नेकपा एकता

सहमतिपछि चार जिल्लामा हेरफेर

मङ्गलबार, १० बैशाख २०७६, ०८ : ४५ टपेन्द्र कार्की

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको जिल्ला तहको एकता प्रक्रिया टुंग्याउन भागबन्डामा भएको सहमतिपछि पनि अन्तिम समयमा चार जिल्लामा हेरफेर गरिएको छ। पूर्वएमालेको भागमा परेका जिल्लामध्ये चार जिल्ला हेरफेरमा परेका हुन्। सहमतिअनुसार उदयपुर, खोटाङ र महोत्तरीको जिल्ला नेतृत्व पूर्वएमाले र अर्घाखाँची पूर्वमाओवादीको भागमा परेको थियो। तर दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले सोमबार बिहान त्यसमा हेरफेर गरेको स्रोतले बतायो। जसअनुसार उदयपुर, खोटाङ र महोत्तरी पूर्वमाओवादीलाई दिएर अर्घाखाँची मात्रै पूर्वएमालेले लिएको थियो।

अध्यक्षद्वय र वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको छलफलमा ती जिल्लालाई पूर्वएमालेकै भागमा राखिएको थियो। सहमति फेरिँदा पूर्वएमालेका जिल्ला अध्यक्ष अब सचिवको भूमिकामा रहेका छन्। उदयपुरका तत्कालीन एमाले अध्यक्ष ईश्वरमणि राउत सचिवालय सदस्य ईश्वर पोखरेल निकट मानिन्छन्। उनलाई पार्टीको जिल्ला सचिव बनाइएको छ। त्यस्तै खोटाङका बबी चाम्लिङ माधव नेपाल निकट मानिन्छन्। उनलाई पनि सचिव बनाइयो भने महोत्तरीका सौकीलाल यादव पनि नेपाल निकटकै जिल्ला अध्यक्ष हुन्। उनलाई पनि सचिव बनाइयो। ‘केही हेरफेर भए पनि नेपाल असन्तुष्ट हुनहुन्न। उहाँले राखेको मापदण्डअनुसार भएकाले त्यसलाई अन्यथा लिनुभएको छैन’, नेपाल निकट स्रोतले भन्यो।

नेता नेपाल सोमबार नेकपाले स्थापना दिवस मनाइरहेको कार्यक्रमको बीचमै बाहिरिएका थिए। यसबाट उनी एकता प्रक्रियामा असन्तुष्ट रहेको अर्थ लगाइएको छ। ‘साँखुमा सडक हस्तान्तरणसम्बन्धी कार्यक्रम थियो। उहाँ (नेता नेपाल) आफ्नो निर्वाचन क्षेत्रमा पर्ने साँखुको कार्यक्रममा सहभागी हुन जानुभयो। त्यहाँबाट फर्केर आएपछि पारिवारिक काममा व्यस्त हुनुभयो’, नेपालका स्वकीय सचिव मोहन गौतमले भने। उनका अनुसार साँखुको कार्यक्रम र पारिवारिक कार्यक्रम भएकाले त्यहाँबाट छिटो हिँड्नुपरेको हो।

सहमतिअनुसार पाँचथरमा राजकुमार भण्डारी, इलाममा राम राना मगर, झापामा चिन्तक पाठक, धनकुटामा राजेन्द्र राई, तेह्रथुममा लक्ष्मण तिवारी, संखुवासभामा हेमराज घिमिरे, मकवानपुरमा मनु सिग्देल, पाल्पामा नारायण आचार्य, अछाममा शेरबहादुर कुँवर, रौतहटमा कमल यादव, सर्लाहीमा रेवती पन्त, दाङमा टीकाराम खड्कालगायत १६ जिल्ला अध्यक्ष नेपाल पक्षका रहेको स्रोतले जनाएको छ। पूर्वमाओवादीको भागमा रहेको सोलुखुम्बु संयोगले पूर्वएमालेले पाएको छ। पूर्वमाओवादीबाट सोलुखुम्बुका दुई नेता केन्द्रीय सदस्य भएकाले जिल्ला अध्यक्ष र इन्चार्ज एकै समूहका भए भने अप्ठ्यारो हुन्छ भनेर सोलु पूर्वएमालेको भागमा परेको स्रोतले जनाएको छ। त्यसको साटो खोटाङ पूर्वमाओवादीको भागमा परेको हो।

