१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सम्भावनाको खानी

तस्बिर: मोहम्मद हबिब/नागरिक

बुटवल - तिलोत्तमा–३, रुपन्देहीका कृष्ण गौतमले लामो समय वैदेशिक रोजगारीमा बिताए । प्रदेश सरकार आएसँगै फर्केर उनले आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै बुटवलमा होटल खोले । पछिल्लो समय निर्माणाधीन संरचना प्रदेश र केन्द्रका विकासे योजनाले उनलाई पर्यटन व्यवसायमा अझ धेरै लगानी गर्न हौस्याएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार भएपछि कम्तीमा १० वटा हरियो नम्बर प्लेटका स्कार्पियो सञ्चालन गर्ने योजना रहेको उनले सुनाए । गौतम प्रतिनिधिपात्र हुन् । प्रदेश ५ मा पछिल्लो समय पर्यटन व्यवसायमा लगानी विस्तार भइरहेको छ ।

रुपन्देहीका कहलिएका व्यवसायी बालकृष्ण भुसाल पनि पर्यटन क्षेत्रमा लगानी गर्ने सोचमा छन् । पाँच अर्ब बढीको लगानीमा चारवटा पाँचतारे होटल सञ्चालनको योजना बनाएका भुसालले ७५ प्रतिशत बाह्य लगानी भिœयाउन पहल भइरहेको जानकारी दिए । रुपन्देहीमा मात्रै पर्यटक लक्षित होटलको लागनी ३० अर्ब नाघिसकेको सिद्धार्थ होटल एसोसिएसन नेपालले जनाएको छ । पछिल्लो समय नेपालगन्ज र दाङमा पनि ठूला होटल खुल्ने क्रम बढेको छ । ट्राभल एन्ड टुर एजेन्सीमा पनि लगानी थपिएको छ ।

यो प्रदेशमा पर्यटनदेखि कृषिसम्म, उद्योगदेखि प्राकृतिक सम्पदासम्मले अथाह सम्भावना बोकेका छन्, त्यसको विवेकपूर्ण उपयोग गर्न सके समृद्धि यात्रामा छलाङ केही वर्षभित्रै सम्भव ।

स्वदेशी लगानीकर्ता मात्रै होइन विदेशी समेत प्रदेशको विकासमा सहकार्य गर्न र लगानी भिœयाउन इच्छुक देखिन्छन् । पछिल्लो एक वर्षमा मात्रै चीन, जर्मनी, अमेरिका लगायत मुलुकका राजदूतसहितको उच्चस्तरीय टोली र डिएफआइडीको टोलीले प्रदेश सरकारसँग प्रत्यक्ष भेटी विकासमा सहकार्य तथा लगानी गर्ने इच्छा देखाएका छन् । हिमाल, पहाड र तराई तीनवटै भूगोलको अनुपम संगम नै यो प्रदेशको मुख्य विशेषता हो । त्यससँगै बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीलाई अन्तर्राष्ट्रिय जगतसँग सिधा जोड्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगानी आकर्षणका मुख्य कारण हुन् । २०७१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थलको ७० प्रतिशत काम सकिएको छ । थाइल्यान्ड, म्यानमार, चीन, कतार, भारतलगायत मुलुकले उक्त विमानस्थलबाट उडान अनुमतिका लागि चासो देखाइसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीसँगै पश्चिम नेपालका पर्यटकीय, औद्योगिक तथा व्यापारिक सहरहरुसँग नजिकको दूरीमा रहेकाले धेरै मुलुकले यो विमानस्थलसँग प्रत्यक्ष जोडिन खोजेको बताउँछन्, विमानस्थल अयोजना प्रमुख प्रवेश अधिकारी । यो विमानस्थलदेखि २४ किलोमिटरको दूरीमा लुम्बिनी छ । करिब पाँच किलोमिटरको दूरीमा देशकै दोस्रो ठूलो भन्सार नाका बेलहिया छ । औद्योगिक नगरी भैरहवा र व्यापारिक केन्द्र बुटवल जोड्ने सडक ६ लेनको छ । भैरहवा–लुम्बिनी सडक चार लेनमा स्तरोन्नति हुँदैछ ।

