१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

बेहाल सातदोबाटो–गोदावरी सडक

सडकभरी खाल्डा छन्। दोहोर लेनमा सवारीको लाम छ। सडककोे धुलोले आसपासमा कुहिरो लागेजस्तै छ। बटुवादेखि सवारीचालकसम्म घुलाम्मे छन्। सातदोबाटोबाट पर्यटकीय क्षेत्र गोदावरी प्रवेश गर्ने मुख्य सडकखण्डको अवस्था हो यो।
सरकारी निकायले भत्केको सडक मर्मतमा चासो नदेखाउँदा एक वर्षयता सातदोबाटो गोदावरी सडक जीर्ण बन्दै गएको हो। दुई वर्ष अघिसम्म यो सडकलाई भिभिआइपी रोड भनेर चिनिन्थ्यो।

ललितपुर महानगरपालिकामा पर्ने हात्तीवन–हरिसिद्धि सडकखण्ड कच्ची सडकजस्तै भएको छ। यस सडकखण्डमा साझा यातायात सञ्चालनमा आएपछि झन् जाम बढेको छ। साँघुरो सडकलाई मर्मत नगरी ठूला बस सञ्चालन गर्दा समस्या आएको स्थानीयवासी बताउँछन्। ‘सडक भत्किएर खाल्डामात्रै देखिन्छ, यसलाई बनाउन सरकारी निकायले चासो दिएनन्,’ हात्तीवनका स्थानीय सन्त घर्तीमगरले भने,’ ‘सडकको अवस्था नाजुक बन्दा दैनिक ओहोरदोहारमा समस्या भइरहेको छ।’

सडक साँघुरा भएकै कारण यात्रुले जामको सास्ती खेप्नुपरेको छ। हरिसिद्धि कर्मनर्सा छेवैमा सडक साघुँरो भएपछि मालवहाक गाडी दोहोरो रूपमा चल्न सक्ने अवस्था पनि छैन। महानगरपालिका– २८ र २९ वडामा पर्ने यस सडकको अवस्था सुधार्नको लागि महानगरले पनि चासो दिएको छैन। महानगरपालिकाका यी दुई वडाले बेलाबेलामा खाल्डाखुल्डी पुर्न ग्राबेल बिछ्याउने गरेको देखिन्छ। तर, उक्त ठाउँमा पिच गरिँदैन। यही सडकअन्तर्गत नै पर्ने पानी ट्यांकी नजिकैको सडकको अवस्था पनि जीर्ण छ। यस स्थानमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरी बताउँछन्।

गोदावरी नगरपालिका– ३ मा पर्ने टौखेल क्षेत्र आसपास केही भाग मात्रै फराकिलो पारिए पनि अहिले धुलो र हिलोका कारण सडक भत्किएको टौंखेलमा स्थानीय श्याम महर्जनले जानकारी दिए। उनले पटक–पटक नगरपालिकालाई हार गुहार गर्दा पनि मर्मत सम्भारमा चासो नदिएको उनको आरोप छ। ‘सडक भत्किएको लामो समय भयो, हामीले सरकारी निकायलाई सडक बनाउन धेरै माग ग-यौं। तर, सरकारी निकायले चासै दिएनन्,’ उनले भने।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले असारसम्म गोदावरी क्षेत्रको सडक कालोपत्रे हुने दाबी गरे। उनले सडक डिभिजन कार्यालय र सडक विभागसँग सहकार्य गरेर काम सुरु भइरहेको जानकारी दिए। ‘यो सडक भत्किएको लामो समय भयो,’ उनले भने, ‘जनप्रतिनिधि आइसकेपछि केही ठाउँमा फराकिलो पनि बनाइयो, अबको केही महिनामै यसलाई पिच गर्छौँ।’

प्रकाशित: १३ वैशाख २०७६ ०५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App