१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राजधानी सार्दै इन्डोनेसिया

जकार्ता – हाल कायम रहेको राजधानी इन्डानेसियाले सार्ने भएको छ। जकार्ताबाट राजधानी सार्न लागिएको देशको योजनामन्त्रीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

राष्ट्रपति जोको विडोडोले ‘एक महत्वपूर्ण निर्णय गर्दै’ राजधानी सार्न खोजेको इन्डोनेसियाका योजनामन्त्री बामबाङ ब्रोडजोनेगोरोले बताए। जकार्ताबाट राजधानी सार्ने सरकारले बताए पनि नयाँ राजधानी कहाँ हुने भन्नेबारे भने हालसम्म केही जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि इन्डोनेसियाली संचारमाध्यमहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार सम्भावित राजधानीका रूपमा बोर्नेओ टापुमा रहेको पलाङकाराया अगाडि रहेको छ।

इउक करोडभन्दा बढी जनसंख्या रहेको इन्डोनेसियाको हालको राजधानी विश्वभरमै सबैभन्दा तीब्र गतिमा डुब्दै छ। यसै महिनाको सुरुवातमा भएको आमनिर्वाचनमा जित हासिल गरेको घोषणा भएलगत्तै वर्तमान राष्ट्रपति विडोडोले राजधानी सार्ने विषयमा घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ। यद्यपि सो निर्वाचनको आधिकारिक नतिजा भने सार्वजनिक गरिएको छैन। इन्डोनेसियाको निर्वाचन कार्यालयले निर्वाचनको अन्तिम मत परिणाम मे २२ सम्म घोषणा नहुने बताइसकेको छ।

डच उपनिवेशबाट सन् १९४५ मा स्वतन्त्रता पाएदेखि नै इन्डोनेसियामा राजधानी सार्ने विषयमा निर्णय र छलफल हुने गरेको भए पनि यसले सार्थकता पाउन सकेको छैन। सन् २०१६ मा गरिएको एउटा सर्वेक्षणअनुसार ‘मेगा–सिटी’का रूपमा लिइने जकार्ता विश्वमै ट्राफिक जाम हुनेमध्ये अग्रणी स्थानमा रहेको सहर हो। समयमै बैठकमा पुग्नका लागि सरकारका मन्त्रीहरुलाई प्रहरीले स्कर्टिङ गरेर लैजानु पर्ने बाध्यताकै बीच जकार्ता रहेको छ।

इन्डानेसियाका योजनामन्त्री ब्रोडजोनेगोराका अनुसार जकार्तालाई राजधानीका रूपमा लिइँदै गदौ प्रत्येक वर्ष देशको अर्थतन्त्रमा करिब ६८ अर्ब डलर घाटा भइरहेको छ। सरकारलाई विकेन्द्रीकरण गर्न इन्डोनेसियामा पछिल्ला दुई दशक विशाल कार्यक्रम संचालनमा रहेका छन्। विकेन्द्रीकरणको माध्यमद्वारा सरकारले केन्द्रको राजनीतिक र आर्थिक स्रोतलाई नगरपालिकाहरुमा बाँड्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।

विश्वमै तीब्र गतिमा डुबिरहेका सहरमध्ये जकार्ता पनि एक हो। अनुसन्धानकर्ताहरुका अनुसार मेगासिटी जकार्ताको ठूलो हिस्सा सन् २०५० सम्ममा समुद्रमा डुबिसक्ने छ। पछिल्लो १० वर्षको अवधिमा मात्रै जकार्ताको उत्तरी भेग दुई दशमलव पाँच मिटर डुबिसकेको छ र प्रत्येक वर्ष औसतमा एकदेखि १५ सेन्टिमिटर डुबिरहेको छ।

आधाजसो जकार्ता समुद्र सतहभन्दा मुनि रहेको छ। जकार्ता डुब्नाको कारणमध्ये एक खाने र नुहाउने पानीका लागि जमिनमुनिको पानी निकाल्नु पनि हो। जकार्ता सहर हिलो माटोको तटमा रहेको सहर हो र १३ वटा नदी बग्ने सहर हो।
गोप्य रूपमा सम्पन्न भएको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रपति विडोडोसमक्ष जकार्ताबाट राजधानी सारेर नयाँ राजधानी बनाउनका लागि तीनवटा विकल्प पेश गरिएको बताइएको छ।

एउटा हाल कायम रहेको जकार्ताभित्रै सरकारी कार्यालयका लागि एक विशेष क्षेत्र बनाउने, अर्को जकार्ताबाट ठिकबाहिर राजधानी सार्ने र तेस्रो विकल्पका रूपमा अर्को टापुमा नयाँ राजधानी खडा गर्ने। तेस्रो विकल्पमा पनि पालङकारायालाई विशेष महत्व दिइएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: १७ वैशाख २०७६ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App