१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

हेडमास्टर बन्न परीक्षा दिनुपर्ने

सोलुखुम्बु - शैक्षिक सुधारका लागि विद्यालयमा शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही समयपछि नै थुलुङ दूधकोसी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अवलम्बन गरेको छ। गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’कै रूपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।

आगामी जेठको अन्तिमसम्ममा विषयगत विज्ञहरूको टोली बनाई १०० अंकभारको परीक्षा लिन लागिएको हो। शिक्षकहरूले ५० अंकभारको लिखित परीक्षा दिनुपर्नेछ भने २५ अंकभारको विद्यालय सुधार योजनाको प्रस्ताव पेस गर्नुपर्नेछ। शिक्षकको अन्तर्वार्ता पनि लिइने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाभर नौ माध्यमिक विद्यालयसहित ५२ सामुदायिक विद्यालय सञ्चालनमा छन्।

‘हाम्रो एक मात्र लक्ष्य शैक्षिक सुधार हो। त्यसकारण अब राजनीतिक आस्थाको भरमा तेरो–मेरो चल्दैन,’ गाउँपालिका अध्यक्ष असिम राईले भने, ‘परीक्षाबाट फ्रेस, गतिशील र शिक्षा क्षेत्रको श्रीवृद्धिका लागि स्पष्ट योजना भएको प्रधानाध्यापक नियुक्त गर्न चाहन्छौं, जसबाट सामुदायिक विद्यालयको व्यवस्थापन चुस्त बन्न सकोस्।’ उनले बोर्डिङ स्कुलको शिक्षाका लागि सहर झर्नुपर्ने अवस्थालाई घटाउन पनि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नुपर्ने अनिवार्यता देखिएको बताए।

शिक्षक सरुवा र विद्यालय मर्ज यही महिनामा
गाउँपालिकाले शिक्षक सरुवा र विद्यालय मर्जको काम पनि वैशाखभित्रै सक्ने तयारी थालेको छ। बुद्धिराज राईको संयोजकत्वमा गठित सामाजिक विकास समितिले विद्यालय र विद्यार्थी संख्याको अध्ययन गरी शिक्षक सरुवा र विद्यालय मर्जका लागि प्रतिवेदन बुझाइसकेकाले यही महिनामा काम सक्ने गाउँपालिकाले जनाएको छ।

विद्यार्थी संख्या न्यून रहेको विद्यालय मर्जमा पर्ने र विद्यालय मर्ज हुँदा अर्को विद्यालयमा धाउनुपर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप दिवा खाजा, शैक्षिक सामग्रीलगायत सुविधा दिने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले बताए। उनका अनुसार कक्षाअनुसार विद्यार्थी नभएका विद्यालयको कक्षा घटुवासमेत गरिनेछ।

प्रकाशित: १६ वैशाख २०७६ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App