१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

उपत्यकामा गुड्ने आधाभन्दा धेरै सवारी प्रदूषण जाँचमा फेल

काठमाडौं उपत्यकामा गुड्ने आधा चार पांग्रे सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन्। महानगरीय ट्राफिक महाशाखाले प्रदूषण जाँच गरेका चार पांग्रे सवारीमध्ये झण्डै ५० प्रतिशत प्रदूषण जाँचमा फेल हुने तथ्यांक फेला परेको छ।

महानगरीय ट्राफिक महाशाखाले गत चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म गरेको सवारी प्रदूषण जाँचको क्रममा आधाभन्दा धेरै सवारीसाधन प्रदूषण जाँचमा फेल भएको भेटिएको छ। महाशाखाका प्रवक्ता जयराम सापकोटाका अनुसार १५ दिनमा ९ सय ७५ वटा सवारीसाधनको प्रदूषण जाँच गरिएको थियो, जसमा ४ सय ८१ सवारीसाधन प्रदूषण जाँचमा फेल भएका थिए। जबकी ४ सय ९४ मात्रै सवारीसाधन प्रदूषण जाँचमा पास भएका थिए। ‘५० प्रतिशतभन्दा धेरै सवारीसाधन प्रदूषण जाँचमा फेल भएका छन्। यो तथ्यांकले  वातावरण प्रदूषणको गम्भीर अवस्था देखाउँछ,’ उनले भने, ‘ट्राफिक प्रहरीले प्रदूषण जाँचमा फेल हुने सवारीसाधनलाई कारवाही गरेर आवश्यक मर्मतसम्भारको लागि पठाउने गर्छ।’

उनका अनुसार उपत्यकामा चल्ने सवारीसाधनले अत्यधिक मात्रामा वायुप्रदूषण गरेकाले सवारी प्रदूषण जाँच गरिएको हो। महाशाखाले गत चैत २१ गतेदेखि उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणको लागि तयार पारिएको कार्ययोजना अनुसार दैनिक ५० देखि ६० सवारीसाधनको प्रदूषण जाँच गरिरहेको छ।

यातायात व्यवस्था विभागले प्रदूषण जाँचमा फेल भएका सवारी साधनले अत्याधिक मात्रामा वातावरण प्रदूषण गरेको भन्दै मर्मतसम्भार नगरेसम्म सवारी दर्ता अनुमतिपत्र अर्थात् (ब्लु बुक) राख्ने गर्छ।

विभागको सवारी परीक्षण कार्यालय टेकुका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले कमसल खालको इन्धन प्रयोग, नियमित सवारी मर्मतसम्भार नगर्नु र जभाभावी ढंगले सवारीसाधन चलाउने गरेकाले सवारी साधन प्रदूषण जाँचमा फेल हुने गरेको बताउँछन्। ‘हाम्रोमा सवारीको नियमित मर्मतसम्भार नै हुँदैन,’ उनले भने, ‘जब सवारी बिग्रिन्छ तब मात्रै सवारी मर्मतसम्भार गरिन्छ, यसले नै समस्या उब्जाएको हो।’ उनका अनुसार सवारी नियमित मर्मतसम्भार गरेमा धेरै हदसम्म सवारी प्रदूषणमा फेल हुँदैनन्।

प्रमुख पौडेलले प्रदूषण फेल भएका सवारी साधनले वातावरणमा प्रतिकूल असर पारेकाले नियन्त्रण गर्न लागेको बताउँछन्। ‘अब सडकमा प्रदूषण फेल भएका चार पांग्रे सवारी साधन निकाल्न पाइँदैन,’ उनले भने, ‘कसैले मनोमानी गरेर निकालेमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गर्नेछन्।’

सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६० को ३ अन्तर्गत सवारी जाँच नगरेका सवारी साधनलाई दुई सयदेखि एक हजार रूपैयाँसम्म जरिवाना गराउने सकिने प्रावधान छ।

उनका अनुसार प्रदूषण फेल भएका सवारी साधन मर्मतसम्भार गरेर पुनः प्रदूषण जाँचमा पास भएमा फेरि सञ्चालन गर्न सकिनेछ। 

प्रमुख पौडेलले सवारी साधनको प्रदूषण जाँच गर्दा फेल हुने सवारी साधनलाई कारबाही गर्ने बलियो संयन्त्र नभएको स्वीकार्छन्। ‘प्रदूषण जाँचमा फेल हुने सवारीलाई कारबाही गर्ने बलियो संयन्त्र छैन, त्यसैले ऐन संसोधन गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘फेल हुने सवारी साधनलाई एक हजार रूपैयाँ जरिवाना लिएर मर्मतसम्भार गर्न निर्देशन दिँदै आएका छौं।’ पेट्रोलबाट चल्ने सवारी साधनको लागि ग्यास एनालाइजर मेसिन र डिजेलबाट चल्ने सवारीसाधनको प्रदूषण जाँच गर्नको लागि डिजेल स्मोक मेसिन खरिद गरेको जनाएको छ।

त्यसअलावा विभागसँग एकान्तकुना, सल्लाघारी, ठूलो भ-याङ र टेकुमा गरेर करिव १० थान प्रदूषण जाँच गर्ने मेसिन छन्। सवारी साधनको प्रदूषण जाँच गर्न ३५ रूपैयाँ लाग्ने विभागले जनाएको छ। काठमाडौं उपत्यकाबाहिर रहेका १३ वटै यातायात व्यवस्था कार्यालयबाट सवारी साधनको प्रदूषण जाँचको व्यवस्था गरिएको छ।

 

प्रकाशित: ९ वैशाख २०७६ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App