१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

५ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण गरेका छौं

मनहरि तिवारी, वडाध्यक्ष, तारकेश्वर नगरपालिका–३

जनप्रतिनिधि भएर आएपछि जनतालाई महसुस हुने के–के काम गर्नुभयो?
जनप्रतिनिधि भएर आएको दुईवर्ष बितिसक्यो। हाम्रो वडा ग्रामीण भूभागमा अवस्थित छ। त्यसैले कच्ची सडकको स्तरोन्नति, खानेपानी लगायतका योजनालाई प्राथमिकताको साथ अगाडि बढाइरहेका छौं। दुई वर्षमा वडाका विभिन्न स्थानमा दुई किलोमिटरभन्दा धेरै सडक ढलान सम्पन्न ग-यौं। साङ्लादेखी गोलढुंगा सडक अहिले भूकम्प पुनर्निर्माणअन्तर्गत कालोपत्रे हुन लागेको छ। उक्त सडकखण्डमा करिव साढे तीन किलोमिटर सडक मेरो वडामा पर्छ। अर्थमन्त्रालयबाट बजेट विनियोजन भइसकेकाले अब छिट्टै निर्माण अघि बढ्नेछ।

तपाईँको वडामा खानेपानीको समस्या छ, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
वडामा खानेपानीका मुहान प्रशस्त छन्। तर, भएका स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्न नसक्दा समस्या भएको हो। खानेपानीको पाइप र ट्यांकी आवश्यकता अनुसार नहुँदा खानेपानीको आपूर्ति गर्न सकेका छैनाैं। त्यसैले वडा कार्यालयले खानेपानी व्यवस्थापनको लागि विविध कार्यक्रम गरिरहेको छ। खानेपानीका मुहान तथा स्रोतलाई पनि व्यवस्थित गर्न सकेका छैनौं । जसको कारणले समस्या उब्जाइरहेको छ। पछिल्लो समय ५ लाख लिटर क्षमताको खानेपानीको ट्यांकी निर्माण गरेका छौं। वडा कार्यालयले अबको तीन वर्षमा एक घर एक धारासहितको खानेपानी व्यवस्थापन गर्ने जमर्काे गरिरहेका छौं।

तपाईंको वडामा ढलको समस्या कस्तो छ?
मेरो वडा ग्रामीण भूभागमा अवस्थित छ। जसको कारणले अधिकांश सडक कच्ची तथा ग्राभेल सडक छ। त्यसैले वडामा व्यवस्थित मात्रामा ढलको व्यवस्थापन गर्न सकिएको छैन। वडामा अधिकांश ढल खुला छन्। प्रत्येक घर–घरमा सेफ्टी ट्यांकी भएकाले अहिलेसम्म ढलको आवश्यकता महसुस गरेका छैनौं। पुराना राजकुलो तथा अन्य नहरबाट ढलको काम  चल्दै आइरहेको छ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ?
नगरपरिषद्बाट वडा कार्यालयका लागि गत वर्ष एक करोड ५० लाख रूपैयाँ विनियोजन भएको थियो। गत आवमा ४० योजना अघि सारेका थियौं। तीमध्ये ३२ योजना मात्रै निर्माण सम्पन्न गरेका छौं। उपभोक्ता समितिले समयमा काम गर्न नसक्दा ८  योजना अधुरा रहेका हुन्। चालू आवमा एक करोड ५३ लाख रूपैयाँ बजेट विनियोजन गरेका छौं। उक्त बजेटबाट लगभग ३४ योजना अघि सारेका छौं । तीमध्ये ५० प्रतिशत योजना निर्माण सम्पन्न भइसके। वडा कार्यालयले सडक स्तरोन्नति, खानेपानी, कृषि लगायतका कार्यक्रमलाई प्राथमिकता राखेर अगाडि बढाएका छौं। चुनावताका सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने नारा निकै  चर्किए। तर, अहिलेसम्म सिंहदरबारको अधिकार अझैसम्म वडामा आउन सकेको छैन। हामीले जनताको काम गर्नुपर्ने हुन्छ। तर, बजेट जति नगरपालिकामा थन्किँदा वडा कार्यालयलाई भने बजेट अभाव देखिएको छ।

