१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश राजधानी मुद्दा : सत्तारुढ नेकपाको विवाद उत्कर्षमा

विराटनगर- प्रदेश नम्बर १ को स्थायी राजधानी तोक्ने विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ।  यो विवाद विराटनगरलाई राजधानी बनाउने कि नबनाउने भन्ने विषयमा आधारित छ। नेकपाका बहुसंख्यक सांसदले विराटनगरको विकल्प खोज्न भन्दै हस्ताक्षर संकलन सुरु गरेका छन्।

प्रदेशका मुख्यमन्त्री शेरधन राईसहितका मन्त्रीपरिषदका सदस्यहरु विराटनगरमै राजधानी राख्न दृढ छन् भने नेकपाका बहुसंख्यक सांसद विराटनगरको विपक्षमा छन्। बैशाख १९ मा संसदमा प्रस्ताव लैजाने र २२ गतेभित्र नाम र राजधानी टुंग्याउने गरी तयारी सुरु भएलगत्तै नेकपाभित्रको विवाद चुलिएको हो। यद्यपि सांसदहरुले सार्वजनिक रुपमा भने हस्ताक्षर संकलन गरेको कुरा अस्वीकार गरेका छन्। 'बहुमत सांसद एकातिर, अल्पसंख्यकले भने अनुसार निर्णय नहोस् भन्ने हाम्रो माग हो। नेतृत्वलाई यो कुरा हामीले ध्यानाकर्षण गरेका छौं', सांसद लक्ष्मण तिवारीले भने 'तर, हस्ताक्षर संकलन गरेको होइन। नेतृत्वले बहुसंख्यक सांसदको कुरा सुन्छ भन्नेमा आशावादी छौं।'

पार्टी अनुशासनको डरले उनले यस्तो अभिव्यक्ति दिए पनि नेकपाका सांसदहरुको भेला तीन दिनदेखि इटहरीमा जारी थियो। त्यही क्रममा उनीहरुले हस्ताक्षर संकलन गरेका हुन्। ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सदस्य छन्। सभामुख र उपसभामुख बाहेक ६५ जना सांसदमध्ये नेकपाका ३७ सांसदले विराटनगर राजधानी बनाउन नहुने मागमा हस्ताक्षर गरेका छन्।

पार्टी नेतृत्वले 'ह्वीप' लगाएर भए पनि विराटनगर नै राजधानी तोक्ने तयारी थालेपछि नेकपा सांसदहरुले हस्ताक्षर अभियान चलाएका हुन्। यही विषयमा छलफल गर्न बुधबार बिहान ११ बजेलाई बोलाइएको नेकपा संसदीय दलको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन्। ३७ जना सांसदहरु विराटनगरको विपक्षमा उभिएको जानकारी पाएपछि पार्टी प्रदेशको बैठक अहिले जारी छ। स्रोतका अनुसार प्रदेश कमिटीको निर्णय गराएर मुख्यमन्त्री राई संसदीय दलमा 'ह्वीप' लगाउन चाहन्छन्। यद्यपि प्रदेश कमिटीका इञ्चार्ज भीम आचार्य स्वयम् विराटनगरको विपक्षमा उभिएका कारण प्रदेश कमिटीको बैठकमा पनि तनाव उत्पन्न भएको छ।

तर, सांसदहरुले भने प्रक्रिया मिचेर गरिने निर्णय नमान्ने घोषणा गरेका छन्। 'विराटनगर कुनै पनि हिसाबले प्रदेशको राजधानी बनाउन अनुकूल र न्यायसंगत छैन', संसदीय दलको बैठकमा सहभागी हुन यतिबेला संसदीय दलमा भेला भएका सांसदहरुको मत छ 'त्यसैले हामी आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छौं।' विराटनगर राजधानी तोक्ने सरकारको तयारीको विपक्षमा नेकपाका सांसदहरु सर्वध्वज साँवा, लिलम बस्नेत, राजेन्द्र राई, लक्ष्मण तिवारी, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, बसन्त बानियाँ, एकराज कार्की, बिर्ख प्रधान, जसमाया गजमेर, उमिता विकलगायत ३७ जनाले हस्ताक्षर संकलन गरेका छन्। 'जबरजस्ती गर्न खोजिए यो हस्ताक्षर हामी संसद् सचिवालयमा बुझाएर अघि बढ्छौं', हस्ताक्षरकर्ताको भनाइ छ 'हामी पनि पार्टी कमिटी चलाएरै आएका हौं। यहाँ मन्त्रीहरुको दादागिरी सहन्नौं।'

प्रकाशित: १८ वैशाख २०७६ ०७:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App