१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

निःशुल्क पढ्दै भूकम्पका बालक सोनिश

२०७२ वैशाख १२ गते शनिबार गएको विनाशकारी महाभूकम्पमा घर भत्किएर २२ घण्टापछि उद्धार गरिएका बालक सोनिश अवालले निःशुल्क रूपमा पढ्दै आएका छन्। भक्तपुरको मिवाछें व्यासीस्थित एभरेस्ट इगलिस स्कुलले उनलाई निःशुल्क पढाइरहेको छ।

सोनिश यो वर्षको नयाँ शैक्षिक सत्रमा जुनियर केजीमा पुगेका छन्। नर्सरीबाट पास भएर उनी यो वर्ष जुनियर केजीमा पुगेका हुन्।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सोनिशलाई आफूहरुले निःशुल्क पढाइरहेको बताए। सोनिशको अभिभावकले छोरा सोनिशलाई आफ्नो स्कुलका अध्ययन गराउन चाहेको तर शुल्क तिर्न सक्ने क्षमता नभएको पाएपछि निःशुल्क पढाएको प्रिन्सिपल राजभण्डारीले जनाए। राजभण्डारीले कक्षा ५ सम्म निःशुल्क पढाइदिने नागरिकलाई प्रतिवद्धता जनाए।

कक्षा ६ देखि वीरेन्द्र सैनिक आवासीय माविमा सेनाले निःशुल्क पढाइदिने प्रतिवद्धता यसअघि नै सार्वजनिक गरिसकेकाले त्यसअघिसम्मको कक्षा ५ सम्म निःशुल्क रूपमै आफूहरुले पढाइदिने उनले बताए।

‘हामीले उनलाई गत वर्ष नर्सरीमा भर्ना लिएर निःशुल्क पढाउन थालेका थियौं,’ उनले नागरिकसँग भने।

नर्सरी, जुनियर केजी, सिनियर केजी, एकदेखि पांँचसम्म गरी आठ वर्ष निःशुल्क पढाइदिने प्रतिवद्धता उनले व्यक्त गरे। जुनियर केजीमा मात्रै एक वर्ष स्कुलमा भर्ना शुल्कसहित झण्डै ८५ हजार रूपैयाँ शुल्क लाग्ने स्कुलले जनाएको छ।

२०७१ मंसिर २९ गते जन्मेका सोनिश यसअघि गत वर्ष पहिलो पटक भक्तपुर नगरपालिका २ व्यासीस्थित एक्टिभ इन्सट्रक्सनल मोडेल स्कुल (एम्स्) मा कक्षा नर्सरीमा भर्ना भएका थिए। तर, त्यसको केही समयपछि भने उनलाई एभरेस्ट स्कुलले निःशुल्क पढाउन थालेको हो।

नागरिक दैनिकमा ‘स्कुल जान थाले भूकम्पमा बचेका सोनिश’ शीर्षकको समाचारमा सोनिशका अभिभावकले एभरेस्ट स्कुलमा मिवाछें भर्ना गर्न चाहे पनि आर्थिक अभावले नसकेको कुरा उल्लेख गरेपछि निःशुल्क पढाएको स्कुलले जनाएको छ।

सोनिशलाई भूकम्पको २२ घण्टापछि नेपाली सेनाले जिवितै सकुशल उद्धार गरेको थियो।

प्रकाशित: १३ वैशाख २०७६ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App