१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मलेसियाली आरोही चिनको चार दिनपछि उद्धार

आरोही वुई किन चिनलाई शुक्रबार उद्धारपछि अक्सिजन दिइँदै। तस्बिर सौजन्य : सेभेन समिट ट्रेक्स

पोखरा - अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण मार्गको ७ हजार पाँच सय मिटर उचाइमा चार दिनदेखि हराइरहेका मलेसियाका आरोही वुई किन चिनको शुक्रबार बिहान सकुशल उद्धार गरिएको छ। गत मंगलबार दिँउसो आरोहण सकेर फर्कने क्रममा हराएका आरोही चिन अर्धचेत अवस्थामा फेला परेको उद्धारकर्ताले बताएका छन्।

उद्धारपछि चिनलाई हेलिकोप्टरबाट सिधै काठमाडौंस्थित मेडिसिटी अस्पताल पु¥याइएको र आइसियूमा राखी उपचार भइरहेको सेभेन समिट टे«क्सका म्यानेजर थानेश्वर गुरागाईंले बताए। मेडिसिटी व्यवस्थापन तथा अन्तर्राष्ट्रिय प्याटिन सर्भिसका तेन्जिङ कुन्सल बज्राचार्यले चिनको शुक्रबार बिहान ११ बजे इमर्जेन्सीमा भर्ना गरिएको जानकारी दिए। उनका अनुसार चिनको अवस्था गम्भीर भएकाले आइसियूमा राखिएको हो।

सेभेन समिटले नै चिनसहित ३१ जनाको टोली अन्नपूर्ण प्रथम आरोहणमा पठाएको थियो। चार दिनदेखि खाना र अक्सिजनको अभाव तथा चिसोले थलिँदा चिन अर्धचेत अवस्थामा पुगिसकेको म्यानेजर गुरागाईंले बताए। ‘मान्छे होसमा मात्र थिए। अवस्था निकै नै चिन्ताजनक थियो,’ उनले भने, ‘उद्धारमा एक दिन मात्र ढिलाइ भएको भए जे पनि हुनसक्थ्यो।’ उनका अनुसार बिहीबार दिँउसो ६ हजार पाँच सय मिटर उचाइको क्याम्प–३ मा पु-याइएका चारजना शेर्पा चिनको उद्धारका लागि ७ हजार पाँच सय मिटरसम्म उक्लिएका थिए। चिनलाई फेला पारेपछि उनीहरूले रातभर लगाई बोकेर क्याम्प–३ मा झारेका थिए। त्यसपछि शुक्रबार बिहान गएको सिम्रिक एयरको हेलिकोप्टरले उनलाई लङलाइन रेस्क्यू (डोरीमा झुन्ड्याएर) मार्फत अन्नपूर्ण आधार शिविरसम्म ल्याएको थियो। आधार शिविरबाट उपचारका लागि सिधै काठमाडौं पठाइएको थियो। ‘निकै नै साहसिक उद्धार हो। जोकोहीले यस्तो उद्धार गर्न सक्दैन,’ गुरागाईंले भने।

शुक्रबार बिहान सिम्रिक एयरको हेलिकोप्टरले चिनलाई लङलाइन रेस्क्यू (डोरीमा झुन्ड्याएर) मार्फत अन्नपूर्ण आधार शिविरसम्म ल्याएको थियो।

सिम्रिक एयरका पोखरास्थित प्रमुख कमल गौतमका अनुसार क्याप्टेन विवेक खड्काले उडाएको हेलिकोप्टरले चिनलाई शुक्रबार उद्धार गरेको थियो। सिम्रिककै अर्का क्याप्टेन सिद्धार्थजंग गुरुङले बिहीबार बिहान अन्नपूर्ण प्रथमको झन्डै ७ हजार पाँच सय मिटर उचाइमा चिनले हात हल्लाइरहेको अवस्थामा भेटेका थिए। तर, बिहीबार दिनभर प्रयास गर्दा पनि चिनको उद्धार हुन सकेको थिएन।
आरोहण सकेर फर्किने क्रममा चिन र उनका शेर्पा पछाडि परेका थिए। साथमा रहेका शेर्पाले पनि अक्सिजन सकिन थालेको भन्दै चिनलाई बीचैमा छाडेर तल ओर्लिएका थिए। तर पछि खोजीमा जान नसक्दा चिन एक्लै परेका थिए। टोलीका सबै आरोही सदस्य र सहयोगी शेर्पाहरू बुधबार नै फर्किसक्दा पनि चिन नफर्किएपछि परिवारका सदस्यले पदयात्रा बिमा गरेको ‘ग्लोबल इन्स्योरेन्स इन्टरनेसनल’ लाई उद्धार र खोजीका लागि गुहारे पनि तत्काल खोजीमा पहल नभएपछि परिवारका सदस्यले सिम्रिक एयरलाई खोजिदिन आग्रह गरेका थिए।

चिनले यसअघि २०१८ को मेमा सगरमाथा आरोहण गरेका थिए। त्यसबाहेक अरू हिमाल आरोहणको अनुभव पनि उनीसँग थियो। चिन स्वास्थ्यकर्मीसमेत हुन्। अन्नपूर्ण प्रथमको आरोहण अरू आरोहणको तुलनामा निकै नै जोखिमपूर्ण रहेको बताइएको छ।

प्रकाशित: १४ वैशाख २०७६ ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App