१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सेनाभित्र व्यापार गर्ने बसुन्धरा क्यान्टिनले आर्थिक दायित्व खुलाएन

काठमाडौ - नेपाली सेनाभित्र व्यापार गर्ने थलोका रूपमा चिनिने बसुन्धरा क्यान्टिनले आर्थिक कारोबारको सम्पत्ति तथा दायित्व देखिने गरी लेखा तयार नगरेको भन्दै सुधारका लागि महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ।

तर सेनाले भने महालेखाको प्रतिवेदनमा विगतकै विषय कट गरेर पेस्ट गरेको आरोप लगाएको छ। महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनमा पनि बसुन्धरा क्यान्टिनको लेखा दुरुस्त गर्न महालेखाले निर्देशन दिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे भने सेनाले आन्तरिक लेखा राखेर रिपोर्ट महालेखामा पठाइसके पनि उसले विगतकै विषयलाई हु–बहु दोहो-याएको बताए। ‘हामीले रिपोर्ट पठाइसकेका छौँ, प्रतिवेदन हेर्दा विगतकै विवरणलाई कट पेस्ट गरेको देखिन्छ,’ उनले भने।

बसुन्धरा क्यान्टिनले विगत केही वर्षदेखि आर्थिक कारोबारको लेखा तयार नगरेपछि महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष वर्ष आर्थिक कारोबारको लेखा दुरुस्त गर्न निर्देशन दिँदै आएको छ। तर, सेनाले भने महालेखाको निर्देशन वेवास्ता गर्दै आएको छ। महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनमा पनि बसुन्धरा क्यान्टिनको लेखा दुरुस्त गर्न महालेखाले निर्देशन दिएको छ।

बसुन्धरा क्यान्टिनले सैन्य र गैरसैनिक सामग्री बिक्री गर्दै आइरहेको छ। क्यान्टिनले निजी कम्पनीसँग सम्झौता गरी विद्युतीय तथा लत्ता कपडासमेत खरिद बिक्री गर्ने गरेको सैनिक अधिकारीहरू बताउँछन्। ‘क्यान्टिनले सैनिकसँगै गैर सैनिकलाई पनि सरसमान बिक्री गर्दै आइरहेको छ,’ एक सैनिक अधिकारीले भने।

क्यान्टिनले मोबाइल, टेलिभिजनलगायत विद्युतीय सामग्री पनि बिक्री गर्ने गरेको छ। ‘क्यान्टिनले सैनिकका लागि आवश्यक पर्ने लत्ताकपडादेखि निजी कम्पनीसँगको सहकार्यमा मोबाइल, टेलिभिजन विद्युतीय सामग्रीलगायतका सामान बिक्री गर्दै आएको छ,’ ती अधिकारीले भने।

क्यान्टिको माध्यमबाट सेनाले व्यापार गरेको भन्दै पटकपटक सेनाको आलोचना हुने गरेको छ। उक्त निकायले लामो समयदेखि आफ्नो आर्थिक दायित्वको लेखासमेत तयार नपार्नुले व्यापार गरिरहेको आरोपलाई अझ प्रष्ट पार्ने सैनिक अधिकारी बताउँछन्। सैनिक जनसम्पर्क निर्देशनालयले भने महालेखाले उठाएका प्रश्नको जवाफ तयार पार्ने काम भइरहेको जनाएको छ। ‘यसबारेमा सेनाले जवाफ पठाउन तयारी गरिरहेको छ,’ निर्देशनालयका एक अधिकारीले भने।
बसुन्धरा क्यान्टिनसँगै सैनिक अफिसर्स क्लबलाई पनि व्यापार गर्ने थलोका रूपमा विकास गरिएको भन्दै चर्काे आलोचना भएपछि सेनाले सैनिक अफिसर्स क्लबलाई गैर सैनिकको प्रयोगमा रोक लगाएको छ। तर बसुन्धरा क्यान्टिनको विषयमा भने सेनाले मौनता देखाउँदै आएको छ।

सेनाका अवकाश प्राप्त एक उच्च अधिकारी बसुन्धरा क्यान्टिन सैनिक र उनीहरुका परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले स्थापना भएको बताउँछन्। ‘यो विसुद्ध सैनिक र उनीहरूका परिवारका लागि भनेर स्थापना गरिएको निकाय हो। त्यसैले गैर सैनिकसँग व्यापार गर्ने काम यसले गर्ने होइन,’ उनले भने।

नेपाली सेनाको बसुन्धरा क्यान्टिनसँगै स्वयम्भू बारुदखाना र सुनाचुरी इमल्सन प्लाण्टले समेत विगत केही वर्षयता आर्थिक कारोबारको सम्पत्ति तथा दायित्व देखिनेगरी लेखा तयार गरेका छैनन्। विस्फोटक पदार्थ उत्पादन गर्ने दुवै निकायलाई लेखा दुरुस्त गर्न महालेखाले पटक पटक निर्देशन दिँदै आएको छ। यी दुवै निकायलाई लेखा दुरुस्त गर्न महालेखाले गत वर्ष पनि निर्देशन दिएको थियो। त्यस्तै सैनिक कल्याणकारी कोषले सवारीसाधन, उपकरण, भौतिक पूर्वाधार र फर्निचरको मूल्य समेत वासलातमा समावेश नगरेको रिपोर्टमा उल्लेख गरिएको छ।

त्यस्तै स्थपति महानिर्देशनालय (कल्याणकारी कोष) ले खरिद गुरुयोजना तयार नगरेको, सैनिक कल्याणकारी कोषले खरिद गरेको सरकारी जग्गाको विवरण र ती जग्गामा निर्मित भवनलगायत भौतिक संरचनाको अद्यावधिक लगत नराखेको र विकास निर्माण निर्देशनालयले बेसाबुत सामानको लिलाम बिक्री नगरेको लगायतका विषयमा पनि सुधारका लागि निर्देशन दिएकोमा त्यसमा सुधार नएको महालेखाले जनाएको छ। महालेखाले विगतका व्यहोरा पुनरावृत्ति नहुनेगरी कार्य सम्पादन गर्न सेनालाई निर्देशन दिएको छ।

प्रकाशित: १८ वैशाख २०७६ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App