१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एन्फाको प्रस्ताव अस्वीकृत

काठमाडौं - दक्षिण एसियाली फुटबल महासंघको विशेष साधारण सभाले अखिल नेपाल फुटबल संघ (एन्फा) को विधान संशोधन प्रस्तावलाई अस्वीकृत गरेको छ।

काठमाडौंमा मंगलबार बसेको साधारणसभामा एन्फाले राखेको अविश्वासको प्रस्तावलाई अस्वीकृत गरेको हो। एन्फाले दक्षिण एसियाली फुटबल महासंघका पदाधिकारी र सदस्यविरुद्ध कुनै पनि समयमा अविश्वासको प्रस्ताव राख्न पाउनुपर्ने भन्दै विधान संशोधनका लागि प्रस्ताव गरेको थियो। तर, एन्फाको उक्त प्रस्तावलाई भेलाले छलफल लान अयोग्य ठहर गर्दै अस्वीकृत गरेको हो।

एन्फाका महासचिव इन्द्रमान तुलाधरले पनि आफूहरूले अघि सारेको विधान संशोधनको प्रस्तावलाई भेलाले अस्वीकृत गरेको स्विकारे। ‘प्रजातान्त्रिक प्रक्रियाअनुरूप सबै क्षेत्रमा नेतृत्वमाथि अविश्वासको प्रस्ताव राख्न पाउनुपर्ने नियम हुन्छ,’ एन्फा महासचिव तुलाधारले भने, ‘हाम्रो एन्फामा पनि सोही विधान लागू छ। अन्य क्षेत्रमा पनि छ। त्यसैले हामीले संशोधनका लागि प्रस्ताव गरेका हौं।’ 

यद्यपि, एन्फाका पूर्वअध्यक्षसमेत रहेका मणि कुँवरलाई दक्षिण एसियाली फुटबल महासंघको उपाध्यक्षबाट हटाउने योजनाअनुरूप एन्फाले उक्त प्रस्ताव अघि बढाएको बुझिएको छ। कुँवरले पनि निर्वाचित कार्यकाल बाँकी छँदाछँदै महासंघबाट आफूलाई हटाउने योजनाअनुरूप उक्त प्रस्ताव अघि सारेको आरोप लगाएका थिए।

भेलामै आफूलाई हटाउँदै एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई उपाध्यक्षमा मनोनित गर्न एन्फाका वर्तमान नेतृत्वले प्रस्ताव गरे पनि अस्वीकृत भएको कुँवरले बताए। ‘उहाँहरूले एन्फामा मेरो संलग्नता नभएकाले महासंघबाट हटाउन लिखित रूपमै प्रस्ताव गर्नुभयो,’ कुँवरले भने,‘ एन्फाका वर्तमान अध्यक्षलाई महासंघको उपाध्यक्षमा मनोनित गर्न प्रस्ताव आएको थियो। तर, भेलाले अस्वीकृत गरेको हो।’

उक्त सभामा एन्फाको तर्पmबाट अध्यक्ष कर्माछिरिङसहित महासचिव इन्द्रमान तुलाधार, सदस्यद्वय मधुसूदन उपाध्यय र रविन्द्रनाथ कोजु श्रेष्ठ सहभागी थिए। साधारणसभाले उमेरसमूहको प्रतियोगिता गर्ने र एएफसीको सदस्यका लागि दक्षिण एसियाली महासंघका अर्का उपाध्यक्ष अनुराग डी सिल्भालाई पठाउने निर्णय भएको कुँवरले जानकारी दिए।

हरेक क्षेत्रिय कमिटीबाट एक जनालाई एएफसीले आफ्नो कार्यसमितिको सदस्यमा मनोनित गर्ने गर्दछ। सोहीअनुरूप श्रीलंकाली नागरिक सिल्भालाई पठाउने निर्णय भएको हो। साधारणसभाले पुरुषको साफ यु–१८ नेपालमा र यु–१५ भारतमा आयोजना गर्ने निर्णय गरेको थियो। साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप सन् २०१९ को सेप्टेम्बर २० देखि २९ सम्म काठमाडौंमा हुनेछ।

साफ यु–१५ च्याम्पियनसिप भने अगस्ट २२ देखि ३१ सम्म भारतमा हुने भएको छ। महिलाको साफ यु–१५ च्याम्पियनसिपको आयोजनामा भने टुंगो लाग्न सकेन। यद्यपि, भुटान वा बंगलादेशमध्ये एक देशले आयोजना गर्ने निर्णय भने भइसकेको छ। यसअघि श्रीलंकाको कोलम्बोमा तय भएको साधारणसभामा कोलम्बो स्लामिक स्टेटको आक्रमणमा परेपछि काठमाडौं सारिएको थियो। उक्त साधारणसभाले लेखा परीक्षण र आगामी वर्षको बजेट पनि पारित गरेको छ।

एन्फाका पूर्वअध्यक्षसमेत रहेका मणि कुँवरलाई दक्षिण एसियाली फुटबल महासंघको उपाध्यक्षबाट हटाउने योजनाअनुरूप एन्फाले उक्त प्रस्ताव अघि बढाएको बुझिएको छ।

प्रकाशित: १८ वैशाख २०७६ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App