१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

सामुदायिक विद्यालयमा भर्ना हुन ‘इन्ट्रान्स’

सरस्वती मावि दिक्तेलले आयोजना गरेको प्रवेश परीक्षामा सहभागी विद्यार्थी। तस्बिर : नागरिक

खोटाङ - नयाँ शैक्षित्र–सत्रका लागि भर्ना अभियान चलिरहँदा कतिपय विद्यालयलाई विद्यार्थी पाउन धौ–धौ परिरहेको छ। तर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविले भने भर्ना हुन आएका विद्यार्थीको चाप थेग्न प्रवेश परीक्षा (इन्ट्रान्स) को सहारा लिनुपरेको छ। शिशु कक्षादेखि कक्षा १० सम्म भर्ना हुन आउने विद्यार्थीको चाप बढी भएपछि ‘इन्ट्रान्स’ लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक अध्यानबहादुर राईले बताए।

नयाँ शैक्षिक सत्रका लागि कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन आएका विद्यार्थी छान्न सरस्वती माविले दुई दिन लगाएर प्रवेश परीक्षा लिएको छ। भर्नाका लागि आएका एक सय ६० विद्यार्थीलाई सहभागी गराएर प्रवेश परीक्षा लिइएको हो। प्रधानअध्यापक राईका अनुसार अंग्रेजी धार (बोर्डिङ स्कुल) बाट आएका ७८ विद्यार्थीमध्ये १३ जना अनुत्तीर्ण भएका छन्। यस्तै सामान्य विद्यालयबाट आएका ८२ विद्यार्थीमध्ये दुई विद्यार्थी नाम निकाल्न असफल भएका छन्। ‘कक्षा ८ का लागि अब भर्ना गर्न सकिने अवस्था छैन, कोटा पूरा भइसकेको छ,’ प्रधानाध्यापक राईले भने, ‘अब अन्य कक्षाका लागि मात्र भर्ना गर्न सकिन्छ।’ विद्यार्थी आउने क्रम जारी रहेकाले पुनः प्रवेश परीक्षा लिनुपर्ने अवस्था रहेको उनले जानकारी दिए। नेपाली धारबाट कक्षा ६ मा आठजना, कक्षा ७ मा तीनजना, कक्षा ८ मा १५ जना र कक्षा ९ मा ५६ जना विद्यार्थी भर्ना हुन आएका थिए। यस्तै, अंग्रेजी धारबाट कक्षा ६ मा नौजना कक्षा ७ मा नौजना, कक्षा ८ मा २५ जना र कक्षा ९ मा ३५ जना विद्यार्थी भर्ना हुन आएको विद्यालयले जनाएको छ।

सरकारी त्यसमा पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भर्नाका लागि ‘इन्ट्रान्स’ लिइएको घटनाले जिल्लाका शैक्षिक क्षेत्रमा चर्चा पाइरहेको छ। पाठ्यक्रममा आधारित शिक्षण सिकाइ बिधि अपनाउन सुरु गरेपछि २००९ फागुनमा स्थापित सरस्वती माविले अन्य विद्यालयका विद्यार्थीसमेत तान्न सफल भएको बताइएको छ। कक्षा ५ मुनिका कक्षामा मिनी–मन्टेश्वरी शैलीको शिक्षण विधि अपनाउँदै आएको सो विद्यालयमा हरेक वर्ष विद्यार्थीको आकर्षण बढिरहेको छ। विद्यालयलाई नमुना बनाउने विधि, सीप, क्षमता, योजना, भिजनलगायत विषय अध्ययनका लागि तत्कालीन जिशिअ ज्ञानमणि नेपालले २०७३ चैतमा आयोजना गरेको विभिन्न नमुना विद्यालय भ्रमणपछि विद्यालयमा विद्यार्थी केन्द्रित पठन–पाठन सुरुवात गरिएको प्रधानाध्यापक राईले बताए।

पुस्तकको भरमा पुरातन शैलीबाट पठनपाठन सञ्चालन हुँदै आएको विद्यालयमा आवश्यक पुस्तक तथा शैक्षिक सामग्री जुटाएर पाठ्यक्रममा आधारित शिक्षण सिकाइ सुरु गरिएपछि विद्यालयले बोर्डिङकै झल्को दिने गरेको छ। कक्षाको फरक स्वरूप र सजावट, विद्यार्थी केन्द्रित शिक्षण व्यवस्था, कक्षामा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापनसँगै अनुशासनमा गरिएको कडाइ पनि विद्यालयको सफलताको अर्को कारक हो। माथिल्लो कक्षामा इच्छाअनुसार अंग्रेजी र नेपालीमा पठनपाठनको व्यवस्था भए पनि प्रावि तहमा अंग्रेजी अनिवार्य गरिएको विद्यालयले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७६ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App