१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सन्तानले नहेरेका आमाको औँशी

काठमाडौं - आज मातातीर्थ औँशी। बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो। यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइ रहेका थिए।

देवघाट समाज कल्याण आश्रममा पुग्दा त्यहाँ आश्रित आमाहरु बाटोतिर हेरेर आफ्ना सन्तानको खोजी गरिरहेको महसुस हुन्थ्यो। ती आमाहरुका लागि खान र बस्न कुनै समस्या भने छैन। आफ्ना सन्तान भएर पनि नभएर पनि आश्रित हुन पुगेका आमा यस्ता चाडपर्वमा निकै नरमाइलो मान्ने गर्दछन्।

आश्रम हेर्दै आएका देवघाट क्षेत्र विकास समितिका कर्मचारी ढकराज कोइराला चाडपर्वका बेला बाआमा दुवैले सन्तानको सम्झनामा निकै नरमाइलो महसुस गर्ने गरेको बताए। पर्वका बेला दाताले फलफूल र मीठा मीठा खाना बोकेर आउने भए पनि वृद्धवृद्धाले आफन्तको सम्झनामा मुख निन्याउरो गरेको पाइन्छ।

त्यहाँ रहेका कतिपयको सन्तान भएर पनि बेवास्ता गर्दा आश्रमसम्म आइपुगेका छन् भने कतिपयका आफ्ना सन्तान छैनन्। सन्तान भएका वृद्धा घरबाट आमाको मुख हेर्न आउँछन्की भन्ने ठूलो आशामा रहेका हुन्छन् तर कोही नआएपछि उनीहरु निराश हुने गरेको कोइराला बताउँछन्।

त्यहाँ आश्रित भरतपुर महानगरपालिका–११ घर भएकी ८३ वर्षीया शिवकुमारी शर्माले आफ्नो वेदना गीतको भाकामा सुनाइन्।

    ‘सेरोफेरो केही छैन मेरो
    जता हे¥यो उतै छ अधेरो’

शर्मा तनहुँको देवघाटमा रहेको देवघाट समाज कल्याण वृद्धाश्रममा विगत पाँच वर्षदेखि बसोवास गर्दै आएकी छन्। आज मातातीर्थ औँशी (आमाको मुख हेर्ने दिन) शहर बजारमा सबैका घरघरमा छोराछोरीले आमालाई मीठो मसिनो खुवाएर खुशीका साथ राखी रहेका छन् तर देवघाटमा रहेका आफूजस्ता वृद्धालाई के चाडपर्व के मीठो मसिनो उनले प्रश्न गरिन्। “ यहाँ हामीलाई सँधैं एकैनास हुने गरेको छ ”, उनले पीडा सुनाइन्।   

छोरा बुहारीसहित भरतपुर महानगरपालिका–११ मा बस्दै आएकी शर्माको एउटा छोरा काठमाडौँमा बस्छन्। जेठो छोरासँग भरतपुरमा बस्दै आएकी शर्मा  आज त छोरो आउँछ कि भन्ने आशमा बाटोतिर हेर्दै थिइन्।

लमजुङ घर भएकी कृष्णमाया अधिकारीका आँखा छोरी लिन आउँछे कि भन्दै सडकतिर दौडिरहेका थिए। भरतपुर महानगरपालिका–७ मा उनकी छोरी बसोबास गर्छिन्। श्रीमान्ले अर्की श्रीमती ल्याएसँगै उनी एकलो भइन्। छोरीको बिहे गरेपछि काम गर्न नसकेर यहाँ आएको बताउने अधिकारी ११ वर्षदेखि यही आश्रममा बस्दै आएकी छन्। छोरीमात्रै भएकाले आउँछे कि भन्ने आशमा उनी बाटोतिर हेर्दै थिइन्। चाडपर्वको समयमा भेट्न आए पनि आफ्नो अत्यार मेटिने उनले बताइन्।

सिन्धुलीकी लक्ष्मीमायाँ श्रेष्ठलाई भने छोराले यहाँ छ भन्ने थाहा नपाए हुन्थ्यो भन्ने भइरहेको रहेछ। घरमा सम्मानसाथ बस्ने वातावरण नभएपछि आश्रय खोज्दै यहाँ आई पुगेकी श्रेष्ठले मलिन अनुहार बनाउँदै यहाँ छु भन्ने थाहा पाए भने यहाँ पनि बस्न दिँदैनन् कि भन्दै थिइन्। ८५ वर्षीया श्रेष्ठ अहिले आनन्द भए पनि चाडपर्वमा छोराछोरी र घरपरिवारको याद आइरहने बताउँछन्।

पर्वत कार्किनेटाकी जानकी पौडेल आफ्नो सन्तान नभएकाले दुःख पाएको बताउँदै आफ्नो भाग्यमा नभएपछि चाडपर्व खल्लो हुने बताइन्। आफ्नो कोख बाँझै रह्यो उनले भनिन्, “मातातीर्थ औँशी मेरा लागि कहिल्यै आउँदैन।” “सन्तान हुनेले त आश्रममा बस्नुपरेको छ हाम्रो त झन कोही छैन”, उनले गुनासो गरिन्। सबैका घरमा रमाइलोका साथ बसेका बाबुआमा देख्दा आफूलाई धिक्करा लाग्ने भन्दै उनले चाडपर्व आउनुभन्दा नआएकै वेसजस्तो हुने बताइन्।

एक सय तीन वर्षीया उमादेवी खनाल काठमाडौँमा काम गर्न नसके पछि यही आश्रममा आश्रित छन्। सात वर्षको उमेरमा विवाह भएको पहिलो वर्षमानै श्रीमान् बितेसँगै उनको जीवन बेवारिसे बन्यो। विगत नकोट्याउन आग्रह गर्दै उनले यस्ता पर्वमा मन खुशी नहुने बताइन्।

अहिले देवघाट क्षेत्र विकास समितिको कार्य क्षेत्रभित्र तीन वटा आश्रम रहेका छन्। जहाँ १२० भन्दा बढी वृद्धवृद्धा बस्दै आएका छन्। तीमध्ये ६० प्रतिशत वृद्धा रहेको क्षेत्र विकास समितिले जनाएको छ। रासस

प्रकाशित: २१ वैशाख २०७६ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App