२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस रेलिङ्ग भाँच्ने र कुर्सी तोड्ने प्रतिपक्षी हाेइन : उपसभापति निधि

पत्रकार सम्मेलनमा उपसभापति निधी सहित कांग्रेस नेताहरु। तस्बिरः टंक/नागरिक

सर्लाही– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्रहरु प्रस्तुत गर्दै गएपनि आफूहरु अराजक एवं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताएका छन्।

सोमबार नेपाल प्रेस युनियन सर्लाहीले बरहथवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले कांग्रेस अत्यन्त लोकतान्त्रिक पार्टी भएकाले सोही अनुसार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका हुन्। ‘वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक निर्णय अनि व्यवहार गरिरहेको छ’, उपसभापति निधिले भने, ‘तर हामी उहाँहरुले विगतमा गरेजस्तै सडकको रेलिङ्ग भाँच्ने, संसदको कुसी भाँच्ने जस्ता अराजक र उदण्ड ढंगले विरोध प्रदर्शन गर्ने अलोकतान्त्रिक प्रतिपक्ष बन्दैनौ।’ कांग्रेसको संयमतालाई कमजोरी सोचे सरकारले गम्भीर परिणाम भोग्नु पर्ने निधिले चेतावनी समेत दिए। 

वर्तमान ओली सरकारले १४ महिनामा कुनै राम्रो काम गर्न नसकेको बरु संघीयता विफल पार्ने बाटोमा भिडेर लागेको पूर्व उपप्रधान एवं गृहमन्त्री निधिले आरोप लगाए। ‘चारैतिर भ्रष्ट्राचार मौलाएको छ, संघीयता सफल पार्ने भन्दा पनि विफलताको बाटोमा अगाडी बढिरहेको छ’, उनले भने, ‘अधिकारहरु क्रमशः प्रधानमन्त्रीमै केन्द्रित गर्दै संघीयताको मर्ममाथि प्रहार गर्ने अनि प्रदेश सरकार र स्थानीय सरकारलाई वेवास्ता गरिरहेको छ।’

छुट्टै प्रसंगमा कांग्रेस उपसभापति निधिले पार्टी एक रहेको दाबी गरे। ‘नेताले लादेको कुरा अन्तिम हुन्छ भन्ने कम्युनिष्ट विचारधारको जस्तो हाम्रो पार्टी हैन, त्यसैले पार्टी भित्र वैचारिक लडाईं हुन्छ’, उनले भने, ‘पार्टी भित्र वैचारिक लडाईं भएपनि एक ढिक्का छ।’

मुलुकको नयाँ संविधान अनुसार पार्टीको विधान बनाउने कांग्रेस मात्र भएको निधिले दाबी गरे। ‘नयाँ संविधानलाई अंगिकार गर्दै कांग्रेसले पार्टीको नयाँ विधान लागू गरेको छ’ उनले भने, ‘सत्ताधारी दल अनि राजपा लगायत अन्य कुनै पार्टीले संविधान अनुकुल विधान लागू गर्न सकेका छैनन्।’

प्रकाशित: ९ वैशाख २०७६ १०:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App