दर्शन

बुद्धसँग यौनका कुराहरू

शनिबार, १४ बैशाख २०७६, १० : ०९ नागरिक

बसन्त महर्जन
गौतम बुद्धको जन्म ईसापूर्व ५६३ मा कपिलवस्तु नामको एउटा सानो शाक्य गणराज्यको पूर्वस्थित लुम्बिनी बगैंचामा भएको थियो। त्यति बेलाको समाज वा सामाजिक मूल्यमान्यताहरू धर्मराउँदो अवस्थामा थियो। बुद्धभन्दा निकै अघि वेदमा आधारित वैदिक परम्पराले जड गाडेको थाहा पाइन्छ तर अचेलका पण्डितले भन्ने गरेजस्तो भूगोलको सबै क्षेत्रमा यसको प्रभाव समान थिएन।

वैदिक धर्मदर्शनमा आधारित ब्राह्मण परम्परा एकातिर थियो भने श्रमण परम्पराको आफ्नै मूल्यमान्यता थियो। दुई परम्पराबीच मिल्ती थिएन। बुद्ध जन्मिनुअघि नै वैदिक सभ्यता ओरालो लागिसकेको थियो। उनीहरूको द्वन्द्व श्रमण परम्परासँग मात्र नभएर स्वयं वैदिक समाजभित्रै पनि थियो। यज्ञलगायतका कर्मकाण्डमा आएको भड्किलोपना तथा विकृतिले आजित वैदिकहरूले आन्तरिक विद्रोह वा असन्तुष्टि पोख्न थालिसकेका थिए। वैष्णव परम्परा यसैको एउटा राम्रो उदाहरण हुनसक्छ। उपनिषदहरूको रचना पनि त्यसैको परिणाम हो।

यस अवस्थामा पूर्णकाश्यप, अजित केशकम्बल, प्रकुधकात्यायन, मोखल गोशाल, संजय बेलठ्ठिपुत्त र निगण्ठ नाथपुत्त (महावीर वर्धमान) लगायतको नेतृत्वमा श्रमण परम्पराअन्तर्गत एक खालको आन्दोलन भइरहेको थियो र उक्त आन्दोलनले वैदिक मूल्यमान्यतालाई निकै मात्रामा आघात पारिरहेको थियो। यस्तो पृष्ठभूमिमा श्रमणपरम्परा अन्तर्गत नै गौतम बुद्धको प्रवेश भएको थियो। 

समाजमा ब्राह्मण र श्रमण दुई चिन्तनको विपरीत चार्वाक नामका लोकायत (भौतिकवादी) हरुको प्रभाव पनि कम थिएन। यस्तो अवस्थामा गौतम बुद्धले बुद्धत्व प्राप्त गरी (इ.पू. ५२३) बौद्ध धर्मको दुन्दुभी जोडदार रूपमा बजाउन थालेका थिए। बुद्धको काम गराइ सजिलो थिएन। श्रमण परम्पराबाट भएका कारण सर्वप्रथम उनको द्वन्द्व ब्राह्मण परम्परासँग हुनु स्वाभाविक हो। साथसाथै श्रमण परम्पराका मनीषीहरूसँग पनि ठूलै द्वन्द्व गर्नु परेको थियो। बुद्ध चार्वाकजस्ता लोकायतलाई ठाडै ‘मिथ्यादृष्टि’ भनी आलोचना गर्दथे। वर्ण र जातिको अवधारणाले समाजमा भेदभाव सिर्जना भइसकेको थियो। मान्छेमान्छे बीचको यो असमानतालाई बुद्धले कहिल्यै स्वीकार गरेनन्।

बरु, भेदभावको यो पर्खाल ढाल्नतिर लागे। महिला र पुरुषबीच प्राकृतिक रूपमा थोरै कुरामा मात्रै फरक रहेको र हरेक कुरामा समानता भएकाले समाजमा दुवैको समान अधिकार रहेको अवधारणा बौद्ध धर्मदर्शनबाट बुझ्न सकिन्छ। बुद्धको यस अवधारणाबाट वैदिक परम्पराको मूल्यमान्यतालाई त चुनौती दियो नै साथसाथै जैनसँग पनि मत बाझियो।
यौन विकृति तथा बलात्कारजन्य घटना तत्कालीन समाजमा हुँदै नभएको होइन। यसलाई बुद्ध अथवा बुद्धबाट प्रभावित समाजले कसरी बुझ्ने र बुझाउने गरेको छ भन्ने चर्चाले आजभोलिका घटनाहरुलाई बुझ्न सघाउँछ।  