तपाईँको वडामा सार्वजनिक जग्गा मिचिने क्रम रोकिएको छैन नि?
वडामा लगभग ३२ सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा छ। तीमध्ये सार्वजनिक जग्गा छेउछाउका धनीले सार्वजनिक जग्गा अतिक्रमण गरेर उपयोग गरेका छन्। खेतीको लागि उपयोग गरे पनि जग्गा नै व्यक्तिको नाममा भने ल्याएका छैनन्। लामो समय जनप्रतिनिधि नहुँदाको फाइदा उठाउँदै केही व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गरेका  थिए। वडामा करिव ३०– ४० रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ। वडा कार्यालयले सार्वजनिक जग्गा नापी गर्नको लागि मालपोत कार्यालय र नगरपालिकासँग बारम्बार अनुरोध गरेका छौं। तर, अहिलेसम्म नापजाँच गर्न सकेका छैनौं।

तपाईंको वडामा वर्षात्मा बाढी पहिरोको जोखिम छ, कसरी व्यवस्थापन गर्दै हुनुुहन्छ?
वर्षात्को समयमा वडाको विभिन्न स्थानमा बाढी पहिरोको जोखिम देखिन्छ।  वडामा सवैभन्दा धेरै जोखिम आठमाइल डाडाँगाउमा छ। त्यहाँ बाढीपहिरोबाट करिव २५ भन्दा धेरै घरधुरी प्रभावित छन्। त्यसैले वडा कार्यालयले बाढी पहिरो नियनत्रण गर्नको लागि जिल्ला भूसंरक्षण कार्यालयसँग समन्वय गरेर तारझाली लगाउने प्रक्रिया अघि बढाइरहेका छौं।

किसानका लागि कस्तो योजना अघि सार्नुभएको छ?
वडामा कृषिजन्य उत्पादन भइरहेको छ। त्यसैले वडा कार्यालयले कृषि खेतीका लागि प्रवर्धनात्मक कार्यक्रम गरिरहेको छ। कृषकका लागि उन्नत जातका कृषिको बीउबिजन तथा अन्य अनुदान दिइरहेका छौं। वडाले कृषिलाई प्रवर्धन गर्नेतर्फ ध्यान केन्द्रित गरेका छौं।

तपार्इंको वडामा आन्तरिक तथा बाह्य पर्यटकको भित्राउन कस्तो पहल गर्नुभएको छ?
वडामा पर्यटकीय सम्भावनाले भरिपूर्ण छ। तारकेश्वर महादेव मन्दिर मेरै वडामा पर्छ। तारकेश्वर मन्दिर परिसरलाई व्यवस्थित गर्नको लागि दुई करोड रूपैयाँ बजेट विनियोजन भएर धमाधम काम भइरहेको छ। त्यस्तै गरी ऐतिहासिक पाँचमाने भञ्जाङ, भुवनेश्वरी मन्दिर लगायतका ऐतिहासिक सम्पदा छन्। ती क्षेत्रमा अहिले १५ घरभन्दा धेरैमा होमस्टे सञ्चालन भइसकेका छन्। त्यसैले वडामा आन्तरिक तथा बाह्य पर्यटक भित्राएर समृद्ध वडा बनाउनेतर्फ केन्द्रित भएका छौं।

कस्तो वडा बनाउने सपना बोक्नुभएको छ?
समृद्ध र व्यवस्थित वडा बनाउने योजनासहित काम गरिरहेका छौं। वडामा खानेपानी, सडक, स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतालाई पूरा गर्ने लक्ष्य राखेका छौं। तीन वर्षमा एक घर एक धारासहितको खानेपानी आपूर्ति गर्ने लक्ष्य राखेका छौं। वडामा रहेका २० देखि २५ किलोमिटर संघीय तथा प्रदेश सरकारसँग समन्वय गरेर कालोपत्रे गर्ने योजना बनाएका छौं।

 

प्रकाशित: १६ वैशाख २०७६ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App