१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

अन्तर्राष्ट्रिय ‘एम्बुस’

अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र बुझ्न गाह्रो हुँदै गएको छ। अमेरिकाले दोस्रो विश्वयुद्धपछि युरोपको पुनर्निर्माण गरिदिन्छौँ भन्दै ‘मार्सल प्लान’ ल्याउँदा कैयन् बुद्धिजीवीले आशंका व्यक्त गरेका थिए। दक्षिण एसियामा चीनले चासो बढाएपछि अमेरिकाले ‘एसिया–प्यासिफिक’ भनिने रणनीतिक महत्वको ठूलो क्षेत्रलाई ‘इन्डो–प्यासिफिक’ भन्न थालेको छ।

क्वालालम्पुरमा रहेको ‘एपिडिसी’ (एसिया–प्यासिफिक डेभलपमेन्ट सेन्टर) कुनै बेला नेपालीको कमान्डमा थियो। त्यसका निर्देशक डा. हर्क गुरुङ थिए। महाराजगन्जको प्रहरी अस्पतालनजिक उनकै निवासमा झन्डै २० वर्षपहिले पंक्तिकारसँग कुरा गर्दै डा. गुरुङले एपिडिसीमा २२ राष्ट्र समेटिएको बताएका थिए।

हाम्रै कारण देश साउथ सुडान वा सोमालिया बन्ने हो कि भन्ने चिन्ता बढ्दै छ। दुर्घटनाबाट बच्ने र भविष्य सुरक्षित गर्ने एउटै उपाय छ– राष्ट्रिय एकता।

श्रीलंकाले चीनलाई सन् २०१७ मा हम्बनटोटा बन्दरगाह सञ्चालन गर्न दियो। त्यसको प्रमुख कारण भारत र पश्चिमा राष्ट्रको मनोवैज्ञानिक भय थियो। बितेका १२/१३ वर्षमा अफ्रिकामा चीनले १ सय ४३ अर्ब डलर लगानी गरेको पाइएको छ। गोराहरूले धेरै वर्षसम्म सताएका कारण अफ्रिकीहरू चीनप्रति भरोसा गर्न थालेका छन्। नेपालमा पनि भारतप्रति त्यस्तै मनोविज्ञान बिम्बित हुने गरेको पाइन्छ। भारत भनेको साना छिमेकीलाई हेप्ने, चिमोट्ने, मिच्ने, सताउने, थर्काउने र सिक्किमलाई झैँ ‘कप्लक्क’ निल्न खोज्ने अजिङ्गर ठान्छन्, नेपाली। ‘अघोषित नाकाबन्दी’ भनिएको दादागिरीले भारत नेपालमा झन् बद्नाम भयो। २०४५ सालमा १५ महिना नेपालमा आर्थिक नाकाबन्दी गरेर भारतले सताएको कुरा युवापुस्ताले कताकता सुनेका मात्र थिए, तर नरेन्द्र मोदीको शासनकालमै त्यो दादागिरी नयाँ आवरणमा देखियो। ‘मधेशवादी’ भन्न रुचाउने नेपालका लेन्डुप प्रवृत्तिका नेताहरूलाई दिल्लीले ‘इस्तेमाल’ ग¥यो।

डुब्न लागेकोे मानिसलाई घाँसको त्यान्द्रो पनि सहाराजस्तो लाग्छ भनेझैँ अफ्रिकी राष्ट्रहरू ‘चीनपरस्त’ हुँदै जानुमा उनीहरूको अभाव र पश्चिमी राष्ट्रको दबाब नै प्रमुख कारक तत्व देखियो। अन्तर्राष्ट्रिय मुद्राकोषले १७ अफ्रिकी राष्ट्र गम्भीर आर्थिक संकटमा परिरहेको विश्लेषण गरेको छ। झन्डै ३० वर्षपहिले जर्मनी विभाजित रहेको अवस्थामा कम्युनिस्ट कित्तामा उभिएको पूर्वी जर्मनीका सैनिकहरूले तलब नपाएपछि बन्दुक बेचेर खाए भन्ने खबर आएको थियो। राष्ट्र, आर्थिक रूपले जर्जर हुँदै गएमा जनताले ठूलो कष्ट सहनुपर्छ। नेपालमा आज उच्च पदमा बस्नेहरू ‘लुटको धनमा फुपुको श्राद्ध’ गरिरहेका छन्। अर्थतन्त्र तरल र भयावह छ भन्दै सत्तारुढ दलका निकट अर्थशास्त्रीहरू नै स्वीकार गरिरहेका छन्। धोती च्यातेर रुमाल बनाएजस्तो सात÷सातवटा राजधानी र उनीहरूको खर्च चलाउन विदेशीसँग हात थापिरहेको छ, सरकार।

