिक व्यवस्थाका विरुद्ध वैदिक समाजभित्रै उठेको एउटा मतवाद ‘भागवत्’ पनि हो। भागवत्हरू यज्ञलाई किन्चित पनि ठाउँ दिँदैनन् जब कि वैदिक सभ्यतामा यज्ञको प्रधानता छ। यही कुरालाई लिएर परम्परागत वैदिकहरू भागवत्सँग आक्रोसित थिए। भागवत्हरू गौतम बुद्धभन्दा केही सय वर्ष पुराना त हुन् तर यसले व्यापकता लिइसकेको थिएन। यो सम्प्रदाय वैष्णवका नामबाट पनि चिनिन्छन्।

गौतम बुद्धको मतवादमा वैदिक ब्राह्मणहरूको पनि व्यापक प्रवेशले बौद्ध धर्मको साम्राज्य दिन दुई गुणा र रात चौगुनाका दरले फैलिरहेको थियो। जर्जर हुन थालेको वैदिक मतवाद बुद्धको बेलामा ढलपलको अवस्थामा थियो र बुद्धलाई तुलनात्मक रूपमा सजिलो हुन पुगेको मान्न सकिन्छ।

भारतवर्षमा बौद्ध धर्मको अवस्था पनि सँधै उस्तै रहेन। मौर्य वंशका दशौं राजा बृहद्रथ (शासनकाल इ.पू. १८८–१८५) को हत्या गरी शासनमा आएका सेनापति पुष्यमित्र सुंगको उदयपछि मात्रै बौद्धधर्मले राजाश्रय गुमाएको जस्तो गरी वर्णन गर्ने प्रचलन पाइन्छ तर कुरा त्यस्तो होइन। मौर्यवंशमा दश जना राजामध्ये तेस्रो राजा अशोक मात्रै बौद्ध धर्मका सवालमा उल्लेखनीय हुन्। पुष्यमित्रको हातमा शासनको बागदोर आएपछि बौद्धधर्ममाथि व्यापक रूपमा दमन गर्न थालिएको भने पक्कै हो तर निमिट्यान्न नै पार्न सकेको भने थिएन। यस कालमा भागवत धर्मले विकास गर्ने मौका पायो। सुंगकालको अवधि ११२ वर्ष मात्रै थियो। यसै बीच वैदिकहरूले धेरै काम गरेको पाइन्छ। समयको प्रवाहमा हिँड्ने कलामा यो समुदायमा निपुण देखिन्छ। तर, समयको प्रवाहलाई आत्मसात् गर्ने क्रममा गरेको आन्तरिक सुधारका वैदिक पहिचानभन्दा अलि टाढिन पुग्यो। वैदिकहरूको पहिचान वेद हो। वेदमा निर्दिष्ट कतिपय विधिविधानलाई सुधारका क्रममा छाड्नु प¥यो। अनेकौं पुराण तथा साहित्यहरूको सिर्जना गरेर अगाडि बढ्ने क्रम भने रोकिएन। वैदिक समाजमा कुनै बेला गाईगोरु काटेर मासु खानुलाई प्रतिष्ठाको विषय ठानिन्थ्यो। यज्ञमा हवन गोरुको पनि गरिन्थ्यो। यज्ञमा मान्छेलाई हवन गर्दा वाचन गरिने ऋचा नै पनि पाइन्छ तर मान्छेलाई नै हवन गर्ने परम्परा लामो समय टिक्न सकेन। पशुबलि प्रथा त अचाक्ली नै थियो।

बुद्धको समयमा वैदिकहरू पशुबलिकै कारण पनि बौद्धहरूद्वारा निन्दित थिए। बौद्धलगायत अन्य धर्मसम्प्रदायबाट नराम्रो चोट पाइसकेको वैदिकलाई अन्य धर्मसम्प्रदायमा विलय हुने वा सुधारसहित अस्तित्व बचाउने दुईमध्ये एउटा बाटो अपनाउनु पर्ने अवस्था आइपर्दा दोस्रो विकल्प लिएको भन्न सकिन्छ। तर यो सुधार कार्य यति चतु¥याइ र तार्किकपूर्ण भयो कि, ‘अहिंसा परमोधर्म’ भन्ने जैन र हिंसालाई पाप मानी त्यस कर्मबाट विरक्त रहन जोड दिने बौद्ध धर्म नै जिल्लिनु प¥यो। आफ्नो सम्प्रदायलाई अझ परिष्कृत र पोषित गर्ने मौका पनि पाए। कतिसम्म भयो भने, जैन र बौद्ध आदर्शलाई अपनाएर उल्टो उनीहरूलाई नै सिकाउने तरिकाले विभिन्न साहित्यको सिर्जना गर्नुका साथै त्यसलाई समाजमा व्यापकमात्रामा स्थापित पनि गरे। यस अर्थमा बौद्ध धर्मलाई हिन्दूधर्मभन्दा पृथक दृष्टिले हेर्न नसकिने मन्तव्य राख्नेलाई हेक्का हुनुपर्दछ, सुरुमा यो पृथक् नै थियो। विकास क्रममा हिन्दू धर्म जैन र बौद्धबाट निकै मात्रामा प्रभावित हुनपुग्यो र अन्ततः आफ्नो पुरानो स्वरूप छाडेर नयाँ स्वरूप ग्रहण गरेको हो।