लुम्बिनीलाई प्रदेश ४ को ढोरपाटन शिकार आरक्षसँग जोड्ने लुम्बिनी–गोरुसिंगे–ढोरपाटन सडक निर्माणाधीन छ । बुटवलमा निर्माणाधीन दुई अर्ब लगानीको अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्रको ७५ प्रतिशत काम सकिएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि सम्भवतः दक्षिण एसियाकै ठूलो सभाहल बन्दैछ । पाँच हजारजना अट्ने सो सभाहल पोहोरको वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी हुन् । लुम्बिनीमा ठूला सभा–सम्मेलन तथा ध्यान, योग शिविर सञ्चालन गर्न विश्व समुदायलाई यो सभाहलले आकर्षित गर्ने अपेक्षा गरिएको छ । नवलपरासी र कपिलवस्तुका बुद्ध स्थललाई लुम्बिनीसँग जोड्ने बुद्ध परिपथ निर्माणाधीन छ ।

 एसियाली विकास बैंकले पनि यहाँका सम्भावनालाई मध्यनजर गर्दै प्रदेशको पूर्वाधारमा लगानीको तीव्र इच्छा देखाएको छ ।

बन्दै गरेका यी संरचना र भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले यो प्रदेशको पर्यटन विकासमा कायापलट हुने विश्वास लिइएको छ । पछिल्लो समय एसियाली विकास बैंकले पनि यही सम्भावनालाई मध्यनजर गर्दै प्रदेशको पूर्वाधारमा लगानीको तीव्र इच्छा देखाएको छ । जसको पछिल्लो उदाहरण बुटवल–नारायणगढ चार लेन सडकको लगानीलाई मान्न सकिन्छ । विमानस्थलमार्फत बाह्य मुलुक लुम्बिनीसँग सिधा जोडिँदा त्यसको सकारात्मक प्रभाव कुन क्षेत्रमा बढी पर्छ भन्ने निक्र्यौल गरेरै एडिबीले बुटवल–नारायणगढ सडक स्तारोन्नतिलाई प्राथमिकता दिएको बताउँछन्, पर्यटनविज्ञ रामचन्द्र सेढाईं । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र यससँग जोडिएका पूर्वाधारले गण्डकी, प्रदेश नं. ३ र कर्णाली प्रदेशमा समेत प्रत्यक्ष लाभ विस्तार हुने सेढाईंको विश्लेषण छ ।

लुम्बिनीको बृहत्तर विकासको अभियान सन् १९६७ देखि सुरु भएको हो । बृहत्तर लुम्बिनीका अभियन्ता संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्त म्यानमारका नागरिक थिए । थान्त महासचिव हुँदा सन् १९६७ मा लुम्बिनी भ्रमण गरे । उनले लुम्बिनी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र बन्न सक्ने भन्दै बृहत्तर विकासमा राष्ट्रसंघले सहयोग गर्ने प्रस्ताव नेपाल सरकार (तत्कालीन राजा महेन्द्र) समक्ष पेस गरे । लुम्बिनी भ्रमणबाट फर्केपछि थान्तले इन्टरन्यासनल कमिटी फर डेभलपमेन्ट अफ लुम्बिनी नामक कमिटी गठन गरी एक मिलियन डलर आर्थिक सहयोग उपलब्ध गराएका थिए । लगत्तै नेपाल सरकारले लुम्बिनी विकास समिति गठन गर्यो । उ थान्तकै सक्रियतामा जपानका इन्जिनियर केन्जो टाङेलाई हायर गरी लुम्बिनीको व्यवस्थित विकासका लागि गुरुयोजना तयार गर्ने जिम्मा लगाइयो । केन्जो टाङेले तयार गरेको लुम्बिनी गुरुयोजना सन् १९७८ देखि सुरु भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले बताए । ४१ वर्षअघि सुरु भएको गुरुयोजना अहिलेसम्म ८० प्रतिशत सकिएको छ । बाँकी कामका लागि ६ अर्ब बजेट लाग्नेछ । कोषले तीन वर्षमा गुरुयोजना पूरा हुने दाबी गरे पनि केही दिनअघि लुम्बिनी आएका अर्थमन्त्री युवराज खतिवडाले गुरुयोजनाका लागि आवश्यक सबै बजेट नेपाल सरकारले दिन नसक्ने प्रतिक्रिया दिएका थिए । 