नौ केन्द्रीय सदस्य बने जिल्ला सचिव
जिल्ला कमिटीको एकता प्रक्रिया मिलाउँदा नौजना केन्द्रीय सदस्य जिल्ला सचिव भएका छन्। तत्कालीन माओवादीतर्फका आठजना र पूर्वएमालेका एकजना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका हुन। उनीहरुले अब आफूभन्दा कनिष्ठको मातहत रहेर काम गर्नुपर्ने अवस्था आएको छ। केन्द्रीय सदस्यबाट सचिवमा घटुवा हुनेहरुमा डाचाराज वाग्ले (सर्लाही), युवराज भट्टराई (रौतहट), दावा तामाङ (सिन्धुपाल्चोक), श्रवण यादव (धनुषा), हिमाल शर्मा (काठमाडौं), शालिकराम जमकट्टेल (धादिङ), दधिराम न्यौपाने (रुपन्देही) र प्रमोदनारायण यादव (सिरहा) छन्। प्रमोदनारायण यादव मात्रै पूर्वएमालेका तर्फबाट केन्द्रीय सदस्यमा मनोनयन भएका थिए।

मोरङमा तत्कालीन एमालेको अध्यक्षसमेत रहेका र हाल केन्द्रीय सदस्यमा बढुवा भएका विनोद ढकाल अध्यक्ष बनेका छन्। पूर्वमाओवादीबाट जिल्ला अध्यक्ष बनाइएका धेरै नेता केन्द्रीय सदस्य भए पनि पूर्वएमालेबाट जिल्ला अध्यक्ष बन्नेमा ढकाल र कृष्ण राई मात्र केन्द्रीय सदस्य हुन्। पूर्वएमालेका तर्फबाट अध्यक्ष भएकाहरुले आफू सचिवमा बस्नुपरेको भन्दै असन्तुष्टि जनाएका छन्। खोटाङका बबी चाम्लिङ, उदयपुरका ईश्वरमणि राउत, कञ्चनपुरका तारा लामा, डडेल्धुराका डा. तारा जोशी, रामेछापका शान्तिप्रसाद पौडेल आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाएको भन्दै असन्तुष्ट भएका छन्।

नेकपाको एकतामा देशै खुसी हुनुपर्छ : ओली
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन एमाले र माओवादी केन्द्रको एकतामा देश नै खुसी हुनुपर्ने बताएका छन्। कम्युनिस्ट पार्टी स्थापनाको ७०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सोमबार प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो एकतामा कम्युनिस्ट पार्टीले मात्र होइन, देशले नै खुसी मनाउनुपर्छ किनभने यो स्थिरताको सुरुवात हो। देश अघि बढाउने कार्ययोजनाको एकता हो।’

ओलीले कुनै बेला कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीत ‘हामी जित्नेछौं एक दिन’ खुब गाउने गरेको सुनाउँदै भने, ‘आज कम्युनिस्टहरुले जितेको दिन हो।’ प्रधानमन्त्री ओलीले कांग्रेसका केही नेताले अझै पनि राजतन्त्र ब्युताउने सपना देखिरहेको बताउँदै विगतमा कांग्रेसका कारण प्राप्त उपलब्धि जोगाउन नसकिएको दाबी गरे। ‘उसको बानी सहयात्रीहरुलाई अविश्वास गर्ने र विरोधीहरुसँग मिल्ने छ। अहिले पनि त्यो बानी गएको छैन’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ति राम्रा काम गरिरहेको दाबीसमेत गरे। ‘गान्धारीले आँखामा पट्टी बाँधेकी थिइन् र केही देख्दिनथिइन्। अहिलेका केही केही मानिसले चेतनामा पट्टी बाँधेकाले सरकारको काम देखेका छैनन्’, उनले भने। अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गत वर्ष जनताले अत्यधिक माग गरेका तर समेट्न नसकिएका माग सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता हुन नदिने तानाबाना बुन्दै गर्दा एकता प्रक्रिया टुंगोमा पुगेको बताए। ‘यो पार्टीप्रति संसारभरिका न्यायप्रेमी जनसमुदाय, मुख्यतः श्रमजीवी र संसारभरिका कम्युनिस्टहरुले गहिरो गरी अवलोकन गरिरहेको स्थिति छ। त्यसकारण पनि संसारका कुनै पनि प्रतिक्रियावादीले एकतालाई रोक्न सकेनन्’, दाहालले भने। अध्यक्ष दाहालले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने बताए। ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षभित्र महाधिवेशन गर्ने उनको भनाइ थियो। जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लागेसँगै पार्टी एकता मूलभूत रुपमा टुंगिएको भन्दै उनले अब पार्टीलाई तलसम्म गतिशील बनाउनुपर्ने बताए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad