१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा लगानी गर्न चिनियाँ उद्योगीलाई आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नेपालमा बनेको स्थायी सरकारले नीति तथा कानुन परिमार्जन गरी लगानीमैत्री बनाएकाले लगानीको वातावरण बनेको बताएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा सहभागी ढकालले बेइजिङमा आयोजित नेपालमा लगानीका अवसर तथा नेपाल–चीन आर्थिक सम्बन्ध विस्तार विषयक कार्यक्रममा बोल्दै चिनियाँ उद्यमी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे।

उपाध्यक्ष ढकालले नेपालमा लगानीका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण बढ्दै गएको जानकारी दिए। सरकारले गत महिना सम्पन्न गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी लगानीकर्ताबाट उत्साहजनक लगानी प्रतिबद्धता आएको र यसबाट निजी क्षेत्रका उद्यमी, व्यवसायी पनि उत्साहित भएको उनले जानकारी दिए।

‘नेपालका उद्योगी व्यावसायी चिनियाँ व्यवसायीसँग मिलेर संयुक्त लगानीमा काम गर्न इच्छुक छन्,’ ढकालले भने। सन् १९९६ देखि दुवै देशका उद्योगी व्यावसायीले व्यापारिक, सांस्कृतिक एवं विविध क्षेत्रको सम्बन्ध सुदृढीकरणका लागि काम गरिरहेको जानकारी पनि उनले गराए।

महासंघका अनुसार नेपालमा चिनियाँ लगानी भित्रिने विषयबाट नेपाल सरकारसहित उद्योगी व्यावसायी पनि उत्साहित भएको उपाध्यक्ष ढकालले बताएका छन्।

नेपाल लगानीका लागि उर्वर भूमि रहेको भन्दै उपाध्यक्ष ढकालले नेपालमा पूर्वाधार निर्माण, ऊर्जा, पर्यटन, निर्माण क्षेत्र, सिमेन्ट उद्योग, फलाम खानी, केबलकार, रिसोर्ट तथा व्यावसायिक कृषि लगायत क्षेत्रमा लगानी गर्न सकिने जानकारी दिए।

‘चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभको अंग बन्न पाउँदा नेपाललाई खुसी लागेको छ,’ ढकालले भने, ‘यसबाट दुई देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धको प्रवद्र्धन र विकासमा ठूलो सघाउ पुग्ने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको छ।’
चीनजस्तो समृद्ध छिमेकी हुनु नेपालका लागि सौभाग्य रहेको बताउँँदै उपाध्यक्ष ढकालले नेपाली उद्योगी व्यवसायीले पनि योजनाबद्ध ढंगबाट अघि बढ्नुपर्ने समय आइसकेको जनाए।
उपाध्यक्ष ढकालले चीनको बिआरआई जस्तो ठूलो आयोजनाबाट हामी जस्ता छिमेकीले प्राथमिकता पाउनुपर्ने धारणा राखे। यो आयोजनाले नेपाललाई सबै क्षेत्रबाट कनेक्टिभिटीको सुविधा दिने भन्दै ढकालले नेपालले यस आयोजनाबाट बढीभन्दा बढी लाभ लिनुपर्नेमा जोड दिए।
 

प्रकाशित: १६ वैशाख २०७६ ०५:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App