बुद्धको जवाफ बडो सटिक छ, ‘कुनै महिलालाई हेर्नु नै परे होस सम्हालेर हेर्नुपर्छ। जे जति नराम्रा काम कुरा हुन्छन्, बेहोसीमै हुने गरेका छन्।’

गौतम बुद्धमाथि यौन आक्षेप
गौतम बुद्धमाथि यौन अपराधको आरोप लागेको पाइन्छ। समाजमा बुद्धको आदर, सम्मान र लाभसत्कार बढ्दै गएबाट आफूहरूलाई हानी भएको बुझाइ केही तीर्थकरहरूको थियो। बुद्धको बदनाम गर्न पाए आफूहरूको राम्रो हुने बुझाइले उनीहरु बुद्धको बदनाम गर्ने षड्यन्त्रको तानाबाना बुन्न लागे। यसका लागि चिन्चा नामकी एक महिलालाई प्रयोग गरेको पाइन्छ।

षड्यन्त्रअनुसार बुद्ध बस्ने विहारमा ती युवतीलाई पठाउन त पठाउने तर समाजलाई दिग्भ्रमित गर्ने हिसाबले मात्रै। उपासक उपासिकाहरू विहारबाट फर्कने बेलामा ती युवतीलाई विहारतर्फ हिँडाउने र बिहान उपासक उपासिका विहारतर्फ जाने बेला बाटोमा विहारबाट फर्किरहेको देखाउने। युवतीको यो गतिविधि सबैले देखेकै थिए। एक दिन बुद्ध विहारमा प्रवचन दिइरहेका बेला ती युवती देखा परिन् र आफू सबैका सामु बुद्धबाट गर्भवती भएको सुनाइन्। युवतीको माग अब आफ्नो भरणपोषणको व्यवस्था हुनुपर्ने थियो। कुरा भरणपोषणको मात्र थिएन। बुद्धमाथि नै गम्भीर प्रश्न उठेको थियो। छानबिन हुने भयो।

वास्तवमा ती गर्भवती भएकी थिइनन्, नक्कल मात्रै गरेकी थिइन्, तत्क्षण नै सबै कुरा खुलस्त भएको थियो। तीर्थंकरहरूले पुनः सुन्दरी नामकी महिलालाई अघि राखेर अर्को तानाबाना बुन्न सुरु गरे। सुन्दरीलाई पनि चिन्चालाई जस्तै विहार पठाइयो। यस पटक स्वयं सुन्दरीबाटै हल्ला फैलाउन लगाइयो– विहारमा जान थालेको, बुद्धसँग विशेष सम्बन्ध रहेको आदिआदि। समय बित्दै गएपछि उनले गर्भ बोकेको प्रष्ट बाहिरबाट देखियो र समाज पनि सशंकित भयो। यस्तैमा सुन्दरी एकाएक हराइन्। यस घटनाले समाजमा हलचल भयो। वास्तवमा गर्भ बोकेकी सुन्दरीलाई तिनै र्तीथंकरहरूले मार्न लगाई विहार नजिकै गाड्न लगाइएको थियो।

बौद्ध संघको बदनाम हुने डरले सुन्दरीलाई मारेर गाडेको भनी हल्ला गर्दै बुद्धको निन्दा गर्न थाल्यो। तर एक दिन सुन्दरीको हत्या गर्ने गुण्डाहरूको कुरा गुप्तचरको कानमा पुग्यो र सबै छताछुल्ल भयो।

बौद्ध संघमा यौनका कुरा
बेघरवार भई प्रब्रज्या लिई बौद्ध भिक्षु हुनुको अर्थ उसमा बुद्ध गुण नै हुने होइन। तर यो पक्का हो, कुनै पनि बौद्ध भिक्षुले बुद्ध गुणलाई सँधै सम्झनु पर्छ। त्यसको अनुकरण गर्न शील सदाचारमा निरन्तर लागिरहनु पर्दछ। यो व्यक्तिगत क्षमतामा भर पर्ने कुरा हो। सम्पूर्ण क्लेश नष्ट नभएसम्म अर्हत् (श्रावक बुद्ध) भएको मानिन्न। गृहस्थीमा छँदा सिद्धार्थ गौतमका साथी छन्दक पछि बुद्धकहाँ प्रव्रजित भई बौद्ध भिक्षु त बनेका थिए तर मार्गफलमा प्रवेश गरिसकेका थिएनन्। तसर्थ, उनमा अनेकौं कमजोरी वा विकृतिहरू हुनु स्वाभाविक थियो। विहारमै बस्ने अत्यन्तै सुन्दरी भिक्षुणी भने अर्हत् भइसकेकी थिइन्। भिक्षुणीको तीघ्रा हेर्ने उत्कर्ष रहरलाई ती भिक्षुले दबाउन सकेनन्।

