१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

महामारी फैलिएको हुम्लामा चिकित्सक र औषधि

हुम्ला–अज्ञात रोगले महामारीको रुप लिएपछि गाउँमा औषधि सहित चिकित्सकको टोली पुगेको छ। नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका पहलमा आइतबार बिहान  नेपाली सेनाको हेलिकप्टरले चिकित्सक सहित औषधि गाउँमा पु-याएको हो।औषधि लिएर विशेषज्ञ चिकित्सक टोली गाउँमा पुगे पछि स्थानीय खुशी भएका छन्।

अज्ञात रोगका कारण शनिबारसम्म ९ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढि बिरामी छन्। रोग फैलिदै गएपछि रोगको पहिचान र नियन्त्रणका लागि औषधि सहित विशेषज्ञ डाक्टर केएन पौडेल नेतृत्वको ४ जना चिकित्सकको टोली ताँजाकोटमा पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए।

चिकित्सकको टोली गाउँमा पुगेसँगै मैला स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर संचालन गरिएको छ। आज दिउँसो ४ बजे सम्म १ सय ३८ जनाको नमुना संकलन गरी रोग पहिचान गर्ने कार्य भइरहेको ताँजाकोट पुगेका चिकित्सक टोलीका टिमलिडर डाक्टर केएन पौडेलले बताए। उनले रोगको लक्षण हेर्दा इन्फ्लुएन्जा रुघाखोकी भएकोे शंका गरिएको भए पनि नमुना परीक्षण नहुँदा सम्म भन्न नसकिने बताए। नमुना संकलन गरी २४ घण्टा भित्र काठमाडौं पठाउनु पर्ने डा पौडेलले जानकारी दिए।

रोग पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको छ।  चैत्र २६ गतेदेखी फैलिएको अज्ञात रोगका कारण शनिबार सम्म मृत्यु हुनेको संख्या ९ पुगिसकेको छ।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन साथै रोगको रोकथामका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधि सहित स्वास्थ्यकर्मीको टोली आइतबार घटनास्थलमा पुगि उपचार सुरु गरी सकेको हुम्ला पुगेका सामाजिक विकास मन्त्री दल रावलले बताए।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारणले उपचारमा समस्या हुँदै आएको स्थानीयकोे गुनासो छ। स्वास्थ्य चौकीमा पर्याप्त औषधि नभएको र स्वाथ्यकर्मी स्वाथ्य चौकीमा नबसेकै कारणले गाउँमा विरामीको संख्या बढेको पाइन्छ। हुम्लाका नागरिकले औषधि अभावकै कारण वर्षेनी अकालमा नै ज्यान गुमाउनु पर्ने भयावह अवस्था रहेको छ।

प्रकाशित: १५ वैशाख २०७६ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App