अर्थमन्त्रीको भनाइपछि फेरि पनि गुरुयोजना समयमै पूरा हुनेमा आशंका पैदा भएको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय जगतले बुझेको लुम्बिनीको महत्व र अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भित्रिन सक्ने समृद्धितर्फ सरकारले दूरगामी दृष्टि राख्न नसकेको तर्क पर्यटनविद्हरुको छ । ‘नेपालका लागि लुम्बिनी हिराखानी हो । यसमा गरेको लगानीले देशलाई दिगो समृद्धि दिन्छ भन्ने कुरालाई सरकारले बुझ्नु जरुरी छ,’ नेपाल एसोसिएसन ट्राभल्स एजेन्सी ‘नाटा’ प्रदेश ५ का अध्यक्ष बिष्णु शर्माले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सफल सञ्चालन तथा अधिकतम प्रयोगका लागि पनि लुम्बिनीको पर्यटन प्रवद्र्धन अत्यन्त जरुरी रहेको बताउँछन् पर्यटनविज्ञ रामचन्द्र सेढाईं ।
त्यसो त केन्द्र सरकारले सन २०२० लाई पर्यटन वर्ष मनाउने र २० लाख पर्यटक भिœयाउने योजना सार्वजनिक गरिसकेको छ । हाल नेपालमा वार्षिक ११ लाखको हाराहारीमा बाह्य पर्यटक आउँछन् । संघीय सरकारलाई उछिन्दै प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर सबा चार करोड बजेट सिध्याउने कार्यतालिका बनाएको छ । संघ र प्रदेश दुइटै सरकारले पर्यटनबाट समृद्धिको छलाङ लगाउने बताइरहे पनि लक्ष्य अनुरुप पर्यटक भिœयाउन र ती पर्यटकबाट मुलुकले आर्थिक लाभ लिन सक्ने खालका योजना भने ल्याएका छैनन् ।

लुम्बिनीमा वार्षिक डेढ लाखको हाराहारीमा विदेशी र सबा लाख बढी भारतीय पर्यटक आउँछन् । १२ लाखको हाराहारी आन्तरिक पर्यटक आउँछन् । यहाँ आउने पर्यटकमा बौद्ध धर्मावलम्बी मात्रै छैनन् । युरोपियन र अस्ट्रेलियाका पनि छन । पछिल्लो समय इराक, अफगानिस्तान, पाकिस्तान जस्ता मुस्लिम देशबाट समेत पर्यटक आएका छन् । तर, ती पर्यटकको संख्या नगन्य छ र आएका पर्यटक पनि लुम्बिनीमा एक रात नबसी भारत फर्कन्छन् । पर्यटकलाई भुलाइराख्ने खालका आकर्षक र सुविधा सम्पन्न संरचना, पार्क, बौद्ध दर्शन, कला, संस्कृति सम्बन्धी प्रस्तुतिहरु, लुम्बिनीलाई बुद्धमय बनाउने बौद्ध पूजा, ध्यान जस्ता कार्यक्रमको अभावसँगै लुम्बिनीबाहेकका बुद्ध स्थलको प्रचारप्रसार नहुनु नै पर्यटक नअडिनुको मुख्य कारण हो ।

लुम्बिनीबाहेकका बौद्ध सम्पदा अहिले पनि ओझेलमा छन् । कपिलवस्तुमा बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबार, ज्ञान पाएपछि पहिलोपटक आएर बसेको कुदान, कक्रुछन्द बुद्धको जन्मस्थान गोटिहवा, प्राचीन स्तुपा जस्ता महत्वपूर्ण बुद्धस्थल छन् । नवलपरासीमा बुद्धको अस्तुधातु रहेको रामग्राम, रुपन्देहीमा बुद्ध मावली देवदह छ । यसको पर्याप्त प्रचार, संरक्षण र सौन्र्दयीकरणमा ध्यान दिइएको छैन । ती स्थलसम्म पुग्ने सहज सडक र सुविधासम्पन्न यातायात नहुँदा चाहेर पनि पर्यटक त्यहाँ पुग्न सकिरहेका छैनन् । लुम्बिनी आएका २० प्रतिशत पर्यटकमात्रै तिलौराकोट पुगेको तथ्यांक छ । व्यवस्थित विकास र संरक्षण नहुँदा त्यहाँ पुगिसकेका पर्यटकलाई पनि ती सम्पदाले लोभ्याउन नसकेको तितो अनुभव पर्यटन व्यवसायीसँग छ ।
बुद्ध सर्किटका अध्येतासमेत रहेका पर्यटनविद् सेढाईंका अनुसार दिगो पर्यटनको मुख्य चुनौती भनेकै गुणस्तरीय पर्यटक भिœयाउनु र तीनको ‘लेन्थ अफ स्टे’ बढाउनु हो । त्यसका लागि तीन तहको पर्यटन क्षेत्र विस्तार गरी कार्ययोजना बनाउनुपर्ने खाँचो देख्छन्, उनी । पहिलो– धार्मिक, दोस्रो– शैक्षिक तथा अनुसन्धनात्मक र तेस्रो– पर्यापर्यटन । सेढाईंका अनुसार पहिलो र दोस्रो श्रेणीका पर्यटकका लागि लुम्बिनीसँगै कपिलवस्तु र नवलपारसीका बुद्ध स्थलको एकीकृत विकास गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमार्फत शैक्षिक केन्द्रको रुपमा विकास गर्ने योजना बनाउन सकिन्छ ।