बितेका १२ वर्षमा भेनेजुयलालाई चीनले ६७ अर्ब अमेरिकी डलर ऋण दिएको विश्वका प्रमुख सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यस्तै, बितेका १४ वर्षमा चीनले दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा १ सय ४० अर्ब अमेरिकी डलर लगानी गरेर ‘हाम्रा आँखा साना छन्, तर दिल ठूलो छ’ भन्ने पुष्टि गर्न खोजेको देखिन्छ। प्रकारान्तरले त्यो ऋण नै हो, तिर्न नसकेपछि त्यो एम्बुस (पासो) बन्छ। ऋणको पीरले कैयन् मानिसले हाम्रै समाजमा आत्महत्या गरेका छन्। भेनेजुयला प्रशस्त पेट्रोलियम पदार्थ भएको राष्ट्र हो। त्यसैले साउदी अरब, इराक, लिबिया वा सुडानमा झैँ पश्चिमा राष्ट्रहरूले अर्थशास्त्र र राजनीतिशास्त्र घोलेर तेलका निम्ति खेल खेले त्यहाँ।

‘नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रह्या छ’ भनेका छन्, पृथ्वीनारायण शाहले। दुई ढुंगा धेरै नजिक हुँदा तरुल चेप्टिन्छ। ती ढुंगा टाढिँदा पनि तरुललाई खतरा हुन्छ। चन्द्र शमशेर प्रधानमन्त्री भएकै बेला जापानका ‘भिक्षु’ इकाइ कावागुचीले नेपालको अनुमति लिएर १ सय १५ वर्षपहिले तिब्बत भ्रमण गरेका थिए। उनको ‘थ्रि इयर्स इन् टिबट’ पुस्तकमा आद्योपान्त वर्णन छ। यङ्हस्वेन्डको टोलीलाई तिब्बत भ्रमण गर्ने वातावरण बनाइदियो नेपालले। भारतमा शासन गरिरहेका अंग्रेजसँग मित्रवत् व्यवहार गर्ने तर नेपालमा ढलीमली गर्न नदिने कूटनीतिले काम गरेको देखिन्छ। नेपाल कुनै पनि बेला एम्बुसमा पर्नसक्छ भन्ने कुरा पृथ्वीनारायण शाहदेखि महेन्द्र तथा राजा वीरेन्द्रसम्मले पहिले नै आकलन गरिसकेका थिए। सोहीअनुसार उनीहरूले कूटनीति अघि बढाए। नेपालमा अमेरिकाले खम्पा विद्रोह चर्काउँदा राजा वीरेन्द्रले खम्पाहरूलाई आपसमा विभाजन गराएर अमेरिकी गुप्त रणनीतिलाई समेत असफल तुल्याइदिएको पाइन्छ।

नेपाल आज चीन, अमेरिका, भारत र युरोपको चासो र षडयन्त्रको केन्द्र बन्नाका पछाडि यो भूखण्डमा बसेर चारैतिर दुर्बिनले हेर्ने रहर मात्र होइन, इतिहासमै सबैभन्दा कमजोर कालखण्ड बनेको मौका छोपर आफ्ना स्वार्थ पूरा गर्ने कुत्सित अभिप्राय पनि देखिन्छ।

घरेलु राजनीति प्रदूषित, कोलाहलमय र अस्थिर भइरहेमा राष्ट्र एम्बुसमा पर्ने सम्भावना अरू प्रबल हुन्छ। नेपाल आज चीन, अमेरिका, भारत र युरोपको चासो र षडयन्त्रको केन्द्र बन्नाका पछाडि यो भूखण्डमा बसेर चारैतिर दुर्बिनले हेर्ने रहर मात्र होइन, इतिहासमै सबैभन्दा कमजोर कालखण्ड बनेको मौका छोपर आफ्ना स्वार्थ पूरा गर्ने कुत्सित अभिप्राय पनि देखिन्छ।

खुला सिमाना रहेको, कुनै कडा र व्यवस्थित सुरक्षा नभएको र आफ्नै बारी बेचिएको चाल नपाउने शासक–प्रशासकहरू भएको माटोमा कहिले दक्षिणका छिमेकी घुस्ने गर्छन्, कहिले लिपुलेकजस्ता हाम्रा डाँडामा चीन–भारत मिलेर पसल थाप्ने सल्लाह गर्छन्। ‘बिआरआई’ झन्डा बोकेर चीनले विश्व यात्रामा प्रस्थान गर्न खोजेको छ। अमेरिकाले नेपालको हिमालयबाट दक्षिणतिर प्रवेश गर्नै नदिन भारतलाई समेत उकासिरहने रणनीति लिएको देखिन्छ, ‘इन्डो–प्यासिफिक’ ढालमार्फत। यही बुझेर चीनले हालै भारत र बंगलादेशसम्म सडक मार्ग फैलाउने परियोजना रद्द गरेको छ। सिंहदरबार विदेशी गुप्तचरहरूको गुँड बन्दैछ। सरकारी तलबभत्ताभन्दा विदेशी दानापानी प्रिय लाग्छ, धेरै उच्चपदस्थ कर्मचारी र राजनीतिज्ञलाई। त्यसैले पुराना सबल संयन्त्र भत्काएर उनीहरू नवनिर्माणका नाममा राष्ट्रलाई धुलोपीठो बनाइरहेका छन्। राष्ट्र जलाएर खरानी बेच्न खोजिरहेका छन्।

