१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

श्रमिकद्वारा चिया दिवस बहिष्कार

सरकारले आइतबार राष्ट्रिय चिया दिवस मनाइरहँदा इलामको फिक्कल बजारमा न्यूनतम् ज्याला र श्रम ऐन कार्यान्वयन माग गर्दै धर्ना दिइरहेका आन्दोलनरत चिया श्रमिक। तस्बिरः नागरिक

इलाम– सरकारले तामझामसहित राष्ट्रिय चिया दिवस मनाइरहँदा आन्दोलनरत पूर्वका चिया श्रमिकले भने यो दिवस बहिष्कार गरेका छन्। आफूहरूलाई भोकै पेट राखेर सरकारले चिया उद्योगीसँग ‘साँठगाँठ’ गरेको भन्दै श्रमिकले आइतबार पनि पूर्वका जिल्लामा विरोध प्रदर्शन गरे।

आन्दोलनरत श्रमिकले झापाको बिर्तामोडमा चिया उद्योगीको पुतला दहनसमेत गरे। उनीहरूले इलामका विभिन्न स्थानमा विरोध -याली र कोणसभा गरे। नेपाल चिया तथा कफी विकास बोर्ड र स्थानीय सरकारहरूले आयोजना गरेको चिया दिवस कार्यक्रमसमेत बहिष्कार गर्दै श्रमिकले आफ्नो विरोध जारी राखे। सूर्याेदय नगरपालिकास्थित कन्यामदेखि फिक्कलसम्म विरोध -याली आयोजना गरेका श्रमिकले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए। २३औं चिया दिवस मनाउन सरकारी निकायले आयोजना गरेको किसानको दौड प्रतियोगिता चलिरहेका बेला त्यसैको विरोधमा निस्किएको चिया श्रमिकको -यालीसँग फिक्कलमा जम्काभेट भएको थियो।

विरोध -याली र सभामा प्रायः सरकारी चिया बगानका श्रमिक भेला भएका थिए। सरकारी स्वामित्वका इलाम, कन्याम, सोक्तिम र चिलिमकोट बगानमा श्रमिकले न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने बताए। ‘कसैले खुसीले चिया दिवस मनाइरहँदा नेपालको चियालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन भूमिका निर्वाह गरेका श्रमिकको चाहिँ अवमूल्यन भएको छ,’ श्रमिक नेता रमेश खड्काले उनले भने, ‘हामी श्रमिकलाई भोकै राखेर सरकारले चिया दिवसको खुसियाली मनाएको छ, त्यसप्रति हाम्रो विरोध छ।’

न्यूनतम् ज्याला, श्रम ऐन र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको माग राख्दै नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघको अगुवाइमा चिया श्रमिक आन्दोलनमा छन्। उनीहरूले गत चैत १७ यता आफूले काम गरिरहेका सबै बगान र कारखाना ठप्प पारेका छन्। दिनहुँ नारा–जुलुस, -याली र धर्ना चलिरहेको छ। सरकारले गत साउनदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला तीन सय ८५ र कारखानामा काम गर्ने श्रमिकको ज्याला चार सय २७ रुपैयाँ तोकेको छ। तर, दुवैखाले श्रमिक अहिले झापामा दैनिक दुई सय ७८ र इलाममा दुई सय ६५ रुपैयाँमा काम गर्न बाध्य छन्।

‘चिया उद्योगीले सरकारी निर्णय र ऐनकै बेवास्ता गरेका छन् तर सरकार चाहिँ श्रमिकको भन्दा तिनै उद्योगीसँग साँठगाँठ बढाइरहेको छ,’ श्रमिक नेता विष्णु भट्टराईले भने, ‘उद्योगीले त श्रमिकलाई बेवास्ता गरेकै थिए, सरकारले पनि उद्योगीलाई नै बल पुग्नेगरी हाम्रा माग थाति राखेर चिया दिवस मनाइरहेको छ।’ उनले चिया श्रमिक अब आन्दोलनबाट पछि नहट्ने अडानमा पुगेको पनि बताए। ‘अब हामी त्यसै फर्किँदैनौं, हाम्रो माग कुनै वार्ता र छलफल गर्नुपर्ने खालको पनि होइन,’ उनले भने, ‘आफ्नो निर्णय कार्यान्वयन गर्न सरकार चाहिँ उद्योगीका अघि यसरी लाचार बन्नुहुँदैन।’

चिया दिवस अवसरमा बोर्ड र सूर्याेदय नगरपालिकाले फिक्कलस्थित बरबोटेमा विभिन्न कार्यक्रम आयोजना गरे। दिवस अवसरमा चिया किसानको एक किलोमिटर दौड, चियाको गुणस्तर जाँच्ने प्रतियोगितालगायत औपचारिक कार्यक्रमसमेत आइतबार सम्पन्न भए। दौड प्रतियोगितामा पुरुषतर्फ पूर्णकुमार राई पहिलो, कृष्णराज पौडेल दोस्रो, कर्मा लामा तेस्रो र खेमराज लेप्चा चौथो भए। दौडमा महिलातर्फ मनु योल्मु पहिलो, रेखा केसी दोस्रो, अमृता गुरुङ तेस्रो र रमा अधिकारी चौथो भएको फिक्कल बरबोटेस्थित बोर्डअन्तर्गतको चिया विस्तार आयोजना कार्यालयका विवेक भण्डारीले बताए। उनका अनुसार यही अवसरमा सोमबार पनि चिया टिपाइ प्रतियोगिता राखिएको छ। सबै प्रतियोगिताका विजयीलाई सोमबार नै पुरस्कृत गरिने छ।

दिवस अवसरमा आयोजित कार्यक्रममा प्रदेश सभासद्हरू धिरेन शर्मा, रामबहादुर मगर, काजीमान कागते, खिनु लङ्वा, सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई, इलाम नपाका मेयर महेश बस्नेत, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीलगायतले चिया क्षेत्रका समस्या र अवसरबारे बोलेका थिए।

प्रकाशित: १६ वैशाख २०७६ ०५:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App