पर्यापर्यटनका लागि लुम्बिनीनजिकका पहाडी जिल्लाको मनोरम प्राकृतिक सौन्दर्य र सम्पदाको सदुपयोग गर्नुपर्छ । स्थानीय कला संस्कृतिलाई जोड्नु पर्छ । पहाडकी रानी भनेर चिनिने पाल्पा पुग्न लुम्बिनीबाट डेढ घन्टा लाग्छ । प्युठानको स्वर्गद्वारी, बाँके र बार्दियाको रष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षसँगै रोल्पा रुकुमलाई जोडेर पर्यापर्यटन योजना बनाउन सके प्रदेश सरकारले लिएको ‘पर्यटनबाट समृद्धिको छलाङ’ नारा सार्थक हुने पर्यटनविज्ञ सेढाईंले बताए । प्रदेश सरकारले पर्यटन गुरुयोजना बनाएर व्यवस्थित रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । निजी क्षेत्रले पनि प्रदेशका महत्वपूर्ण भूगोल र सम्पदा समेटेर टुर प्याकेज, जिप सफारी तथा ट्रेकिङ प्याकेजका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।

दिगो पर्यटनका लागि कृषि र औद्योगिक विकासलाई पनि जोड्न सकिने तर्क गर्छन्, अर्का पर्यटन व्यवसायी सिपी श्रेष्ठ । कृषिका लागि पनि प्रदेश ५ उर्वर छ । सिक्टा, बबई र भेरी–बबई डाइर्भसन जस्ता राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न हुँदा बाँके, बर्दिया र दाङ कृषि पकेटको रुपमा विकास हुने निश्चित छ । प्रदेशका बाह्रवटै जिल्लामा कुनै न कुनै विशेषता रहेकाले तीनलाई उपयोग गर्दै पर्यटनसँग जोडन सकिने तर्क सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष श्रेष्ठको छ । सुविधासम्पन्न सडक, यातायात, पहाडी, जिल्लामा हिल स्टेसन, पार्क, ऐतिहासिक संग्रहालय, पैदलमार्ग जस्ता पूर्वाधार निर्माण गरी पर्यटन बजारलाई बृहत् बनाउनेतर्फ सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।

कृषिबाट समृद्धिको यात्रा थालेर पर्यटनबाट छलाङ मार्ने रणनीति लिएको प्रदेश सरकारले पनि लुम्बिनी नजिकका पहाडी जिल्लामा हिल स्टेसन, ऐतिहासिक तथा प्राकृतिक पार्क, संग्रहालय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण विकास तथा प्रचारप्रसार गरेर पर्यटन विकास गर्ने लक्ष्य लिएको छ । कृषिलाई स्मार्ट बनाउँदै पर्यटनसँग जोड्ने भनेको छ । त्यसका लागि प्रत्येक निर्वाचन क्षेत्रमा एउटा स्मार्ट कृषि भिलेज कार्यक्रम सुरु गरिएको छ । कर्मचारी समायोजन, संरचना र कानुन अभावमा पहिलो वर्ष सरकारको गति सुस्त देखिए पनि महत्वपूर्ण कार्यक्रमलाई आगामी वर्ष निरन्तरता दिइने मुख्यमन्त्री शंकर पोखरेलले बताउँदै आएका छन् । यो प्रदेशको विकासले अन्य प्रदेशको समृद्धिमा समेत सहयोग पुग्ने भएकाले केन्द्र सरकारले पनि यसमा विशेष ध्यान दिनुपर्ने अर्थविद्हरुको भनाइ छ ।

प्रकाशित: ११ वैशाख २०७६ ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App