हिन्दू नामको कुनै धर्म नै नभएको वा फारसीहरूले सिन्धु शब्द उच्चारण गर्दा हिन्दू हुन पुगेको जिकिर तथ्यगत आधारमा सही भए पनि इतिहास तथा दर्शनको धरातलमा तर्कसंगत छैन। वैदिक नामको धर्मले सँधै यही एउटा मात्र नाम ग्रहण गरेको पाइँदैन। समयक्रममा सनातन, ब्राह्मण आदि नाम ग्रहण गरेको पाइन्छ। जैन र बौद्धबाट प्रभावित भई नयाँ स्वरूप ग्रहण गरिसकेको अवस्थामा व्यवहारका लागि एउटा नाम त चाहियो, र यस अवस्थामा त्यसलाई हिन्दू धर्म भन्नु उपयुक्त नै देखिन्छ। किनभने नयाँ नाम भए पनि यसले आफूलाई वैदिक इतिहाससँग नै जोड्छ।  

बौद्ध र हिन्दू दुई धर्मका सम्बन्धमा सदैव ध्यानमा राख्नु पर्ने कुरा यसको मौलिकता हो। जैन र बौद्धबाट प्रभावित भएर आफूलाई बेग्लै रूपमा विकास गरेको भए पनि वेदको मुख्य दार्शनिक आधारलाई यसले छाडेको पाइँदैन। यसका लागि ब्रह्म, आत्मा, परमात्मा आदि विषयवस्तु अत्यन्तै प्यारो कुरा हो र यी कुराबाट विचलित भएका पाइँदैन। यज्ञ, वर्ण, वर्णाश्रम तथा जातीय व्यवस्था उनीहरूको अर्को प्रिय कुरा हो र यसलाई पनि भरसक  कायमै राख्न खोज्छन्। यसको प्रशंसा पनि गर्दछन्। तर, बौद्ध धर्मबाट प्रभावित भएको कुरालाई लुकाएर यसको विपरीत हिन्दूबाट बौद्धधर्म प्रभावित भन्ने सन्देश प्रवाह गर्छन्। अझ हिन्दू धर्मकै एक शाखाको रूपमा पनि चिनाउने पनि प्रयास गर्दछन्। तर, यसबाट हुने आपत्ति दोषबारे गम्भीर नभएको देखिन्छ। बौद्धहरूको मूल दार्शनिक आधार, अनित्य, दुःख, अनात्मा, कार्यकारण तथा प्रतीत्य समुत्पादजस्ता अवैदिक दर्शन हो र बौद्ध जगतले यसलाई त्यागेको छैन। तैपनि बौद्ध धर्म हिन्दूभन्दा पृथक नभएकोमा  अडिग रहने हो भने वैदिकले ब्रम्ह, आत्मा, परमात्मा आदिको नित्यताजस्ता मूलभूत दर्शनको परित्याग गरेर कहिले गौतम बुद्धको मतवादमा समाहित भयो भन्ने प्रश्न उठ्ने हुन्छ जब कि आफ्नो  मूलभूत दर्शन यी दुवै धर्मले छाडेको छैन।

हिन्दू धर्मदर्शनमा ईश्वरवादी र अनिश्वरवादी दुवै छन् भने बौद्ध धर्मदर्शनले यसलाई आफ्नो विषयवस्तु नै ठान्दैन। पूर्वजन्म तथा पुनर्जन्मलाई दुवैले स्वीकार त गर्छन् तर बौद्धहरू आत्माको नित्यता तथा अवतारवादको कुरालाई ठाडै अस्वीकार गर्दछन्। यसबाट स्पष्ट हुन्छ, यी दुई धर्मबीच कति के कति कसरी फरक वा साम्यता देखियो।

प्रकाशित: २१ वैशाख २०७६ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App