१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जोशी, सिंघानिया र गौतम नागरिक नायक

काठमाडौं – नेपाल रिपब्लिक मिडियाको १० औं वार्षिकोत्सवका अवसरमा नागरिक नायक घोषणा गरिएको छ। पाटन दरबार क्षेत्रमा बुधबार साँझ आयोजित समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी, जनकपुरका सामाजिक अभियन्ता पवन सिंघानिया र काभ्रेका शिक्षक पूर्णबहादुर गौतमलाई नागरिक नायक घोषणा गरिएको हो।

उनीहरुलाई नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र ललितपुर महानगरपालिकाका मेयर चिरिबाब महर्जनले जनही एक लाख रूपैयाँ र सम्मानपत्र प्रदान गरे।

नेपाली कला संस्कृतिको विकास तथा समृद्धिका लागि पु-याएको योगदानका लागि जोशीलाई नागरिक नायकबाट सम्मानित गरिएको हो। त्यसैगरी सिंघानियाले सरकारी सहयोगबिना जनकपुरस्थित शवको दाहसंस्कार गर्ने झाडी र फोहोरैफोहोर रहेको गंगासागरको डिलमा स्वर्गद्वार बनाएका छन्।

यो ठाउँलाई सफा सुग्घर बनाएर नमुना स्वर्गद्वारको निर्माण गरेका हुन्। शवदाहका क्रममा एकछिन समय बिताउन सकस हुने त्यही ठाउँलाई सिंघानियाले करिब दुई करोड रुपैयाँ खर्चेर विपनाको स्वर्ग बनाएका छन्। यो ठाउँ किशोरकिशोरी र युवायुवती एकाबिहानैदेखि अबेर रातिसम्म थकाइ मार्ने, साथीहरूसँग भेटघाट गर्ने र डेटिङ स्पोट पनि बनेको छ।

काभ्रेका गौतम भने पारिवारिक सुखसयल छोडेर गाउँमा औपचारिक शिक्षाको थालनी गर्ने अभियन्ता हुन्। उनी सिन्धुपाल्चोकको मेलम्चीघ्याङ स्कुलमा ३४ वर्षदेखि प्रधानाध्यापक छन्। उनले नै यो विद्यालयलाई आफ्नै नेतृत्वमा स्थापित गरेका हुन्।

कार्यक्रममा मेयर महर्जनले नेपाल रिपव्लिक मिडियाले नागरिकहरुको बीचमा नागरिक सम्मान कार्यक्रम गरेर सराहनिय काम गरेको बताए। अर्को वर्ष पनि पाटनमै कार्यक्रम गर्न उनले आग्रह गरे।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले व्यावसायिक पत्रकारितामार्फत लोकतन्त्र सुदृढ बनाउने अभियानमा लागिरहने प्रतिबद्धता जनाइन्। भ्रष्टाचार र अनियमितताविरुद्ध रिपब्लिक मिडिया निरन्तर लागिरहने उनले स्पष्ट पारिन्।

मिडियाको १० औं वार्षिकोत्सव समारोहमा स्वागत मन्तव्य राख्दै निर्देशक ज्ञवालीले राज्यको नीति नियमभित्र रही व्यावसायिक पत्रकारितामार्फत लोकतन्त्र सुदृढीकरण तुल्याउन सहयोग पुर्याउने लक्ष्य रहेको बताइन्। ‘आम जनताको सूचनाको भोक मेटाउने कार्यमा सहभागी हुन पाएकोमा हामीलाई गर्व छ’, उनले भनिन्।

भुइँ तहका मान्छे र सरकारबीच मध्यस्थकर्ताका रुपमा, अनियमितता र विसङ्गतिविरुद्ध वाचडगका रुपमा बारम्बार खबरदारी गरिरहेको उनले जानकारी गराइन्।

कार्यक्रममा कलाकार मनोज गजुरेल, कवि श्रवण मुकारुङ, मोमिला जोशी, विप्लव ढकाल र नवराज पराजुलीले आफ्नो प्रस्तुति राखेका थिए। कार्यक्रममा कार्तिक नाचसमेत प्रस्तुत गरिएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App