पुराना कम्युनिस्ट नेता हिक्मतसिंह भण्डारीले २०१९ वैशाख ४ गते (१६ अप्रिल, १९६२) सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन बनारसको मयरगन्जमा भारतकै सहयोगमा भएको उल्लेख गरेका छन्। यसअघि दरभंगा प्लनेम बिहारमा भएको थियो। नेपाली कांग्रेसको राजधानी पनि कलकत्ता र बनारस नै थियो। भारतमै जन्मिएको नेपाली कांग्रेसको भारतप्रेम जगजाहेर नै छ। यसरी बाल्यकालदेखि आजसम्म पनि नेपालका ठूला दल विदेशी शक्तिमै आश्रित रहेकाले नेपालको राष्ट्रिय सुरक्षाप्रति उनीहरू त्यति संवेदनशील देखिदैनन्। जनता यस्तो व्यवहारप्रति घृणा व्यक्त गर्छन्, गरिरहेकै छन्। गाउँघरमा एउटा लोकगीत प्रसिद्ध छ– ‘नानीदेखि लागेको बानी, सिस्नुपानी लाएनि नजानी ..।’ आँखा चिम्म गरेर निदाएझैँ गरिरहेका छन् आज पनि राजनीतिक दलहरू। साना दल बेलाबखत उफ्रिन्छन् तर उनीहरूबारे जनधारणा छ – ‘बोकाले दाईँ गर्दैन।’
२०१५ सालको प्रथम आमनिर्वाचनमा नेपाल कम्युनस्टि पार्टीले संसदमा ४ सिट मात्र जितेको थियो। पाल्पाका कमलराज रेग्मी, रौतहटका हरदयाल महतो र  शेख फर्मान तथा ललितपुरका तुलसीलाल अमात्य विजयी भएका थिए। कमलराज र तुलसीलालसँग भेट्ने मौका मिल्यो, पंक्तिकारलाई। उनीहरू भन्थे– ‘उहिले हामी सिद्धान्तको राजनीति गथ्र्यौं, अब त्यो हरायो।’

नेपाली कांग्रेसबाट २०१५ सालको चुनाव जितेका श्रीभद्र शर्मा (तनहुँ), मीनबहादुर गुरुङ (कास्की), रुद्रप्रसाद गिरी (महोत्तरी), काशीनाथ गौतम (अर्घाखाँची) र राजाबाट महासभामा मनोनित सांसद छिरिङ तेन्जिङ लामा (सोलुखुम्बु) तथा मातृकाप्रसाद कोइराला (मोरङ) आदिसँग कुरा हुँदा उनीहरूले पनि तर्क गरे– ‘प्रारम्भमा जे जति गल्ती भए, त्यसबाट दलहरूले पाठ सिक्नुपथ्र्यो। तर सिकेनन्।’

दलहरूसँग ‘चुनाव जित्न चाहने’ बाहेक अरू स्पष्ट मार्गचित्र देखिएन आज। राष्ट्र बलियो बनोस् भन्ने चाहेका भए बितेका १२–१३ वर्षमा नेपाल विदेशीको एम्बुसमा पर्ने थिएन। तसर्थ राष्ट्रको बागडोर सम्हाल्नेहरू नै इमान्दार, स्वाभिमानी र साहसी छैनन् भन्ने पुष्टि भइसकेको छ। मोरक्कोमा सन् ८५९ मा विश्वविद्यालय बनेको थियो भनेर इस्लामावादमा भेटिएका एकजना पत्रकारले सुनाएथे, उनको देशको गाथा। प्राचीन राष्ट्र ग्रीस, जापान, चीन, ब्रिटेन, फ्रान्स, इरान, इथियोपिया, डेनमार्क, पोर्चुगल आदिझैँ नेपालको इतिहास पनि धेरै पुरानो छ। सभ्यता–संस्कृति प्राचीन मानिन्छ हाम्रो। तर हाम्रै कारण देश साउथ सुडान वा सोमालिया बन्ने हो कि भन्ने चिन्ता बढ्दै छ। दुर्घटनाबाट बच्ने र भविष्य सुरक्षित गर्ने एउटै उपाय छ– राष्ट्रिय एकता। जबसम्म दल, जात वा क्षेत्रका आधारमा हामी विभाजित भइरहन्छौं, तबसम्म न राष्ट्र सुरक्षित रहन्छ, न सुख र समृद्धि नै सम्भव छ।

प्रकाशित: २० वैशाख २०७६ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App