१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इन्जिनियरहरुलाई विशिष्टताको प्रमाणपत्र गरिने

काठमाडौं - नेपाल इन्जिनियर काउन्सिलले विभिन्न क्षेत्रमा न्यूतम दुई दशकदेखि कार्यरत नेपाली इन्जियिनरहरुका क्षमताको प्रमाणीकरण गरी विशिष्टताको प्रमाणपत्र उपलब्ध गराउने भएको छ। काउन्सिलले देश विदेशका विभिन्न क्षेत्रमा इन्जिनियरिङ विज्ञ आवश्यक हुँदा सहजै उपलब्ध गराउनसक्ने लक्ष्यसहित लामो सयम आप्mनो क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई प्रोफेसनल इन्जिनियरिङ (पि–इन्ज)को उपाधि उपलब्ध गराउने जनाएको छ। स्वदेश तथा विदेशमा नेपाली इन्जिनियरहरुको विभिन्न क्षेत्रमा माग बढ्दै गएकाले काउन्सिलले इन्जिनियरहरुको विषय विज्ञताको प्रमाणपत्र उपलब्ध गराउने कार्य सुरु गरेको काउन्सिलका रजिष्ट्रार खेमराज जोशीले बताए। हाल काउन्सिलले पहिलो चरणमा १३ इन्जिनियरलाई पि–इन्जको प्रमाणपत्र प्रदान गरेको उनले बताए।

नेपाल रेल विभागमा कार्यरत इन्जिनियर अमन चित्रकारले आप्mनो नामको अगाडि इन्जिनियर र पछाडि पिइन्ज नेपाल जोडिएपछि कार्यक्षेत्रमा महत्व बढेको बताए। व्यवसायिक रुपमा काम गर्ने इन्जिनियरहरुको नामको पछाडि पिइन्ज थपिने अन्तर्राष्ट्रिय व्यवस्था छ। ‘पि–इन्ज टाइटल प्राप्त गरेका इन्जिनियरहरुले ठूला आयोजनाहरुमा सिफारिस गर्दा महत्वपूर्ण मानिन्छ,’ चित्रकारले भने, ‘पि–इन्ज प्रमाणपत्र प्राप्त गरेका इन्जिनियरहरुलाई आयोजनामा आवश्यक मानवस्रोत, सामग्री, बजेट, सामग्रीको गुणस्तरलगायतका व्यवस्थापनमा राम्ररी ज्ञान भएको हुन्छ,’ उनले थपे, ‘त्यही भएर पि–इन्ज होल्डरले देशविदशेमा सिफारिस हुनु महत्वपूर्ण मानिन्छ।’ अर्का इन्जिनियर अर्जुन कोइरालाले पनि सिभिल इन्जिनियर क्षेत्रमा पि–इन्जको उपाधि प्राप्त गरेपछि काम गर्ने हौसला बढेको बताए। २९ वर्षदेखि सिभिल इन्जिनियरका रुपमा कार्यरत उनी भन्छन्, ‘पि–इन्जले भर्खर इन्जिनियर पास गरी काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका र लामो समयदेखि कार्यरतबीच सिमाना कायम गर्यो। इन्जिनियरहरुलाई विषय विज्ञताको उपाधिको प्रमाणपत्रले व्यावसायिक रुपमा बल पुग्छ।’

काउन्सिलका रजिष्ट्रार खेमराज जोशीका अनुसार हालसम्म काउन्सिलमा दर्ता भएका कुल ४७ हजार ३ सय ७३ इन्जिनियर छन्। सबैभन्दा बढी सिभिलका छन्। सिसभलमा १९ हजार ९ सय ५३ काउन्सिलमा दर्ता छन्। ‘नेपालमा इन्जिनिरिङ क्षेत्रमा व्यवसायिक इन्जिनियरहरु छन् भन्ने प्रमाण हो यो उपाधि,’ रजिष्ट्रार जोशीले भने, ‘राज्यलाई पनि कुन क्षेत्रमा कुन विज्ञ आवश्यक छ। काउन्सिलसँग सम्पर्क गर्ना साथ त्यो विषयका विज्ञ उपलब्ध गराउन सकिने भयो। पहिलो चरणमा २० वर्ष अनुभवप्राप्त इन्जिनियरहरुलाई पि–इन्ज उपाधि दिइएको हो। पहिलो चरणमा विदेशी विज्ञलाई बोलाएर नेपाली इन्जिनियरहरुको अन्तरवार्ता लिइयो र विज्ञताको उपाधि दिइयो। अब अर्को चरणको उपाधिका लागि नेपाली पि–इन्जधारी इन्जिनियरहरुले नै अन्तरवार्ता लिनु हुन्छ। यसका लागि तालिम सञ्चालन गरिरहेका छौं।’ पहिलो चरणमा कम्तीमा २० वर्ष कार्य क्षेत्रमा काम गरेका विभिन्न क्षेत्रका इन्जिनियरहरु शम्भु केशी, कमलकुमार केसी, अर्जुन कोइराला, विजयराज उपाध्याय, चन्द्र खत्री, तारा पुरी, डिल्लीरमण निरौला, भगवानरत्न कंसाकार, विकाशबहादुर श्रेष्ठ, सागरकृष्ण जोशी, दीलिपकुमार गौतम, अमन चित्रकार र माधवनारायण श्रेष्ठलाई पि–इन्जको उपाधि प्रदान गरिएको छ।

प्रकाशित: २० वैशाख २०७६ ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App