१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरण भएन

अजिरकोट गाउँपालिका कार्यालय। तस्बिरः नागरिक

गोरखा–अजिरकोट र सिरानचोक गाउँपालिकाले ६ महिनायता सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेका छैनन्। गाउँपालिकाकाले बजेट अभाव, कर्मचारी नहुनु, वडा सचिव विहीन हुनु, बैंक समयमै गाउँ नजानु, सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा नभएका जस्ता कारण देखाउँदै वितरण हुन नसकेको जनाएका छन्।

‘सामाजिक सुरक्षा भत्ता रकम बैंक खातामा राख्ने नियम रहेकाले खाता खोल्ने क्रम चलिरहेको छ,’ सिराञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुँवरले भने। अपांगता भएका, एकल र ज्येष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकले वडावडामा पुगेर सबैको खाता नखोलेकाले समस्या भएको उनले बताए।

वडावडामा पुगेर बैंकका कर्मचारीले खाता खोलिरहेका छन्। ‘जेठको पहिलो साताभित्र खाता खोलिसकिएन भने दुवै चौमासिकको एकैपटक भत्ता दिन्छौं,’ प्रमुख प्रशासकीय अधिकृत कुँवरले भने। बैंकले खाता खोल्ने प्रक्रियामा ढिलाइ गर्दा समस्या भएको गाउँपालिकाको भनाइ छ।

राष्ट्र बैंकले हरेक स्थानीय तहमा एक/एक वटा बैंक जान निर्देशन गरे पनि ढिला गरी बैंक गएको, खाता खोल्न, तथ्यांक संकलनमा धेरै समय लगाएका कारण समस्या भएको गुनासो जनप्रतिनिधिको छ।

अजिरकोट गाउँपालिकामा भने एकैपटक सबैलाई भत्ता निकासा गर्ने रकम नआउँदा समस्या भएको जनाइएको छ। गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले सबैलाई वितरण गर्दा भत्ता रकम अपुग हुने भएपछि थप रकम निकासा भएपछि दुवै चौमासिकको एकै पटक वितरण गर्ने योजना रहेको बताइन्। गाउँपालिकाले घरघरै पुगेर भत्ता दिने भन्दै उनले कर्मचारी समायोजन भएर आउने जाने क्रमले असर परेको बताइन्।

जनप्रतिनिधिले चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिएपनि अहिले बैंकसम्म धाउनुपर्ने बाध्यता छ।

वृद्धवृद्धाहरूले भने समयमै भत्ता नपाएपछि सामाजिक सुरक्षाबापतको रकम नपाइने हो कि भन्ने गुनासो गर्न थालेका छन्। जनप्रतिनिधिले चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिएपनि अहिले बैंकसम्म धाउनुपर्ने बाध्यता छ। उक्त रकम घरघरै दिने व्यवस्था गरिदिन ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले अनुरोध गरे।

‘नगरपालिकाभित्रको टाढाको वडाबाट सदरमुकाम आउनुपर्छ, गाउँपालिकामा भनै दिनभरि लगाएर आउनुपर्छ, अपांगता भएकाहरूलाई समस्या भएको छ,’ उनले भने,  ‘बैंक होइन, घरमै पुगेर हातमै भत्ता दिने व्यवस्था गर्नुपर्छ।’

प्रकाशित: २१ वैशाख २०७६ ०५:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App