एक दिन उपयुक्त मौका पारी यो रहर ती भिक्षुणीसमक्ष व्यक्त गरे। सामान्य भाषामा भन्नु पर्दा यो एक प्रकारको यौनहिंसा हो। तर अर्हत् भइसकेका कारण भिक्षुणीमा कुनै प्रकारको यौन भावना थिएन। भिक्षुको याचनामा भिक्षुणी हकिच्नुको कारण गलत नियतले तीघ्रा हेर्न चाहेको र त्यो चाहना पूरा गरुन्जेल भिक्षुको मनमा अझ नराम्रो भाव आउला, तृष्णा बढ्ला र त्यसको नतिजा नराम्रो नै होला भन्ने हो।

बौद्ध अवधारणाअनुसार कुनै पनि राम्रो र नराम्रो कर्मको फल यही जन्ममा र अर्को जन्ममा भए पनि भोग्नै पर्छ। यही अनुसार अन्य जन्महरूको गति निर्धारण हुन्छ। यही भएर भिक्षुणी सचेत भएकी हुन्। यसलाई अरूप्रतिको अगाध करुणा पनि भन्न सकिन्छ। तर भिक्षुको याचना टार्न नसकेर भिक्षुणीले तीघ्रा देखाइन्। यो कुरा थाहा पाएर ती भिक्षु सबैबाट निन्दित मात्र भएनन्, दण्डित पनि भए।

एउटी अर्की भिक्षुणी थिइन्, अत्यन्तै राम्री, उनको आँखाबाट सर्वसाधारण आकर्षित थिए। अथवा भनौं, त्यो आँखाले त्यसैत्यसै लट्ठ पारिदिन्थ्यो। विषय वासनाबाट टाढिएर धर्म अभ्यास गर्न आएकी भिक्षुणीलाई यस्ता आँखाको कुनै अर्थ थिएन। भिक्षाटन गर्न जाँदा र भिक्षाटनबाट फर्कदा छिल्लिएका मान्छे उनको पछि मात्रै लाग्दैनथे, यौनजनित प्रस्ताव राख्न पनि भ्याउँथे। यस्ता कुराले आजित हुनु स्वाभाविक हो। साथै धर्म अभ्यास गर्न सुन्दर आँखाको जरुरत छैन पनि। यही भएर ती भिक्षुणीले आफ्ना सुन्दर आँखा झिकिन् र अन्धी भइन्। त्यसपछि मान्छे उनको पछि लाग्न छाडे।

उत्पलवर्णा नामकी भिक्षुणी पनि अन्यन्तै सुन्दरी थिइन्। सुन्दरी भएकै कारण गृहस्थीमा विवाहका लागि माग्न आउनेहरूको ताँती थियो। छोरीको विवाह कसैसँग गरुन्जेल अरुको कोपभाजन हुनुपर्ने स्थितिले बाबु असमन्जसमा परेका थिए। त्यही बेला उनले विवाहको झन्झटबाट मुक्त हुन भिक्षुणी बन्ने निर्णय गरेकी थिइन्। उनीप्रति आशक्त पुरुषमा उनको मामाका छोरा नन्द पनि थिए।

बौद्ध धर्ममा ध्यान अभ्यासलाई ठूलो महत्व दिइन्छ। विहारभित्रै ध्यान गर्न सकिने भए पनि अझ एकान्तका लागि जंगलमा जाने गरिन्छ। यस्तै ध्यानका लागि भिक्षुणी उत्पलवर्णा एकान्त जंगलको सानो कुटीमा जान्थिन्। यो कुरा मामाको छोरालाई थाहा भयो र एक दिन कुटीभित्र लुकेर बसे। त्यस दिन ध्यान गर्न आएकी उत्पलवर्णालाई जबर्जस्ती करणी गरे पनि। बौद्ध ग्रन्थमा उल्लेख भएअनुसार बलात्कारको कुकर्म गरेर निस्केको पुरुषको पाप यति धेरै बढेको थियो कि, यो पापको रापले जलेर उतिखेरै मृत्यु हुनपुग्यो। नन्दले जबर्जस्ती करणी गर्दै गरेको वा गरिसकेपछि उत्पलवर्णालाई कस्तो लाग्यो होला ? कसैका लागि यो सोधाइ अमर्यादित, अश्लील र आपत्तीजनक भए पनि यहाँ तात्विक अर्थमा महत्वपूर्ण छ। यो प्रश्न स्वयं बुद्धबाट सोधनी भएको थियो।

