१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विगतको 'अफयर्स'ले लियो ज्यान, खुकुरी हानेर निर्मम हत्या

जनकपुर- धनुषाको उत्तरवर्ती क्षेत्रमा पर्ने क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित लालभित्तीका एक युवकलाई छिमेकीले खुकुरी प्रहारगरी निर्मम हत्या गरेको छ। पूर्व-पश्चिम राजमार्गदेखि एक किलोमिटर उत्तर औरही खोलाकिनारमा रहेको बस्तीमा बुधबार साँझ करिब साढे ८ बजे २० वर्षीय राजु महतोलाई उनकै छिमेकी बाबु-छोराले मिलेर हत्या गरेको इलाका प्रहरी कार्यालय, ढल्केवरले जनाएको छ। राजुको हत्यमा संलग्न नथुनी महतोलाई घटनास्थलबाटै प्रहरीले पक्रेको छ भने उनका छोरा वीरेन्द्र फरार भएका छन्।

राजुलाई घर नजिकै रामसजन महतोको घरमा डेरागरी बस्ने कान्छा थारु भन्ने रमेश चौधरीको भान्छा कोठामा हत्या गरिएको हो। मृतककी दिदी पुनमका अनुसार बुधबार साँझ कान्छाले फोनगरी राजुलाई घरमा खाजा खान बोलाएका थिए। 'कोठामा मासु पकाएको छु चाँडै आइज' कान्छाले फोनगरी राजुलाई बोलाएकोबारे बताउँदै पुनमले बिहीबार घटनास्थलमा पुगेका संवाददातासँग भनिन्, 'पहिलेदेखि के कस्तो योजना बनेको रहेछ, शंका गर्ने ठाउँ नै थिएन। भाइ त्यहाँ (कान्छाको कोठा) पुग्ने बित्तिकै बाहिर ढुकेर बसिरहेका नथुनी बाबु-छोराले आक्रमण गरिहालेछन्।'

राजुको घाँटी झण्डै छिनाउनेगरी खुकुरी प्रहार भएलगत्तै कान्छाले 'चोर..चोर...' भन्दै गुहार लगाएपछि राजुका परिवारसहित छिमेकीहरु घटनास्थल पुगेका थिए। 'घाँटीको अगाडिपट्टिको केहीमात्रै भाग जोडिएको बाहेक टाउको शरीरबाट करिब अलग भइसकेको थियो। टाउको, हात र पाखुरामा कयौ पटक खुकुरीले आक्रमण भएको रहेछ। कोठामा भर्खरै पकाइएको मासु र भाँडावर्तन रगतको आहालमा लतपतिएको थियो। राजुको हुट्हुटी चलि नै रहेको थियो। म पुगेपछि अंगालोमा राखेर एकदुई घुट्को पानी पनि खुवाएको छु। शरीरमा भएको जति सबै रगत भुइँमा पोखिएर होला, उसको प्राण केही मिनेटमै उड्यो' दिदी पुनमले सुनाइन्।

छिमेकीहरु पुग्दा नथुनीका छोरा वीरेन्द्रले रगतले राताम्य भएको खुकुरी लिएरै भागेको स्थानीय प्रत्यक्षदर्शीले बताए। केहीले कान्छालाई पनि समातेर भित्र थुन्ने प्रयास गरे। तर, ऊ भाग्दैन भनेर त्यही मध्येबाटै भन्न थालिएपछि उनलाई छाडेर नथुनीको घर घेरियो। केहीबेरपछि घटनास्थलमा प्रहरी पनि पुग्यो। प्रहरीको सहयोगमा स्थानीयले आफ्नै घरको छानामुनि लहरोमा लुकेर सुतिरहेको अवस्थामा नथुनी पक्राउ पर्‍यो।

यता, नथुनीका छोरा वीरेन्द्र र कान्छा दम्पत्ति फरार भएको इलाका प्रहरी कार्यालय, ढल्केवरका इन्चार्ज इन्स्पेक्टर सागरविक्रम राणाले जनाए। विराटनगरतिर घर भएका कान्छा भन्ने रमेश चौधरी करिब दुई वर्षदेखि सोही टोलमा डेरागरी पत्नीसँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए। उनको राजु र वीरेन्द्र दुवैसँग राम्रो हिमचिम रहेको थियो। बुधबारपनि वीरेन्द्र बाबु-छोराकै योजना अनुरुप कान्छाले घटनाको लागि वातावरण अनुकूल बनाइदिन राजुलाई बोलाइदिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको राणाको भनाई छ।

घटनाको रहस्य

स्थानीय जनकप्रसाद शर्माका अनुसार नथुनीकी छोरीसँग पहिलेदेखि राजुको अनैतिक सम्बन्ध रहेको टोलमा चर्चा छ। सोहीबीच गत माघ महिनामा नथुनीले छोरीलाई लक्ष्मीनिवासमा बिहे गरी पठाए। नथुनीले छोरी अन्माएको केही महिनापछि राजुले एक दुईजना साथी लिएर उनको ससुराली पुगेछन्। गाउँले बहिनीको साइनो जोडेर केहीबेरसम्म उनकै घरमा बसी कुराकानी पनि गरे। त्यसको एकदुई दिनपछि बुहारी भागेपछि ससुराका परिवारले राजुलाई आरोप लगाएर उनको गाउँमा समाजसँगै उजुरी गरे।

त्यसपछि ससुरा पक्षले अनैतिक स्वभाव भएको भन्दै बुहारीलाई राख्न अस्वीकार गरेपछि गाउँ, समाजका अगुवाले नथुनीकी छोरीलाई राजुकै परिवारले राख्नुपर्ने दबाब दिए। तर, उनीहरुले मानेन्। राजु घर छाडेर भागिदिए। छोरी माइती (नथुनीकै घरमा) बस्न थालिन्।

गत वैशाखमा राजुकी काकाकी छोरीको बिहेमा आएको जन्तीमध्येका एकजनासँग फेरि तिनी भागेपछि राजु घर फर्केका थिए। त्यसयता, समान्य अवस्थामा सबैको घरव्यवहार चलिरहेको थियो। बुधबार अचानक भएको निर्मम घटना त्यही काण्डसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले आशंका गरेको छ। 'छोरीलाई गलत बाटोमा डोर्‍याएर परिवारको इज्जत बदनाम गरेको बदला लिन यस्तो अपराधमा बाबुछोरा लागेको हुनसक्छ,' राणाले स्थानीयको प्रतिक्रिया र घटनास्थलको निरीक्षणपछि नागरिकन्युजसँग भने।

यद्यपि, घटनाको विस्तृत अनुसन्धान जारी रहेको बताउँदै जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी मनोज यादवले घटनामा संलग्न कान्छा र वीरेन्द्रको खोजीमा विशेष केन्द्रीत भएको बताए। 'जेसुकै कारणले भए पनि हत्याजस्तो जघन्य अपराधमा संलग्न सबैलाई कानुनको घेरामा ल्याउँछौं,' यादवले भने।

प्रकाशित: ४ कार्तिक २०७३ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App