१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विद्यालयमा ‘जन्ती बिदा’

१.आधारभूत विद्यालय परिहारपुरमा जन्तीको स्वागतका लागि पन्डाल(टेन्ट) तयार पारिँदै ।

सिरहा - विद्यालयको पठन पाठनदेखि बिदा सामान्यतः शैक्षिक क्यालेण्डर अनुसार हुन्छ। तर, मधेसका विद्यालयहरुमा बिदा शैक्षिक क्यालेण्डर बाहेक पनि बिदा हुन्छ ‘जन्ती बिदा’। अर्थात गाउँमा आउने बिहे जन्तीको खानपान र आवासका लागि विद्यालय बिदा दिइन्छ।

श्री जनता आधारभुत विद्यालय कर्जन्हा–६ बेताहाले सोमबार दुई वटा जन्तीलाई आतिथ्यता दिँदैछ। एउटा जन्ती दिउँसै आएर साँझ फर्किदैछ भने अर्को जन्ती साँझ आउँदैछ । जन्तीको आवासलय यही विद्यालय हो। जसका लागि सोमबार हाजिरी गरेर शिक्षकहरु विद्यालय छुट्टी (बिदा) दिए।

सोमबार दिउँसो साढे दश बजे सम्वाददाता यस विद्यालय पुग्दा महिला शिक्षक ललिता कुमारी कर्ण करिब १० जना विद्यार्थीलाई बरण्डामा राखेर हाजिर गर्दै थिइन् । विद्यालयमा आज पढाई हुँदैन उनले कारण खुलाइन,‘आज दुइ वटा जन्तीको आवास यसै विद्यालयमा व्यवस्था गरिएको छ।’ जन्ती बस्ने भएपछि विद्यालय छुट्टी गरिदिन हेडसरले भन्नुभयो उनले थपिन्,‘हाजिरी गरेर घर फर्किन्छौं।’

सोमबार मात्र नभई विद्यालय मंगलबारका लागि समेत बिदा दिइएको छ। कारण मंगलबार साँझ मात्र अर्को जन्ती फर्किन्छन्। जन्ती बस्ने भएपछि विद्यालयको कक्षा कोठाको साँचोसमेत बेहुली पक्षले लिएको उनले बताइन। 
यस विद्यालयमा शैक्षिक शत्र ०७५ मा जम्मा १ सय ७५ विद्यार्थी रहेको कर्णले बताइन। यस विद्यालयमा बाल कक्षादेखि कक्षा ५ सम्म पढाइ हुन्छ। गाउँमा जन्ती आउँदा अहिले मात्र विद्यालय बन्द भएको भने होइन। पहिलादेखि चल्दै आएको परम्पराले अहिले पनि निरन्तरता पाएको शिक्षक कर्णले बताइन।

सोमबार दिउँसो स्थानीय बेचन मुखियाकी छोरी रामशखीको बिहेका लागि धनुषाको डुमरीयाबाट जन्ती यस विद्यालयमा बास बस्दैछ। साँझ यो जन्ती फर्केपछि श्री मुखियाकी छोरी सुरेखा मुखियाको बिहेको जन्ती धनुषाकै ननुपट्टीबाट यसै विद्यायलमा रात्री बास बस्दैछ।

कर्जन्हा नगरपालिकाकै आधारभूत विद्यालय कर्जन्हा, परिहारपुरमा पनि सोमबार विद्यालय बिदा दिइएको छ। विद्यालय टाँसिएकै दक्षिण घर भएका उदगार साहको छोरी अस्मिताको बिहेका लागि सोमबार जन्ती आउँदैछन्। यो जन्तीको बासको व्यवस्था यसै विद्यालयमा गरिएको छ। आएका जन्तीलाई भोजभतेर खुवाउन र सुताउन विद्यालयमा राखिएको छ।

कर्जन्हा नगरपालिकाका बुद्धिजीवि प्रकाश कोइरालाले भने, ‘विद्यालय बन्द गरेर जन्ती राख्न प्रयोग गर्नु बिडम्बना हो।’ कुनैपनि निहुँमा विद्यालयको पठनपाठन बन्द वा अवरुद्ध हुनु हुन्न, उनले थपे, ‘विद्यालय जन्ती राख्न होइन, पठन पाठनका लागि प्रयोग हुनुपदर्छ।’

देशभर विद्यालय भर्ना अभियान जोडतोडका साथ चलेपनि मधेसलाई बिहेको मौसमले छपक्कै छोपेको छ। मधेसका गाउँमा जन्ती आउँदा विद्यालय जन्ती राख्ने केन्द्रको रुपमा दुरुपयोग भइरहेको छ। गाउँमा जन्ती राख्ने दलान हराउँदै गएपछि विद्यालय दुरुपयोग हुन थालेको स्थानीयहरु बताउँछन्। गाउँका अगुवा व्यक्तिहरूको आग्रह तथा दबाबमा विद्यालय जन्ती राख्ने केन्द्रको रुपमा दुरुपयोग हुँदै आएको कर्जन्हाका एक जेष्ठ नागरिकले भने। बिहेमा स्कुलमै जन्ती राख्न स्कुल विदा दिने मधेसको यी प्रतिनिधि घटना मात्र हुन। अहिले मधेसभरीका स्कुल बिहेका जन्ती राख्न विदा छ। जसका कारण सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको छ। विवाहका लागि विद्यालय नै छुट्टी दिने क्रमले विद्यार्थीको पढाइमा समस्या निमत्याउँदै छ। 

मधेसको ग्रामीण क्षेत्रमा विवाहमा आउने जन्ती विद्यालयमा राख्दा तीन÷चार दिनसम्म विद्यालयको पढाई प्रभावित हुन्छ। जन्ती राखेको विद्यालयमा सरसफाइ, कक्षाकोठा मिलाउनमै दुई दिनसम्म लाग्छ। बिहेका लागि दुई दिन जन्ती बस्छन्।
विद्यालयमा विद्यार्थीलाई पढाइबाट वञ्चित गरेर जन्ती राख्न नहुने सिरहाका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख डोलराज पाण्डेले नागरिकलाई बताए। ‘विद्यालयमा जन्ती राखेर विद्यार्थीलाई बिदा गर्नु अन्याय हो, उनले भने, ‘सबै विद्यालयमा विद्यार्थीलाई पढाइबाट वञ्चित गर्न नमिल्ने पत्राचार भएको छ ।

स्कुलमा बराती (जन्ती) आएकाले सरले छुट्टी दिनु भएको छ, आधारभूती विद्यालय कर्जन्हा ६ मा कक्षा ४ अध्यनरत्त रागीनी पासवानले भनिन,‘गाँउमा बराती आउँदा हाम्रो स्कुलमा छुट्टी हुन्छ।’ कक्षा ४ की राखी पासवानले भनिन्,‘स्कुलमा जन्ती आउँदा, राती नाच पनि हुन्छ, हामी नाच हेर्न चान्छौं, खुब मज्जा आउँछ।’ जन्तीलाई विद्यालयमै भोजभतेर गराएर कक्षा कोठामा बास बसाउँछन्। ‘गाउँमा कसैको घरमा पनि जन्ती आउँदा विद्यालय बन्द हुन्छ,’ कक्षा ३ का विद्यार्थी रामललित मुखियाले भने। 

प्रकाशित: १० वैशाख २०७६ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App