१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्विमिङ पुल र सुटिङस्थल निर्माण गर्नुपर्ने

पोखरा - ३७ वर्षपछि पोखरामा फेरि राष्ट्रिय खेलकुद प्रतियोगिता फर्किने भएको छ। २०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनापछि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने अवसर साढे तीन दशकको समय पर धकेलियो। सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा धरानमै आठौं नेपालगन्ज र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गर्ने सैद्धान्तिक सहमति गरिएको थियो।

त्यही निर्णयअनुसार बुधबार नवौं आयोजनाको जिम्मेवारीसहित झन्डा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति (गण्डकी प्रदेश) लाई दिइएको छ। नवौं प्रतियोगिता २०७७ साल फागुन २० देखि २७ गतेसम्म आयोजना गरिने निर्णयसमेत गरिएको छ।    

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा पोखरामै सागका केही खेल आयोजना गरिनेछन्। सागकै लागि पोखरामा आवश्यक भौतिक पूर्वाधार तयार पारिँदै छ। ‘नवौंको जिम्मेवारी गण्डकी प्रदेशले पाएको छ,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने¬, ‘अब केही पूर्वाधार बनाउनुपर्ने खाँचो छ।’ पोखरा रंगशालाभित्रै आवश्यक पूर्वाधार तयार छन्। फुटबल, क्रिकेट, आर्चरी, भलिबल, ह्यान्डबल, टेनिस, ब्याडमिन्टनदेखि मार्सल आर्ट खेलका लागि आवश्यक कभर्ड हल तयारी अवस्थामै छन्। ‘स्विमिङ पुल र सुटिङको पूर्वाधार तयार पार्नुपर्ने खाँचो छ,’ अध्यक्ष  श्रेष्ठले बताए।

ब्याडमिन्टन, टेनिस कोर्ट, बहुउद्देश्यीय कभर्ड हलको काम केही बाँकी छन्। क्रिकेट पेभेलियन बनाउनपर्नेछ। २०४० सालमा आयोजित प्रतियोगिताका लागि बनाइएको फुटबल प्यारापिट भत्काइएको छ। ब्याडमिन्टन कोर्ट र तत्कालीन तेक्वान्दो हल र अफिस कार्यालयबाहेक अन्य पूर्वाधार छैनन्। फुटबल मैदान र रनिङ ट्य्राक भने निर्माण गर्ने जिम्मेवारीसहित ठेकेदार कम्पनीले निर्माणको काम अघि बढाइसकेको अध्यक्ष श्रेष्ठले सुनाए। पहिलो राष्ट्रिय खेलकुद २०३८ सालमा सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करणसम्म आइपुग्दा झन्डै ४० वर्षको समय पूरा हुँदै छ। प्रत्येक दुई÷दुई वर्षमा आयोजना गरिने राष्ट्रिय खेलकुद प्रतियोगिता विभिन्न राजनीतिक घटनाक्रमसँगै समयमै पूर्वाधार निर्माणमा हुने ढिलाइले धकेलिँदै आएको छ।

‘पोखरा आफैंमा खेलकुदको सहर हो। खेलकुदका लागि बन्ने पूर्वाधार र प्रतियोगिताले पोखरालाई स्पोटर््स टुरिज्म सिटीका रूपमा विकास गर्नेछ,’ कास्की जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख प्रकाश बरालले भने, ‘खेलकुदको सहरले खेलकुद प्रतियोगितामार्फत खेलाडी, अफिसियललाई स्वागत गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितालाई नेपालकै इतिहासमा भव्य आयोजना गर्ने जमर्को गरेका छौं।’  

यस्तो छ इतिहास

बुधबार मात्रै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भयो। २१ वर्षअघि नेपालगन्जमा आयोजित प्रतियोगितामा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमार्फत खेलाडीले सहभागिता जनाएका थिए। १६ जिल्ला रहेको पश्चिमाञ्चलले २०५५ सालमा आयोजित चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा १३ स्वर्ण, १८ रजत र २१ कांस्य जितेको इतिहास छ। संघीय संरचनासँगै ११ जिल्लामा खुम्चिँदै बनेको गण्डकी प्रदेशले पुरानो विरासतलाई धान्दै नेपालगन्जमै आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १३ स्वर्ण पदक जितेर फर्किएको छ।

स्क्वासमा २, फुल कन्ट्याक्न्ट करातेमा ४, सुटिङमा २, प्याराग्लाइडिङमा २, सितेरियो करातेमा १, आइटिफ तेक्वान्दोमा १ र पुरुष ह्यान्डबलमा १ स्वर्ण पदक गण्डकी प्रदेशको नाममा लेखिएको छ। पदकतालिकालाई अध्ययन गर्ने हो भने  ११ जिल्लामै समेटिएको गण्डकीले तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकासको विरासतलाई कायमै राखेको छ। आठौंमा गण्डकीले १३ स्वर्ण, २१ रजत र ४४ कांस्य पदक जितेको छ। २०५५ सालमा आयोजना गरिएको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितामा अहिलेको भन्दा केही कम खेललाई समावेश गरिएको थियो। आठौंमा भने विभिन्न ३५ खेलमा गण्डकी प्रदेशले सहभागिता जनाई फर्किएको छ। चौथो खेलकुद प्रतियोगितामार्फत उदाएका विभागीय टोली नेपाली सेना र नेपाल पुलिस क्लबसहित पाँच विकास क्षेत्रका गरी १६२२ खेलाडीले विभिन्न खेलमा सहभागिता जनाएका थिए।

तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकासमार्फत सहभागी बनेको प्रतियोगितामध्ये २०६८ मा धनगढीमा आयोजना गरिएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक पदक २७ स्वर्ण पदक जितेको तथ्यांक छ। २७ स्वर्ण, ५२ रजत र ६५ कांस्य पदक जित्दै चौथो स्थानमा रहेको पश्चिमाञ्चलले तीन वर्षअघि २०६५ मा काठमाडौंमा आयोजित पाँचांै राष्ट्रिय खेलकुद प्रतियोगितामा भने चौथो स्थानमै रहे पनि पदक भने कम जितेको थियो। पाँचांैमा पश्चिमाञ्चलले २० स्वर्ण, २३ रजत र ४० कांस्य पदक आफ्नो नाममा लेखाएको पश्चिमाञ्चलले दुई वर्षअघि मात्रै विराटनगरमा आयोजित सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने इतिहासकै कमजोर प्रदर्शन रह्यो। सातौंमा पश्चिमाञ्चलले ८ स्वर्ण २१ रजत र ३८ कांस्य पदक जितेको अवस्थामा संघीय संरचनाअनुसार निर्मित गण्डकी प्रदेशलाई छैटौंको विरासत फर्काउनुपर्ने खाँचो छ।

‘छैटौंमा देखाएको प्रदर्शनलाई अब नवौं संस्करणमा दोहो¥याउँदै उत्कृृष्ट प्रदेश बन्ने अभियानका साथ कार्ययोजनासहित काम गर्नुपर्ने खाँचो छ,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दीपकबहादुर गोदारले भने, ‘त्यसका लागि जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिले पदक सम्भावित खेललाई विशेष ध्यानमा राखेर प्रशिक्षण अहिलेदेखि नै सुरु गर्नुपर्छ।’ पहिलो, दोस्रो र तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भने अञ्चलस्तरीय आयोजना गरिएको थियो। वीरगन्जमा आयोजित तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासम्म दोहोरी गीतलाई समेत समावेश गरिएको थियो। चौथोदेखि दोहोरी गीतलाई हटाइएको थियो।

प्रकाशित: १२ वैशाख २०७६ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App