१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कमीकमजोरीबाट पाठ सिक्ने प्रतिबद्धता

नेपालगन्ज – कार्यवाहक राष्ट्रपति नन्दकिशोर पुनले आगामी नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि गण्डकी प्रदेशलाई झन्डा हस्तान्तरण गरेसँगै आठौं राष्ट्रिय खेलकुद औपचारिक रूपमा समापन भएको छ।

विभिन्न वाचा र अड्चनका बावजुद वि.सं. २०३८ सालदेखिको इतिहास बोकेको राष्ट्रिय खेलकुदको नवौं संस्करणमा गण्डकी प्रदेशमा भेट्ने वाचासहित सम्पन्न भएको हो। सहभागी टोलीको मार्च पास र नेपाली सेनाको नृत्य गरी सामान्य तरिकाबाट समापन समारोहको अन्त्य गरिएको थियो। समापन समारोहमा कार्यवाहक राष्ट्रपति पुनले यस पटक भएका कमीकमजोरीबाट पाठ सिक्दै गण्डकी प्रदेशमा भव्यताका र समयमै सम्पन्न गर्न सन्देश दिँदा सरोकारवालालाई एकताबद्ध भएर त्यसका लागि लाग्न सुझाएका थिए। यस पटक केही कमजोरीहरू भएको औल्याउँदै कार्यवाहक राष्ट्रपति पुुनले गण्डकी प्रदेशमा आयोजना गर्नका निमित्त छिट्टै कार्य अगाडि बढाउन खेलकुदलाई निकायलाई निर्देशन दिएका थिए।

त्यससँगै राष्ट्रपति पुनले नवौं संस्करण २०७७ सालमा गर्नका लागि गण्डकी प्रदेशका अध्यक्ष सम्पन्न श्रेष्ठलाई झन्डा हस्तान्तरण गरेका थिए। सोही अवसरमा राखेपका बोर्ड सदस्य अस्मिता गुरुङलगायतको टोलीले आगामी वि.सं.२०७७साल फागुन २० देखि २७ सम्म नवौं संस्करण गर्ने वाचासहित संयुक्त रूपमा झन्डा फहाराएका थिए।

सोही अवसरमा समापन समारोहको अध्यक्षता गरेका राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाले यस पटक भएका गल्ती नवौं संस्करण नदोहोरिने वाचासहित गण्डकी प्रदेशमा समयमै नवौं संस्करण हुने दाबी गरेका थिए। उनले नवौंका लागि आवश्यक धेरै पूर्वाधार अहिले नै बनिसकेकाले गण्डकी प्रदेशमा समयमै आयोजना हुने बताएका हुन्।

आयोजक प्रदेश–५ का अध्यक्ष भीम ओलीले ३३ वर्षसम्म दुई वर्षको अन्तरालमा हुन नसकेको राष्ट्रिय खेलकुद आफ्नो क्षेत्रमा समयमै भएकोमा खुसी व्यक्त गर्दै कयौं पूर्वाधारले यस क्षेत्र सजिएको उल्लेख गरे। यसअघि बुधबार नै राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकीलाई दिने निर्णय गरेको थियो।

युवा तथा खेलकुदमन्त्रीको अनुपस्थितिमा राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको बोर्ड बैठकले नवौं खेलकुदको आयोजनाका गण्डकी प्रदेशलाई दिएको थियो। प्रदेश–१ (साबिकको पूर्वाञ्चल) मा सातौं समापनकै अवसरमा नै आठौं प्रदेश–५ (मध्यपश्चिम) र नवौं (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति अनुरूप नवौं संस्करण गण्डकीमा गर्ने राखेपले बाध्यकारी निर्णय गरेको थियो।

त्यसैले दुई दर्जन सदस्यीयको बोर्ड बैठकमा ६–७ जना सदस्य मात्र सामेल भएका थिए। त्यो निर्णयसँगै गण्डकी प्रदेशमा नवौं संस्करण हुने भएको छ। यसअघि पोखरामा दोस्रो राष्ट्रिय खेलकुद २०४० मा आयोजना गरेको थियो। त्यसअघि अन्तिम दिन बुधबार त्रिभुवन आर्मी क्लबले पुरुष फुटबलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिसलाई हराउँदै आठौंमा १ सय ४०औं स्वर्ण पदक जितेपछि यस संस्करणको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो।

प्रतियोगिताको अन्तिम दिन बुधबार ४ खेलको प्रतिस्पर्धा सकिएसंगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिएको हो। आठौंमा पनि विभागीय टोलीले वर्चस्व कायम रहँदा शीर्ष तीन स्थान विभागले हात पा-यो। त्रिभुवन आर्मी क्लबले १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९ पदक टिम च्याम्पियनको उपाधि उचाल्यो। नेपाल पुलिस क्लबले ६२ स्वर्ण, ४७ रजत र ४६ कांस्य गरी कुल १५५ पदकसहित दोस्रो र एपिएफ क्लबले तेस्रो स्थान प्राप्त गर्दा ५३ स्वर्ण, ६९ रजत र ८०  कांस्यसहित कुल २०१ पदक पदक जित्यो।

प्रकाशित: १२ वैशाख २०७६ ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App