१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टोटेनह्याम अयाक्सँग स्तब्ध

लन्डन – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा मंगलबार अयाक्ससँग १–० ले स्तब्ध भएसँगै टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले टोली स्वाभाविक लयबाट चुकेको प्रतिक्रिया दिएका छन्।

पहिलो हाफमा डोनी भान डी बेकले गरेको गोलमा अयाक्सले २३ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश सम्भावना बलियो पारेको थियो। टोटेनह्यामका लागि प्रमुख स्ट्राइकर ह्यारी केन र निलम्बनमा रहेका सन ह्युङ मिनको अनुपस्थिति महँगो  बनेको थियो।

‘हामीले स्वाभाविक लयको प्रदर्शन गर्न सकेनानाैं,’ पोचेटिनोले भने, ‘तर केन र मिनको अनुपस्थितिमा हामीसँग अन्य विकल्प पनि थिएन। खेलको सुरुआतबाटै दबाबमा खेल्दा खेलमा फर्कन कठिन बन्यो। हामीले पहिलो हाफमा सम्हालिएको प्रदर्शन गर्न सकेनौं।’

अन्तिम १६ मा साबिकको विजेता रियाल मड्रिडलाई निराश पारेको अयाक्सले क्वार्टरफाइनलमा युभेन्ट्सलाई स्तब्ध बनाउँदै अन्तिम ४ मा स्थान पक्का गरेको थियो।
१५औं मिनेटमा हाकिम जेइचको पासमा अनमार्क रहेका भान डी बेकले बललाई जाली चुमाउँदै अयाक्सलाई खेलमा अघि बढाएका थिए।

‘हाम्रा लागि आजको खेल र नतिजा अद्भुत रह्यो,’ अयाक्सका प्रशिक्षक एरिक टेन ह्यागले भने, ‘सुरुआतबाटै हामीले खेल पूर्ण रूपमा आफ्नो पक्षमा राख्याैं र गोल पनि गर्न सफल भयौं।’

२५औं मिनेटमा गोलकिपर ह्युगो लोरिसले टोटेनह्यामको संकट टारेका थिए। अयाक्सका भान डी बेकले गरेको प्रहार लोरिसले विफल पार्दै टोलीलाई खेलमा थप पछि पर्नबाट जोगाएका थिए। ‘हामीले आफ्नै गल्तीमा सहज गोल खायाैं,’ पोचेटिनोले थपे, ‘यसले हामी कति दबाबमा रहेर खेलिरहेका थियाैं भन्दै प्रस्ट पार्छ। खेलको सुरुआती ३० मिनेटपछि हामी बिस्तारै खेलमा फर्किने प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न नसक्दा नतिजा सुम्पिन बाध्य भयाैं।’
यसअघि नै केन र मिनको अुनपस्थिति खेपिरहेको टोटेनह्यामले पहिलो हाफमा यान भेर्टोघानलाई पनि चोटका कारण गुमाएको थियो

‘त्यो मेरो निर्णय थिएन,’ पोचेटिनोले भने, ‘त्यो चिकित्सकको निर्णय थियो। खेलाडीको स्वास्थ्य महŒवपूर्ण छ। खेलाडीको बारेमा चिकित्सकले निर्णय गर्ने हो र यसको सम्पूर्ण अधिकार उनीहरूमा छ।’ पहिलो हाफको अन्तिम मिनेटमा मौसा सिसिकोको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा टोटेनह्यामले खेलमा फर्कने अवसर गुमाएको थियो।
‘हामी दोस्रो हाफमा खेल आफ्नो पक्षमा राख्न सफल भएन पनि गोलको सुनौलो अवसर सिर्जना गर्दै खेलमा फर्कन भने असफल भयौं,’ पोचेटिनोले भने।

यता दोस्रो हाफमा दबाबमा परेको अयाक्स डेविड नेर्सको प्रहार पोस्टका लागेर फर्कंदा अग्रता बढाउन असफल भएको थियो। ‘हामीले सम्हालिएको प्रदर्शन गरेको भए दोस्रो हाफमा अग्रता बढाउन सक्थ्यौं,’ टेन ह्यागले भने, ‘अवे खेलमा १–० को नतिजा ल्याउनु सन्तोषजनक हो। यो जितले दोस्रो लेगका लागि टोलीको मनोबल बढाएको छ।’ टोटेनह्यामका लागि प्रमुख स्ट्राइकर ह्यारी केन र निलम्बनमा रहेका सन ह्युङ मिनको अनुपस्थिति महँगो  बनेको थियो।

प्रकाशित: १९ वैशाख २०७६ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App