उत्पलवर्णाकै शब्दमा ‘न सुख, न दुःख’ को अनुभव भयो। उनी अर्हत् भइसकेका कारण काम राग आदि क्लेशहरूको भाव स्वतः निभिसकेको बत्तीजस्तै भइसकेको थियो। यो घटनापछि बुद्धको अनुरोधमा भिक्षुहरूको सुरक्षामा राज्यले विशेष ध्यान दिन थाल्यो।

बुद्धले धर्म प्रचार गर्न थालेको सुरुका दिनमा होला, एक भिक्षु भिक्षाटनका क्रममा आफ्नै घरमा पुगे। उनी विवाह गरेर कुनै सन्तान पाउनुअघि नै भिक्षु बन्न आएका रहेछन्। आमाबाबुले छोरालाई पुनः गृहस्थ बन्न लाख अनुरोध गरे। तर मानेनन्। अन्तिममा बुहारीको कोख भरिदिन आग्रह गरे। त्यतिन्जेल भिक्षु वा भिक्षुणीले यौन सम्बन्ध राख्न हुन्छ वा हुन्न भन्ने नियम स्पष्ट भइसकेको थिएन। काम विषयमा मिथ्याचार गर्न नहुने पञ्चशीलले यसलाई सम्बोधन गरेको छैन किनभने यही शील पालना गर्ने गृहस्थले आफ्नी श्रीमती वा श्रीमान्बाहेक अरूसँग सम्बन्ध बनाउँदै नहिँड्नु भन्ने स्पष्ट छ। ती भिक्षुले आमाबाबुको इच्छाबमोजिम बुहारीको कोख भरिदिए।

यो कुराको चर्चा समाजमा भयो र स्वयं बुद्धले सोधनी गर्दा सबै वृत्तान्त बताए। र, यस सम्बन्धमा के गर्नुहुन्छ वा के गर्नु हुँदैन भन्ने कुरा स्पष्ट भइनसकेका कारण यस्तो हुन पुगको कुरा स्वीकार गरे। त्यही बेला बुद्धले भिक्षुभिक्षुणीलाई यौन जीवन त्याज्य रहेको स्पष्ट पारे। गृहस्थ जीवन छाडी प्रव्रजित भई विहारमा भिक्षुभिक्षुणी हुन धर्म अभ्यासमा यौन जीवन बाधक हुने भएकाले यसलाई पूर्णतः त्याग्नु पर्ने विनय बनेको बुझ्न सकिन्छ। आफ्नो र पारिवारिक जीवनलाई ध्यानमा राख्न गृहस्थले व्यभिचार नगर्ने शील पालना गर्नु पर्छ। 

के स्पष्ट भयो भने, जसले अर्हत् पद प्राप्त गर्न सफल भयो उसका लागि यौनको केही अर्थ रहेनछ। यस अवस्थासम्म पुग्ने धार पक्रिसकेकाहरू सत्मार्गमा लागेका त हुन तर विचलित हुने संभावना केही मात्रामा हुँदो रहेछ। मार्गफलमा प्रतिष्ठित भइनसकेकाहरू यौनका मामिलामा विचलित हुने संभावना प्रबल हुन्छ। वैशालीकी गणिका आम्रपाली बुद्धको दर्शन गर्न आउँदा बुद्ध साधारण भिक्षुहरूलाई आँखा चिम्लन लगाउँथे रे, मन विचलित होला भनेर। तर अर्हत् भिक्षुका सम्बन्धमा यो कुरा लागू हुँदैन।
बुद्धको जवाफ बडो सटिक छ, कुनै महिलालाई हेर्नु नै परे होस सम्हालेर हेर्नुपर्छ। जे जति नराम्रा काम कुरा हुन्छन्, बेहोसीमै हुने हो। यही भएर सदैव सचेत रहन होसपूर्वक जीवन जिउनमा बुद्ध जोड दिन्थे। मान्छे धेरै प्रकारले बेहोस हुने र बेहोसमा गरिने कामहरूले नकारात्मक नतिजा दिन्छ। जाँडरक्सी मात्र नभई अन्य मादक पदार्थ  सेवनले मान्छेलाई लठ्याउने र नकारात्मक काम गर्न पनि हौस्याउने हुँदा यी कुराबाट पर बस्न भनिएको हो। पञ्चशीलमा यो पनि समावेश गरिएको छ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad