१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लवका जिल्ला इन्चार्ज घलान पुनः पक्राउ

मकवानपुर – नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान ‘ज्वाला’ अदालतबाट रिहा भएसँगै पुनः पक्राउ परेका छन्। जिल्ला अदालत मकवानपुर र जिल्ला प्रशासन कार्यालयमा तोकिएको धरौटी र जरिबाना बुझाएर रिहा भएका उनलाई सोमबार नै प्रहरीले पुनः पक्राउ गरेको हो।

गत चैत २८ गते पक्राउ परेका उनलाई फेरि अर्को मुद्दाअन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। मकवानपुर इञ्चार्ज घलानले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई हात हतियार मुद्दाको जरिबाना ६० हजार रुपैयाँ र जिल्ला अदालत मकवानपुरलाई विस्फोटक पदार्थको मुद्दामा १८ हजार रुपैयाँ धरौटी आइतबार बुझाएको थियो। जिल्ला अदालत मकवानपुरले घलानलाई गत वैशाख २ गते धरौटी लिएर छाड्न आदेश दिएको थियो। तर उनले धरौटी र जरिबाना तिर्न नमानेपछि भीमफेदी जेल चलान गरिएको थियो। आइतबार भने उनको तर्फबाट अधिवक्ता केशव गौतमले अदालत र प्रशासनमा धरौटी र जरिबाना रकम बुझाएका थिए।

रिहा भएपछि नेकपा मकवानपुरका इन्चार्ज घलानमाथि अर्को मुद्दा भएकाले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक सागरविक्रम राणाले बताए। उनका अनुसार नेकपाले गरेको नेपाल बन्दका बेला पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा उपमहनगरपालिका १९, नेवारपानी नजिकै सवारीसाधनमा आगजनी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। जिल्ला अदालत परिसरमा सञ्चारकर्मीसँग इन्चार्ज घलानले सरकारले आफूहरूलाई अनावश्यकरूपमा दुःख दिइरहेको भन्दै आपत्ती जनाए। ‘हामीमाथि लगाइएको आपराधिक क्रियाकलापको आरोप गलत छ,’ उनले भने, ‘हामी देश र जनताका लागि संघर्षरत छौं, हामीमाथि राज्यले अनावश्यक मुद्दा लगाउने काम गरिरहेको छ।’

उनले लोकतन्त्रमा जनताको सच्चा आवाजलाई सरकारले शक्तिको भरमा दबाउने प्रयास गरिरहेको आरोप पनि लगाए। ‘वार्ताका लागि आव्हान गर्ने तर ढोकामा बन्दुक राख्ने सरकारको कार्य राम्रो हैन, राज्यको गतिविधीले राम्रो संकेत गर्दैन,’ उनले भने।

प्रकाशित: १७ वैशाख २०७६ ०३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App