१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भन्सार कार्यालय रित्तै

रौतहट - रौतहटका छोटी भन्सार कार्यालय रित्तै देखिएका छन्। कर्मचारी एकजना पनि नहुँदा सुरक्षाकर्मीले नै कार्यालय खोल्ने गरेका छन्। रौतहटको बौद्धिमाई नगरपालिका अन्तर्गत बंकुल नाकामा रहेको छोटी भन्सार कार्यालयमा एकजना पनि कर्मचारी छैनन्। कार्यालय सहयोगीसमेत नहुँदा स्थानीय प्रहरीले कार्यालय खोलेर औपचारिकता पूरा गर्ने गरेको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोली छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षणको सिलसिलामा बंकुल पुग्दा कार्यालयको बोर्डसमेत भित्र राखिएको पाइएको छ। भन्सार कार्यालय खोल्ने ड्युटीमा रहेका एकजना सुरक्षाकर्मीले हरेक दिन कार्यालय खुल्ने तर कर्मचारी अभावमा कुनै पनि काम नहुने गरेको जानकारी दिए।
बंकुलमा मात्र होइन, नेपाल–भारत सीमा जोडिएको र छोटी भन्सार कार्यालय रहेको औरैया, लक्ष्मीपुर बेलबिछवाको समेत अवस्था उस्तै भेटियो। प्रजिअसित नेपाल प्रहरीका रौतहट प्रमुख एसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरी बलका प्रमुख एसपी कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख एसपी अभिनय सिंहसहितको टोलीले ३२ किलोमिटर खुला सिमानाको अनुगमन गर्दै जाँदा भन्सार कार्यालय कमचारीविहीन फेला परेको हो।

छोटी भन्सार कार्यालयहरुले बढीमा पाँच हजार रुपैयाँसम्मको भन्सार काट्ने गरेका छन्। दुवैतिरका स्थानीयबासीलाई घरायसी प्रयोजनका सामान ल्याउन भन्सार सञ्चालनमा हुँदा सजिलो थियो। तर, कर्मचारी सरुवा भएर अन्यत्र गएपछि निकै समस्या भएको उनीहरुको भनाइ छ।

सानोतिनो सामान किनेर ल्याउन पनि सर्वसाधारणलाई गौर भन्सार कार्यालय पुग्नुपर्ने बाध्यता छ। गौर भन्सारमा पनि दरबन्दी अनुसार कर्मचारी नहुँदा निकै समस्या भइरहेको भन्सार अधिकृत आशुतोष राईले बताए। कार्यालयमा सातजना नासुको दरबन्दी भएपनि तीनजना मात्र आउने गरेकाले काम गर्न समस्या भएको अधिकृत राईको भनाइ छ।
कर्मचारी अभावमा भन्सार कार्यालयमा वर्षौंदेखि थन्किएर रहेका सयौं सवारीसाधन लिलामी प्रक्रिया थाल्न नसकेको राईले बताए। मन्त्रालयले भन्सार कार्यालयमा दरबन्दी अनुसारको कर्मचारी पठाउनुको साटो काजमा तानेकोले समस्या भएको उनको गुनासो छ।

भन्सार कार्यालयका नासुमध्ये एकजना हरिहर काफ्ले अर्थमन्त्रीको सचिवालयमा र अर्का दशरथ फुँयाल काठमाडौं विमानस्थलमा छन्। दुईवटा पद रिक्त छन्। कर्मचारी अभावमा छोटी भन्सार कार्यालय सञ्चालन हुन नसकेको र आफूले सम्बन्धित निकायमा पहल गरिरहेको अधिकृत राईले बताए।

भन्सार कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधारणलाई समस्या भएको स्वीकार गर्दै प्रजिअ थापाले भन्सारको समस्या सम्बन्धित निकायमा लेखेरै पठाउने प्रतिबद्धता जनाए। कार्यालय नजाने कर्मचारीलाई कानुनी कारबाही गर्ने थापाले बताए। प्रजिअ थापाले भन्सार कार्यालयमा कर्मचारी अभावमा नियमित जाँचपास गर्न पनि समस्या भएको देखिएको बताए।

प्रकाशित: १० वैशाख २०७६ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App