१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काकाकुल काेल्टी

खाेलाबाट पानी बोक्दै महिलाहरु।

बाजुरा - कोल्टीका नवराज भारती, बूढीनन्दा नगरपालिकाको काम कारवाहीप्रति असन्तुष्ट मात्र छैनन्, नामको मात्र नगरपालिका घोषणा गरिएकोमा आक्रोशित पनि छन्। नगरको न्यूनतम मापदण्ड र सुविधा पूरा नभएरै नगरवासी भन्नुपर्दा उनलाई लाज लागेको छ।

‘कर तिर्नुपर्ने लगायत परिचय नगरपालिकाका नाममा दिए पनि वास्तविकता ठिक उल्टो छ,’ भारतीले भने। न खानेपानी सुविधा न विजुली बत्ती दुर्गम गाउँभन्दा अव्यवस्थित र असुविधा नगरपालिकाको केन्द्र छ,’ उनले थपे।

नगरपालिका घोषणा भए पनि त्यसअनुसार सुविधा नभएको भन्दै भारती जस्तै अन्य स्थानीय पनि दिक्क छन्। नगरपालिकाको केन्द्र राखिएको कोल्टी बजारमा खानेपानी हाहाकार छ। बिजुली नबलेको महिनै बित्न लाग्यो। तर नगरपालिका मौन छ। 

मार्तडीपछिको दोस्रो ठूलो बजार क्षेत्र भएको स्थान हो कोल्टी। नियमित विमान उडान हुन्छन्, हुम्ला, मुगु र कालिकोटसहित बाजुराका चार वटा स्थानीय तहको चहलपहल बाक्नो हुने गर्छ। ५ हजार बढीको संख्यामा बजारमा होटल पसल मात्र छन्। तर सुविधा शून्य जस्तै रहेको व्यापारीको गुनासो छ।
   
सडक निर्माणको क्रममा पानीको पाइप र बिजुलीका लागि बनाइएको नहर भत्किएको छ। तर त्यो समस्या कतिसम्म सुनाउने हो, थाह नभएको भन्छन्, हिरेन्द्र बोहरा। बोहरा कोल्टीमा पसल सञ्चालन गरिबसेका छन्। खुद्रा तथा स्टेसनरी पसल सञ्चालन गर्नेहरुलाई कति समस्या छ, तर होटल सञ्चालन गर्नेलाई कत्ति समस्या होला ?’ बोहरा उल्टै प्रश्न गर्छन्।

स्थानीयले ३० मिनेट टाढा हिँडेर जुड्डीगाड खोलाको पानी बोकेर खाने गरेका छन्। खोलामा बगिरहेको पानी दूषित आफैंमा छँदै छ, त्यसैमा खच्चड, मान्छे बोकाएर स्थानीयले पानी किनेर खाने गरेका छन्। कोल्टी, तर अवस्था हेर्दा दुर्गम गाउँको भन्दा फरक छैन।

बिजुलीको समस्या दशकदेखि कोल्टीवासीले भोग्दै आएका छन्। ७ करोड बढी लगानीमा निर्माण गरिएको जुड्डीगार्ड लघुविद्युत आयोजना कहिले नहर भत्किएर, कहिले मेसिन बिग्रिएर अवरुद्ध हुने गरेको छ। सञ्चालनदेखि बिजुली कहिल्यै नियमति छैन। तैपनि नगरपालिकाले अर्को विकल्प सोचेको देखिदैन्।

कोल्टीवासीले अरु विकास नभए पनि पानी र बिजुली मागिरहेका छन्। योजना सम्झौताका लागि आउने, वडामा सिफारिसका लागि आएकाहरु फोटोकपी नहुँदा रित्तोहात फर्किने गरेका छन्। तर जनप्रतिनिधिहरु भने पहल भईरहेको र समाधान हुने भन्दै जवाफ दिन ठिक्क छन्।

पानीकै नाममा नगरपालिकाले बर्सेनि लाखौंको बजेट खर्च गरेको छ। जिल्ला खानेपानी कार्यालयबाट पनि कुनै वर्ष नबिराई खानेपानीकै लागि योजना जाने गरेको छ। बिजुलीकै नाममा ७ करोड बढी रकम उपभोक्ता समितिले खर्च गरिसकेका छन्, तर पनि कोल्टी बासीले न त नियमित खानेपानी पाएका छन्, न त बिजुली बत्ती नै।

कोल्टी बजारमा मात्र ८ हजार बढीको बसोबास छ। क्याम्पसदेखि विमानस्थल, उच्च मावि देखि बुढीनन्दा नगरपालिकाको कार्यालय। तरपनि अवस्थामा सुधार आएको छैन्। स्थानीय सरकार गठनकै २ वर्ष पुग्न लाग्दा पनि कोल्टीको खानेपानी समस्या सधान गर्न सकेको छैन्। जनताको सरकार भनिएको स्थानीय तहका प्रतिनिधी समस्यामा बेखबर बस्ने गरेको आरोप स्थानीयको छ।

यता नगर उपप्रमुख सृष्टी रेग्मीले भने तत्काल समाधानका लागि पहल भईरहेको बताएकी छन्। सडक निर्माण गर्दा समस्या भएको हो, क्षति भएको पाइप खरिद गरेर भएपनि तत्काल खानेपानी सुचारु हुन्छ, विजुलीको नहर मर्मत गरेर सञ्चालनमा आउने रेग्मीको भनाइ छ।

नगरप्रमुख पदम कुमार गिरीले भनेपछि फोन गर्ने भन्दै फोन काटिदिए। उसो त नगरप्रमुख उपप्रमुख र प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’का प्रदेशसभा सदस्य बल्देव रेग्मी भएकै वडा कोल्टी हो। सांसद रेग्मीले भने स्थानीय सरकारले जिम्मेवार हुनु पर्ने बताए। चिन्ता र सरोकार मेरो पनि हो, तर सहकार्य र समन्वय स्थानीय सरकारबाट गरिए सहयोग गर्न तयार रहेको रेग्मीको भनाइ छ।


 

प्रकाशित: १३ वैशाख २०७६ १३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App