१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारको नीति कार्यक्रम २० गते

काठमाडौं - सरकारले प्रि–बजेट छलफलअगाडि नै सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। वैशाख २० गते राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको स्रोतले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जान लागेका कारण प्रि–बजेटमाथिको छलफल पछि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन लागिएको स्रोतले बताएको छ।

नीति तथा कार्यक्रम पारित गरेर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने तयारी रहेको स्रोतले बतायो। राष्ट्रपति भण्डारी यही वैशाख ११ गते चीन भ्रमणमा जाने र वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। सरकारी स्रोतले भन्यो, ‘अहिलेसम्म २० गते नै नीति तथा कार्यक्रम ल्याउने तयारी छ, कुनै विशेष कारणले समय हेरफेर गर्नुपर्ने भए समय फेरिनेछ।’ नीति कार्यक्रम पारित भएपछि प्रि–बजेट माथि छलफल गरिने स्रोतले बतायो। २०७५ सालमा प्रि–बजेटमाथिको छलफल वैशाख २८ गतेबाट सुरु भएको थियो भने नीति तथा कार्यक्रम २०७५ जेठ ७ गते प्रस्तुत भएको थियो।

नीति तथा कार्यक्रमको प्रक्रिया
संविधानको धारा ९५ (१) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन्। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि दोस्रो बैठकमा प्रधानमन्त्रीले एक प्रति टेबुल गर्नुपर्नेछ। राष्ट्रपतिले सम्बोधन गरेपछि प्रतिनिधिसभाको र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठकमा प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रमको एक प्रति टेबुल गरिनेछ। राष्ट्रपतिबाट गरिएको सम्बोधनका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न कुनै सदस्यले प्रस्ताव पेस गर्ने र त्यस्तो प्रस्तावमा अर्को सदस्यले समर्थन गर्नुपर्ने व्यवस्था छ। धन्यवाद प्रस्तावका प्रस्तावक र समर्थकले बोलिसकेपछि प्रतिनिधिसभामा सभामुखले र राष्ट्रियसभामा अध्यक्षले उक्त प्रस्तावउपर थप छलफल नगराई निर्णयार्थ प्रस्तुत गर्ने व्यवस्था छ।

नीति तथा कार्यक्रम बहुमतले पारित नभए सरकारलाई नैतिक संकट उत्पन्न हुने भएकाले नीति तथा कार्यक्रम पारित हुने समयसम्मका बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि बोलाउने गरिन्छ। राष्ट्रपतिबाट भएको सम्बोधनमा उल्लिखित नेपाल सरकारको नीति तथा कार्यक्रममा सभामुखले उपयुक्त ठह¥याएको रूपमा संशोधन पेस गर्न सकिने व्यवस्था पनि छ। नीति कार्यक्रममा प्रधानमन्त्रीले वा उनले तोकेको मन्त्रीले जवाफ दिएपछि छलफल समाप्त भएको मानिनेछ र पेस भएका संशोधनमाथि निर्णय भएपछि सभामुखले नीति तथा कार्यक्रमलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछ। नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि पारित गरेको धन्यवादको प्रस्ताव सभामुख र अध्यक्षले राष्ट्रपतिसमक्ष पेस गर्नुपर्नेछ। नीति तथा कार्यक्रमको छलफल सकिएपछि प्रि–बजेट माथि छलफल हुनेछ। प्रि–बजेटमाथि तीन दिन छलफल भएपछि बजेट आउनुपूर्व जेठ १५ गतेअगावै छलफल सकिनुपर्दछ। सरकारले प्रत्येक वर्षको जेठ १५ गते वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बर्खे अधिवेशनको पहिलो बैठक वैशाख १६ गते बस्दै छ।

प्रकाशित: १० वैशाख २०७६ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App